coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध


काठमाडौं - लयमा फर्किएको फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत लगातार तेस्रो खेलमा पनि आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा आइतबार बलियो टोली थ्री स्टारलाई स्तब्ध बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको पहिलो खेल खेल्दा फ्रेन्ड्सले थ्री स्टारलाई १–० ले स्तब्ध बनाएको हो। ब्राजिलियन खेलाडी र प्रशिक्षकसहितको फ्रेन्ड्सले लिगको पहिलो तीन खेल गुमाउँदै निकै खराब सुरुआत गरे पनि पछिल्ला खेलमा लयमा फर्किएको संकेत देखाएको छ।  चौथो चरणमा लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दीलाई १–१ ले रोक्दै लिगमा खाता खोलेको फ्रेन्ड्सले पाँचौं खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको थियो। उपाधि दाबेदारको रूपमा हेरिएको थ्री स्टारलाई छैटौं खेलमा साँघुरो अन्तरले स्तब्ध बनाउँदै फ्रेन्ड्सले लिगमा पहिलो जित रच्न सफल भयो।

बलियो टोलीमाथि जित निकाल्दै फ्रेन्ड्सले हरेक टोलीका लागि चुनौतीपूर्ण प्रतिस्पर्धी हुने संकेत देखाएको त्रिभुवन आर्मीसँग २–१ ले स्तब्ध हुँदै लिगको सुरुआत गरेको फ्रेन्ड्सले त्यसपछि ब्रिगेड ब्वाइजसँग २–० ले र मच्छिन्द्रसँग ३–० ले नतिजा गुमाएको थियो। खराब नतिजाका बावजुद ब्राजिलियन प्रशिक्षक मार्कस डान्टसले आफ्नो टोलीमा प्रत्येक खेलपछि सुधार हुने र नतिजामा पनि सुधार ल्याउने दाबीलाई केही हदसम्म सत्य बनाउने प्रयास गरेका छन्। यता, बलियो टोली थ्री स्टार भने फ्रेन्ड्ससँगको हारबाट झस्किएको छ। अप्रत्याशित हारसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ। लिगमा दोस्रो हार बेहोरेको थ्री स्टार आर्मीसँग पनि पराजित भएको थियो।

कुल ६ खेल सकिँदा तीन खेल मात्र जितेको थ्री स्टार लिगको पहिलो खेलमै जावलाखेलसँग बराबरीको नतिजा सामना गर्न बाध्य भएको थियो। फ्रेन्ड्ससँगको हारपछि थ्री स्टारलाई उपाधि होडसमेत कठिन हुने भएको छ। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले  फ्रेन्ड्ससँगको हारबाट उपाधि होड केही कठिन हुने बताए। ‘उपाधिबाट बाहिरिएजस्तो भएको छ। तर आजको हारले हरेस भने खादैनौं,’ थ्री स्टारका प्रशिक्षक केसीले भने,‘बाँकी खेल जित्नका लागि खेल्नेछौं।’ यता, थ्री स्टारले ६३ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राखे पनि आक्रमणमा भने फ्रेन्ड्स हाबी भयो। फ्रेन्ड्सले सात पटक पोस्ट आक्रमण बुन्दा थ्री स्टारले भने ४ पटक राम्रा अवसर सिर्जना ग-यो।

यद्यपि, फ्रेन्ड्सले एक अवसर सदुपयोग गर्दा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गरेको गोल नै निर्णायक बन्यो। खेलको आठौं मिनेटमा ब्राजिलियन खेलाडी फिलिप डी सौजाले उत्कृष्ट आक्रमण बुन्दै थ्री स्टारलाई सचेत गराएका थिए। १३औं मिनेटमा कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए। पहिलो हाफमा दुवै तर्फबाट गोलको प्रयास भए पनि सफल हुन सकेन। दोस्रो हाफको अन्तिम समय थ्री स्टार निकै आक्रामक बन्दै गोल अवसर बनाउन सफल भए पनि फ्रेन्ड्सका गोलकिपर देव लिम्बु र रक्षापंक्तिले सफल हुन दिएनन्। कुल ६ खेलबाट १० अंक बटुलेको थ्री स्टार लिगको चौथो स्थानमै छ। समान खेलबाट ५ अंकसहित फ्रेन्ड्स लिगको ११औं स्थानमा उक्लिएको छ। हारपछि थ्री स्टारका प्रशिक्षक केसीले गोल गर्ने अवसर गुमाउँदा पराजित भएको बताए।

‘हामी स्कोर गर्नमै चुक्यौं। खेल पनि त्यति उत्कृष्ट हुन सकेन। पाएका मौका सदुपयोग नै भएनन्,’ प्रशिक्षक केसीले भने,’ आज उनीहरूको दिन रहेछ।’ लिगमा पहिलो जित निकालेपछि फ्रेन्ड्समा प्रशिक्षक मार्कस डान्टस खुसी देखिए। ‘धेरै राम्रो खेल जित्न सफल भयौं। थ्री स्टार बलियो टोली हो। उक्त टोलीसँग जित प्राप्त भयो,’ डान्टसले भने, ‘आगामी खेलमा थप सुधार गर्नेछौं।’

प्रकाशित: २८ पुस २०७६ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App