coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बराबरीले आर्मीको अवसर गुम्यो

त्रिभुवन आर्मिको प्रहार बचाउदै संकटाको गोलकिपर बिनय श्रेष्ठ (कालो)

काठमाडौं – संकटा क्लबसँग बराबरी रोकिएपछि त्रिभुवन आर्मी क्लबले मंगलबार कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको एक मात्र खेलमा १० खेलाडीमा सीमित आर्मी संकटासँग १–१ गोलको बराबरीमा रोकिएको थियो। लिग चरणका ६ खेल सकिँदा शीर्ष स्थानको मच्छिन्द्र र आर्मीको समान १३ अंक नै छ। तर, गोलअन्तरमा पछि पर्दै आर्मी दोस्रो स्थानमा छ। यता, संकटाले खेलमा पछि परेको स्थितिबाट गोल फर्काउँदै बलियो टोली आर्मीसँग एक अंक खोस्न सफल भयो।

संकटा पनि ६ खेल सकिँदा ८ अंकसहित आठौं स्थानमा उक्लिएको छ। आर्मीले सुरुआतदेखि संकटाविरुद्ध दबाब सिर्जना ग-यो। ५७ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राखेको आर्मीले ११ पटक उत्कृष्ट गोल अवसर सिर्जना गरे पनि सफलता पाउन सकेन। यता, संकटाले पनि रक्षात्मक रणनीतिका साथ आर्मीको आक्रामक खेललाई रोक्ने प्रयास गरेको थियो। संकटाले पनि पाँच पटक उत्कृष्ट अवसर बनाएको थियो।

नवयुग श्रेष्ठको गोलबाट आर्मीले अग्रता लिए पनि दोस्रो हाफमा संकटा खेलमा फर्किएको थियो। ५३औं मिनेटमा युद्ध शाही दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि आर्मी १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै संकटा लगत्तै खेलमा फर्कियो। आर्मीका सुमन अर्यालले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि संकटाले पेनाल्टी अवसर पाएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै संकटाका डिफेन्डर अमित तामाङले आफ्नो टोलीलाई खेलमा फर्काए।

त्यसअघि खेलको पहिलो हाफमा दुवै तर्पmबाट कम आक्रमण भए पनि दोस्रो हाफमा भने खेलले रोमाञ्चकता दिएको थियो। खेलको दोस्रो मिनेटमै आर्मीका टेकबहादुर बुढाथोकीले गोलअवसर गुमाए। करिब १० यार्डबाट टेकबहादुरले गरेको प्रहार दोस्रो बार हुँदै बाहिरिएपछि आर्मीले सुरुआतमै अग्रता लिने अवसर गुमायो। २८औं मिनेटमा भने आर्मीले अवसर चुकाएन।

करिब २० यार्ड टाढाबाट दिनेश हेम्जनले दिएको पासमा नवयुगले सुन्दर हेड गर्दै आर्मीलाई अग्रता दिलाए। ३७औं मिनेटमा संकटाले पहिलो अवसर बनाएको थियो। सुवास गुरुङको पासमा संकटाका इर्नेस्ट टम्पीले गरेका हेड बललाई आर्मीका सन्तोष तामाङले गोललाइनबाट क्लियर गर्दै आफ्नो टोलीको अग्रता जोगाए। त्यसको तीन मिनेटपछि आर्मीको उत्कष्ट आक्रमणलाई संकटाका गोलकिपर विनय श्रेष्ठले विफल पारे।

आर्मीका टेकबहादुर बुढाथोकीले गरेको सशक्त प्रहारलाई विनयले पन्च गर्दै बाहिर पठाइदिएका थिए। ४३औं मिनेटमा संकटाले दोस्रो अवसर सिर्जना गरेको थियो। संकटाको काउन्टर मुभ आर्मीका विकेश कुथुले विफल बनाए। ४५औं मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीको कडा प्रहार संकटाका गोलकिपर श्रेष्ठ पुनः विफल बनाए। त्यससँगै पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो।

यद्यपि, दोस्रो हाफमा भने दुवै तर्पmबाट उत्कृष्ट अवसर बन्यो। संकटा पेनाल्टीबाट खेलमा फर्किंदा आर्मी असफल भयो। ५२औं मिनेटमा युद्ध शाही दोहोरो पहेंलो कार्डसहित बाहिरिँदा आर्मी १० खेलाडीमा समेटियो। जसको फाइदा लिँदै संकटा दुई मिनेट नबित्दै खेलमा फर्कियो। आर्मीका सुमन अर्यालले आफ्नो पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि संकटाले पेनाल्टी अवसर पायो। ५५औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए।

६२औं मिनेटमा जर्जप्रिन्सको उत्कृष्ट क्रस बल पेनाल्टी क्षेत्रमा रहेका नवयुगले भेटाउन सकेनन्। ७६औं मिनेटमा आर्मीले करिब २० यार्डनजिबाट पाएको फ्रिकिक अवसर सदुपयोग गर्न सकेन। जर्जप्रिन्सको प्रहार संकटाको मानव पर्खाल पार हुन असफल रह्यो। ८०औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरे लगत्तै भरत खवास घाइते हुन पुगे। संकटाका लक्ष्मण रुचालको फ्रिकिक बल भरतको मुखमा लागेपछि केही समय खेल रोकियो।

एक खेलाडी कम भए पनि खेलको अन्तिम समयतिर आर्मीले लगातार आक्रमण बुन्दै संकटालाई दबाबमा दिए पनि थप गोल गर्न सकेन। तर, आर्मीको आक्रमणमा संकटाका रक्षापंक्तिसँगै गोलकिपर सजग हुँदा खेल बराबरीमा टुङ्गियो। आर्मीका जर्जप्रिन्स कार्की म्यान अफ दी म्याच भए। बराबरीपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले रेफ्रीको कारण जित सम्भव भएको बताए।

‘हाम्रो प्रदर्शन राम्रो र आक्रामक थियो,’ प्रशिक्षक नवीनले भने, ‘तर रेफ्रीले एकतर्फी निर्णय दिँदा हामी दबाबमा प-यौं। यो स्तरको ठूलो खेलमा परिपक्व रेफ्रीहरू राख्नुपर्छ। १० खेलाडीमा हुँदा पनि खेलाडीले बराबरीको नतिजा दिलाए।’ संकटाका प्रशिक्षक विजय महर्जनले जित्ने लक्ष्यसहित मैदान उत्रिए पनि एक अंकबाट खुसी नै रहेको बताए। ‘हाम्रो लक्ष्य जित्ने थियो। तर, बराबरी भयो,’ प्रशिक्षक विजयले भने,‘एक गोलले पछि परे पनि बराबरीमा पुग्यौं। तर, तयारी अनुरूप खेल भने हुन सकेन। खेलाडी केही नर्भस पनि भए।’

करिब २० यार्ड टाढाबाट दिनेश हेम्जनले दिएको पासमा नवयुगले सुन्दर हेड गर्दै आर्मीलाई अग्रता दिलाए।

प्रकाशित: १ माघ २०७६ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App