८ वैशाख २०८१ शनिबार
खेल

भिक्ट्री म्याराथनमा सेनाको वर्चस्व

फुल म्याराथनको उपाधि विजेता कान्छीमाया कोजु र हरिकुमार रिमाललाई पुरस्कार बितरण गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

बुटवल - राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार बुटवलमा भएको म्याराथन प्रतियोगितामा नेपाली सेनाका खेलाडीले वर्चस्व जमाएका छन्। नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलको आयोजनामा भएको भिक्ट्री म्याराथन एन्ड युनिटी रन प्रतियोगिता अन्तर्गत फुल र हाफ म्याराथन तथा १० किलोमिटर दौडको उपाधि सेनाका खेलाडीले जिते।

 प्रतियोगिताको फुल म्याराथनतर्फ नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भए।फुल म्याराथनको ४२ किलोमिटर दूरी २ घण्टा ३१ मिनेट २ सेकेन्डमा पूरा गर्दे रिमाल प्रथम भएका हुन्। प्रतियोगितामा सेनाकै राजन रोकाय  द्वितीय भए।उनले २ घण्टा ३२ मिनेट २८ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।सेनाकै कल्याण बानियाँ २ घण्टा ३७ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए।

 महिलातर्फको फुल म्याराथनको उपाधि कान्छीमाया कोजुले जितिन्। उनले २ घण्टा ५६ मिनेट ५१ सकेन्डमा सो दूरी पार गरेकी  हुन्। नेपाली सेनाकी सरिता वासी द्वितीय भइन्। उनले ३ घण्टा १२ मिनेट ५७ सकेन्डमा दूरी पार गरेकी थिइन्। एपिएफकी कृष्णेश्वरी सिन्तकलाले तृतीय स्थान हासिल गरिन्। उनी ३ घण्टा ३२ मिनेट १६ सकेन्डमा  दूरी पार गर्दै तेस्रो भएकी हुन्।

प्रतियोगिताको हाफ म्याराथन पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भए। उनले १ घण्टा १२ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरे। द्वितीय भएका सेनाकै रामजी बस्नेतले  १ घण्टा १३ मिनेट ९ सकेन्डमा दूरी पूरा गरे। सेनाकै मिलन कार्कीले  १ घण्टा १४ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दे तेस्रो भए। हाफ म्याराथनको महिलातर्फ नेपाली सेनाकै विश्वरूपा बुढा प्रथम, सेनाकै पूर्णलक्ष्मी न्यौपाने दोस्रो र नेपाल प्रहरीकी रेखा विष्ट  तेस्रो भए।

१० किलोमिटरको युनिटी रनमा पुरुषतर्फ  सेनाका शिव रायमाझी  प्रथम भए । सेनाकै श्रीकास राई दोस्रो र सेनाकै गणेशसिंह ठकुरी तेस्रो भए । १० किलोमिटरमा महिलातर्फ नेपाली सेनाकी सानुमाया कार्की प्रथम, सेनाकै सीता सेन दोस्रो र सेनाकै सीता चौधरी  तेस्रो भए । विजयी धावकहरूलाई नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक सामारोह बीच पुरस्कार प्रदान गरे। फुल म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ नगदसहित प्रमाणपत्र, द्वितीयलाई ५० हजार नगदसहित प्रमाणपत्र र तृतीयलाई २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो।हाफ म्याराथनमा प्रथम हुनेले ५० हजार,द्वितीयले २४ हजार र तृतीयले १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र  प्राप्त गरे। 

१० किलोमिटर रनमा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार,तृतीयले ५ हजारनगद सहित प्रमाणपत्र प्राप्त गरे । नेपाल र नेपाली सेनाको इतिहास प्रवद्र्धन गर्न, नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मध्यपश्चिम पृतना बुटवलका पृतनापति सीताराम खडकाले बताए। म्याराथनमार्फत भिजिट नेपाल २०२० लाई सफल बनाउन र राष्ट्रिय एकताको सन्देश प्रवाह हुने पनि उनले बताए।

प्रतियोगिताको बुटवल बहुमुखी क्याम्पस अगाडिमा शनिबार बिहान एक कार्यक्रमबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। प्रतियोगितामा सहभागीको हौसला बढाउन ५ किलोमिटर युनिटी रनमा रक्षामन्त्री पोखरेलसँंगै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर  पोखरेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीसमेतले केहीबेर दौडेर सहभागिता जनाएका थिए।

 

 

 

 

प्रकाशित: २७ पुस २०७६ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App