१२ आश्विन २०७७ सोमबार
खेल

चितवनलाई भदौरे गणेश कपको उपाधि

बागमती प्रदेश स्तरीय प्रथम भदौरे गणेश कपको उपाधि साथ विजेता चितवन जिल्लाका खेलाडी । तस्बिर:ध्रुव/नागरिक

सिन्धुपाल्चोक- चितवन जिल्लाले सिन्धुपाल्चोकको भलिबल खेल इतिहासमा सर्वाधिक धनराशी पुरस्कारको बागमती प्रदेश स्तरीय प्रथम भदौरे गणेश कपको उपाधिको जितेको छ। चौतारा सँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा बुधबार भएको प्रतिस्पर्धात्मक फाइनलमा रामेछाप जिल्लालाई ३–० को सोझो सेटमा स्तब्ध बनाउँदै चितवनले उपाधि हात पारेको हो। उपाधि रक्षा गर्ने क्रममा चितवनले रामेछापलाई २५–२०, २५–२३ र २६–२४ ले पराजित गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेको रामेछाप तीनवटै सेटको अन्तिम समयमा सम्हालिन नसक्दा उपबिजेतामा चित्त बुझाउन बाध्य भयो।

बिजेता चितवनले ट्रफी उपाधिसाथ दुई लाख दुई हजार २० रुपैयाँमा नगद पुरस्कार हात पार्‍यो। उपबिजेता रामेछापले एक लाख एक हजार १० रुपैयाँ नगद पुरस्कार पायो। प्रतियोगिताको व्यक्तिगत बिधातर्फ चितवनले नै बर्चस्व जमायो। चितवनका दुर्गाबहादुर मगर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदा रामबहादुर थापामगर उत्कृष्ट सटर, दीपक थापा उत्कृष्ट सर्भर, ओमबहादुर कार्की उत्कृष्ट ब्लकर, चिन्तामणि चौधरी उत्कृष्ट लिब्रो र रमेशचन्द बिक उत्कृष्ट प्रशिक्षक घोषित भए। रामेछापका सुजन खड्काले उत्कृष्ट स्पाइकरको उपाधि जिते।

उत्कृष्ट घोषित खेलाडीले ट्रफी र नगद तीन हजार रुपैयाँका दरले पुरस्कार पाए। बिजेता टोली र खेलाडीहरुलाई बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरे। प्रदेशको खेलकुदको विकासका लागि आफ्नो मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि सारेको उनले बताए। मुलुक संघीय ढाँचामा गएपछि बागमती प्रदेशले सबैभन्दा पहिला प्रदेश खेलकुद परिषद् गठन गरेको उल्लेख गर्दै मन्त्री दुलालले भने, ‘नेपालको खेलकुद क्षेत्र स्वर्णयुगमा प्रवेश गरेको छ।’

भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने हेतुले भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लवको सहआयोजनामा साता चलेको प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले सहभागिता जनाएका थिए। आयोजक भदौरे गणेशका अध्यक्ष रविन गौतमले बर्सेनी प्रतियोगिता आयोजना गर्दै जाने बताए। ‘खेलकुद क्षेत्रको विकास गर्न सरकारको मुख ताकेर मात्र हुँदैन। स्थानीय स्तरबाट पनि योगदान हुनुपर्छ,’ उनले भने।
 

 

प्रकाशित: १ माघ २०७६ १९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App