coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हिमालयन र फ्रेन्ड्स अझै जित निकाल्न असफल

काठमाठौं -  हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं खेलमा पनि जित निकाल्न असफल भएका छन्।   लिगमा शीर्ष स्थानको मनाङ मर्स्या­­ङ्दीलाई बराबरीमा रोक्दै हौसिएको फ्रेन्ड्सले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार शेर्पाविरुद्ध भने आशातित प्रदर्शन गर्न सकेन।

दिनको एक मात्र खेलमा फ्रेन्ड्सले महत्वपूर्ण खेलाडीबिना मैदान उत्रिएको शेर्पाविरुद्ध गोलरहित बराबरीको नतिजा सामना ग-यो। यससँगै पाँचौं खेलमा पनि दुवै टोलीको जित निकाल्ने लक्ष्य पूरा हुन सकेन। पाँच खेलमा दुई हार र तीन बराबरीसहित शेर्पा तीन अंकका साथ १२औं स्थानमा छ। यता, ब्राजिलियन खेलाडी सम्मिलित फ्रेन्ड्स पनि पाँच खेलबाट दुई बराबरी र तीन हारसहित दुई अंकका साथ १३औं स्थानमा छ।

खेलेका चारै खेलमा पराजित सरस्वती भने लिगको पुछारमा छ। चोटका कारण पहिलो रोजाइका फरवार्ड विश्वास श्रेष्ठका साथै दुई डिफेन्डर नीरज बस्नेत र आशिष गुरुङबिनै उत्रिए पनि शेर्पाले केही अवसर चुकाउँदा पे्रन्ड्सविरुद्ध अंक बाँड्यो। नीरज रातो कार्ड र आशिष लगातार दोहोरो पहेंलो कार्डका कारण फ्रेन्ड्सविरुद्धको खेलमा उपस्थित थिएनन्।

आर्मीविरुद्धको खेलमा विश्वासले घुँडामा चोट बोकेका थिए। सोही कारण चिकित्सकको सल्लाहअनुरूप विश्वासको घुँडाको अपरेरसन गरिएकाले उनले लिगको बाँकी खेल पनि गुमाउने प्रशिक्षक सञ्जीव बुढाथोकीले बताए। यद्यपि, खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेका थिए। पहिलो हाफमा भने फ्रेन्ड्स पूर्णरूपमा हाबी भयो।

२०औं मिनेटमा शेर्पाका सुरज हमालले डी बक्सबाहिरबाट हानेको प्रहारले पोस्टको दिशा लिन सकेन। फ्रेन्ड्सले केही उत्कृष्ट गोलअवसर खेर फाल्यो। ४३औं मिनेटमा पे्रmन्ड्सका उत्तम राई डी बक्सभित्रबाट गोल गर्न चुके। मनाङविरुद्ध उत्कृष्ट गोल गरेका उनले शेर्पाका एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पोस्टमाथिबाट गएको थियो। पहिलो हाफमा शेर्पाले उत्कृष्ट अवसर बनाउन सकेन भने फ्रेन्ड्स अवसर सदुपयोग गर्न असफल भयो।

पहिलो हाफमा फ्रेन्ड्स हाबी भए पनि दोस्रो हाफमा भने हिमालयन शेर्पा लयमा फर्कियो। शेर्पाले खेलको ८३औं मिनेटमा निकै उत्कृष्ट खेर फालेपछि यस सिजनको लिगमा पहिलो जित निकाल्ने अवसर गुमायो। इजिप्टका खेलाडी मोहम्मद अब्दुल्लाहको क्रसमा त्रिदेव गुरुङ गोल गर्न चुके। त्यसअघि ६४औं मिनेटमा कमल थापामगरको स्थानमा अवसर पाएका अब्दुल्लाहले मैदान प्रवेश गरेपछि छाप छोड्न सफल भए।

उनको छिटो सट पासमा हिमालयनले फ्रेन्ड्सविरुद्ध आक्रमण बुने पनि सफलता पाउन सकेन। दोस्रो हाफमा तुलनात्मक रूपमा हाबी भएको हिमालयनले त्यसअघि ५१औं मिनेटमा पनि अवसर गुमायो। त्रिदेवको पासमा विनोद गुरुङको फ्लिक हेडर नियन्त्रण गरेका सुरुज हमालको नजिकै दूरीबाट प्रहार सीधै फ्रेन्ड्सका गोलकिपर देव लिम्बुको नियन्त्रणमा पुग्यो।

५९औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक प्रहार शेर्पाका गोलकिपर किशोर गिरीले पन्च गर्दै आफ्नो टोलीको संकट टारेका थिए। ६६औं मिनेटमा पेनाल्टी बक्समा अनमार्क फ्रेन्ड्सका सन्जोग महर्जन नजिकैबाट गोल गर्न चुके। उनको फितलो हेडर पोस्टमाथिबाट बाहिरियो। ७२औं मिनेटमा हिमालयनका रवि थापामगर फ्रेन्ड्सका गोलकिपर लिम्बुसँग वान भर्सेस वानमा चुकेका थिए।

त्यसको तीन मिनेटपछि नै हिमालयनका विजय श्रेष्ठको प्रहारलाई लिम्बुले सहजै विफल तुल्याए। ९३औं मिनेटमा पनि विशोन गुरुङले हिमालयनको अन्तिम अवसर गुमाएसँगै खेल बराबरीमा टुङ्गियो। खेलमा शेर्पाका उलरिच म्यान अफ दी म्याच चुनिए। फ्रेन्ड्सका ब्राजिलियन प्रशिक्षक मार्कुस डान्टनले नतिजाको हिसाबले एक अंक प्राप्त हुनु सन्तोषजनक भए पनि खेलाडीको प्रदर्शनबाट आफू निरास भएको बताए। ‘बराबरी खेल्नुपर्ने खेल होइन। हामी राम्रो स्थितिमा थियौं। नतिजाको हिसाबले अंक पाउनु ठीक भए पनि खेलाडीको प्रदर्शन राम्रो भएन’ मार्कुसले भने, ‘अबको दिनमा सुधार गर्नेछौं।’

शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले पाएको अवसरमा गोल गर्न नसक्दा बराबरीमा खेल्नुपरेको बताए। ‘महत्वपूर्ण खेलाडी चोट बोकेर बाहिरिँदा हामीलाई दबाब थियो। त्यसैले फरक रणनीतिमा खेल्यौं र केही उत्कृष्ट बनायौं पनि,’ बुढाथोकीले भने,‘तर दुर्भाग्य पाएको अवसर सदुपयोग भएन। नतिजाबाट खुसी हुने अवस्था छैन।’ दिनको एक मात्र खेलमा फ्रेन्ड्सले महत्वपूर्ण खेलाडीबिना मैदान उत्रिएको शेर्पाविरुद्ध गोलरहित बराबरीको नतिजा सामना ग-यो।

प्रकाशित: २३ पुस २०७६ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App