७ वैशाख २०८१ शुक्रबार
खेल

शतक गोलको नजिक

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबारबाट तेस्रो चरणका खेल सञ्चालन हुँदै छन्। पहिलो खेलमा मच्छिन्द्रले दशरथ रंगशालामा फ्रेन्ड्सको सामना गर्दा दोस्रो खेलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दै छ। दशरथ रंगशालामा च्यासलले एनआरटीको सामना गर्दा बुधबार हुने दिनको दोस्रो खेल विशेष हुनेछ। २०६० सालदेखि लिग खेल्दै आएका सन्तोष साहुखल शतक गोलको संघारमा हुनेछन्। यसअघि सन्तोषले जारी लिगका सुरुआती दुई खेलमा तीन गोल गर्दै गोल संख्या ९९ पु-याइसकेका छन्। त्यसैले च्यासलको खेल विशेष हुनेछ।

दाजु बालगोपाल साहुखलको प्रेरणाबाट फुटबलमा प्रवेश गरेका सन्तोष आबद्ध ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लब जारी लिगको दोस्रो स्थानमा छ। पहिलो खेलमा संकटा क्लबविरुद्ध २–० को जित निकाल्दै लिगमा सुखद सुरुआत गरेको च्यासलले उनकै दुई गोलको मद्दतमा जित निकाल्न सफल भएको थियो।  त्यसपछि स्टार खेलाडीले भरिएको मच्छिन्द्रसँग पनि सन्तोषले उत्कृष्ट खेल खेल्दा टोलीले बलियो प्रतिद्वन्द्वीसँग अंक लिन सफल भएको थियो। १–१ गोलको बराबरी खेल्दा उनले नै टोलीका लागि गोल गरेका थिए। लगातारका खेलमा उनको गोलले नै च्यासलले अपराजित यात्रालाई निरन्तरता लिइरहेको छ। १२ वर्षअघि राष्ट्रिय टोलीबाट भारतविरुद्ध विश्वकप २०१० को छनोट खेल्दा सन्तोष राष्ट्रिय टोलीमा थिए। त्यसपछि टोलीमा देखिएको उतारचढावपछि सन्तोष राष्ट्रिय टोलीमा अटाएका छैनन्। यद्यपि सन्तोषको फुटबलको भोक लिगमा देखिएको लयले प्रस्ट पारेको छ। उनी अझै फर्ममा छन्। २०७२ को भूकम्पपछि ५ वर्ष लिग सञ्चालन हुन सकेन। यो अवधिमा उनी जापान पलायन भए। तर पनि जापान बसाइ फलदायी भएको भन्दै फुटबलमा फिटनेस र लगाब जरुरी भएको सन्तोषले बताए।

८ कक्षा पढ्दै गर्दा थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिगमा देखा परेका सन्तोष स्कुल पोसाकमा नै रंगशाला प्रवेश गर्थे। थ्री स्टारको जर्सी फेरेर मैदान छिर्थे। उनको त्यो लगाब र थ्री स्टारप्रतिको मायाले थ्री स्टार तीन पटक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो।

‘एउटा खेलाडीका लागि फिजिकल फिटनेस र डाइट निकै महत्वपूर्ण हुन्छ। सँगै टेक्निकल विषय पनि उत्तिकै जरुरी हुन्छ,’ राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर सन्तोषले भने, ‘जापान बसाइले मलाई कसरी खेलाडी बन्ने सिकाएको छ। निरन्तर मिहिनेत एउटा खेलाडीको सबल पक्ष हो।’

मच्छिन्द्रसँगको खेलमा गोल गरेसँगै लिगमा ९९ गोल पूरा गरेका सन्तोषको लयले सय गोल पूरा गर्ने प्रायः निश्चित नै छ। जुन नेपाली खेलाडीले अहिलेसम्म बनाउन सकेका छैनन्। करिब दुई दशक फुटबलमा बिताउँदै लिगमा शतक गोल पूरा गर्ने संघारमा रहेका  सन्तोषले १ सय गोल नजिक पुग्दा खुसी लागेको प्रतिक्रिया दिए।

‘मलाई मेरा अग्रज दाइहरूले ५० गोल पूरा गरे भन्दा म पनि कहिले यस्तो बन्न सकुँला भन्ने लाग्थ्यो,’ सन्तोषले थपे, ‘अहिले म शतकको नजिक पुगेको छु। धेरै खुसी लागेको छ।’

आफ्नै दाजु बालगोपाल साहुखलाले सम्हालेको क्लब च्यासल युथ क्लबबाट जारी लिगमा प्रतिनिधित्व गरेका सन्तोष यसअघि राष्ट्रिय टोलीमा रहँदा प्रभावशाली प्रदर्शन गर्दै नाम कमाएका थिए। बीचमा हराएका सन्तोषको अहिले पनि प्रभाव उत्तिकै छ। कारण उनको खेल शैली। उनका दाइ तथा च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले पनि भाइको प्रशंसा गर्दै जर्सी नं ९ का लागि सन्तोष योग्य भएको प्रतिक्रिया दिए।

‘मेरा लागि नेपालमा थोरै मात्र खेलाडी नं ९ का लागि योग्य छन्,’ सन्तोषका दाजु बालगोपालले भने, ‘जापान बसाइले पहिलेभन्दा अहिले परिपक्व सन्तोष बनाएको छ। टेक्निकल्ली र फिजिकल्ली कसरी खेल्ने सबै कुरामा जानकार भएका छन्।’

२०७२ को भूकम्मपपछि थलिएको रंगशालामा लिग नहुँदा उनीलगायत धेरै खेलाडी विदेश पलायन भए। केही मोफसलका गोल्ड कप खेल्दै खेलको प्यास मेटाइरहे। भूकम्पपछि करिब ५ वर्षको अवधिमा लिग शून्य रह्यो। फुटबलको निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सञ्चालन गर्न सकेन्। एन्फामा नेतृत्वदेखि खेलाडीबीचमा निकै ठूलो उतारचढाव आयो। तत्कालीन कप्तान सागर थापासहित चार खेलाडी म्याच फिक्सिङको विवादमा मुछिए। एन्फाले तत्कालीन उपाध्यक्ष रहेका कर्माछिरिङबाट नयाँ नेतृत्व पायो। राष्ट्रिय टोलीमा नयाँ खेलाडीको आगमनसँगै एकाएक हराएका सन्तोष २०७५ को रेलिगेसनबिनाको लिगमा फर्किएका थिए। त्यो सिजन पनि उनले आकर्षक खेल पस्कँदै उत्तिकै फर्ममा रहेको प्रस्ट्याएका थिए। जारी लिगमा च्यासलमा स्ट्राइकरको भूमिकाबाट खेलेका सन्तोष क्लबको जितका नायक बनिरहेका छन्।

८ कक्षा पढ्दै गर्दा थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिगमा देखा परेका सन्तोष स्कुल पोसाकमा नै रंगशाला प्रवेश गर्थे। थ्री स्टारको जर्सी फेरेर मैदान छिर्थे। उनको त्यो लगाब र थ्री स्टारप्रतिको मायाले थ्री स्टार तीन पटक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो। केही वर्ष हराएका सन्तोषमा जापानको सिकाइले परिपक्वता देखिएको अवश्य हो।  विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलबाट राष्ट्रिय जर्सी पहिरिएका सन्तोष स्कुलस्तरीय प्रतियोगिता हुँदै भक्तपुरको क्लब मध्यपुर युथ क्लबबाट आफ्नो व्यावसायिक खेल थालेका थिए। थ्री स्टार, एपिएफ, मनाङ र च्यासलबाट खेलेका सन्तोषले बंगलादेशको क्लब अभानी चितागोंगमा तीन सिजन बिताएका थिए। बढी सयम थ्री स्टारबाट खेलेका सन्तोष साहुखलले विभिन्न संस्करणका गरी कुल ७१ गोल गरेका छन्। थ्री स्टारबाट सबैभन्दा धेरै गोल गर्ने  खेलाडी पनि हुन्। यस्तै मनाङबाट १६, एपिएफबाट ६ गोल र ७५ मा सम्पन्न रेलिगेसनविनाको लिग ३ गोल गर्दै ९६ पूरा गरेका थिए। जारी लिगमा च्यासलबाट नै खेलेका सन्तोषले ३ गोल गर्दै ९९ गोल पूरा गर्दा गोलको शतक नजिक पुगेका छन्।

प्रकाशित: ९ पुस २०७६ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App