८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टारको पहिलो जित

काठमाडौं - मनाङ मस्र्याङ्दी क्लब जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा फर्किएको दिन थ्री स्टारले लिगमा पहिलो जित हात पारेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङले विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले निराश पार्दा दिनको दोस्रो खेलमा थ्री स्टारले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती १–० ले समाप्त पारेको हो।

मनाङको जितमा दयानन्द सिंहले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा मनाङ लगातार दोस्रो खेलमा विजयी भएको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा आर्मीका गोलकिपर विकेश कुथुको कमजोरीको फाइदा उठाउँदै मनाङले लगातार दोस्रो जित निकालेको हो। गोलकिपर कुथु र रक्षकबीच राम्रो तालमेल नमिलेको फाइदा उठाउँदै  मनाङका विदेशी खेलाडी दयानन्दा सफल हुँदा अन्तिम समयमा आर्मीलाई महँगो भएको हो।

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले आक्रामक खेल खेलेका थिए। तीन राष्ट्रिय खेलाडीसहित आक्रामक देखिएको आर्मीले निर्धारित समयमा पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएको थियो। सोही स्थितिमा मनाङ पनि थियो। यद्यपि निरन्तर काउन्टरमा रहेको मनाङ अन्ततः इन्जुरी समयमा सफल हुन पुग्यो।

उपाधि दाबेदारी गर्ने आर्मीले मनाङविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिए पनि रणनीतिक हिसाबमा असफल भयो। १४औं मिनेटमा जर्ज प्रिन्स कार्कीले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको क्रसमा आर्मीका खेलाडी चुक्दा सुरुआती अग्रता लिनबाट वञ्चित भएको थियो। १९औं मिनेटमा मनाङका विमल रानालाई फाउल गरेपछि २० यार्ड टाढाबाट हानेको फ्रिकिकमा मनाङ स्तब्ध हुनुपरेको थियो। २३औं मिनेटमा आर्मीले अवसर सिर्जना गरेको थियो।

उक्त अवसरमा इन्जुरी समयमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान बाहिरिएका सुमन अर्यालले हेडरमार्फत प्रयास गरे पनि उनको प्रयास पोस्टनजिकैबाट बाहिरियो। त्यसको पाँच मिनेटपछि मनाङका विदेशी खेलाडीले प्रहार गरेको लाम्रो सट गोल पोस्टभन्दा माथिल्लो बारबाट बाहिरियो। ३४औं मिनेटमा आर्मीका कप्तान भरत खवासले क्रस दिएको पासमा नवयुग श्रेष्ठ चुके। अवसर एक पछि अर्को गरी दुवै टोलीले सिर्जना गरे पनि सदुपयोग गर्न दुवै चुके।

पहिलो हाफमा भन्दा बढी आक्रामक देखिएका टोलीले दोस्रो हाफमा पनि प्रयासलाई निरन्तरता दिए तर गोल निस्किएन। इन्जुरी समयमा मनाङले गोलकिपरले नियन्त्रण लिन नसकेको फाइदा उठाउँदै जित पक्का गर्न सफल भयो।

सोमबारको जितसँगै मनाङले अंकतालिकामा ६ अंक बनाएको छ। यसअघि पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध २–१ को जित निकाल्दै सुखद सुरुआत गरेको आर्मी दोस्रो खेलमा स्तब्ध हुन पुगेको हो। लगातार दोस्रो जित निकालेको मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक तोपे फुजाले रणनीतिअनुसार खेल्दा सफल भएको बताए।

‘विभागीय क्लब त्रिभुवन आर्मीमाथि अन्तिम समयमा गरेको गोलसँगै जित निकाल्दा निकै खुसी छौं,’ प्रशिक्षक फुजाले भने, ‘बराबरीको लक्ष्यका साथ मैदान उत्रिए पनि अन्तिम समयको मिहिनेत सफल भयो। लक्ष्य १ अंक थियो तर ३ अंक बटुल्न सफल भयौं।’

यस्तै अंक सुम्पिन बाध्य आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पाएका अवसर सदुपयोग गर्न नसक्दा इन्जुरी समयमा हार बेहोर्नुपरेको बताए। ‘निर्धारित समयमा सबै खेलाडीले राम्रो खेले। खेलाडीको प्रदर्शनमा म सन्तुष्ट छु,’ प्रशिक्षक न्यौपानेले भने, ‘किपर र रक्षकबीच तालमेल नहुँदा अन्तिममा पराजित हुन पुग्यौं। यसअघि अवसर सदुपयोग गर्न नसक्नु दुर्भाग्य भयो।’

यस्तै लिगअन्तर्गत सोमबारै सम्पन्न दिनको दोस्रो खेलमा थ्री स्टारले विभागीय टोलीलाई १–० ले स्तब्ध पार्दा थ्री स्टारका सुशील राई नायक बने। सोमबार निकालेको जितसँगै ललितपुरे टोली थ्री स्टारले जारी लिगमा पहिलो जित निकालेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नै भएको खेलमा थ्री स्टारलाई पहिलो जित दिलाउन सुशील राईले खेल सकिन ६ मिनेटअगाडि गरेको गोल निर्णायक बनेको हो। पहिलो हाफ गोलरहित बराबरी खेलको थ्री स्टारले पुलिसविरुद्ध आक्रामक खेलेको थियो भने पुलिसले पनि काउन्टर रणनीति अपनाएको थियो।

दशरथ रंगशालमा सोमबार जित निकालेको थ्री स्टारले २ खेलबाट अंकतालिकामा ४ अंक बनाएको छ। यसअघि भएको पहिलो खेलमा थ्री स्टार छिमेकी टोली जावालाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। ८४ मिनेटसम्म थ्री स्टारलाई रोकेको पुलिसको यो पहिला हार हो। यसअघि पहिलो खेलमा पनि पुलिस हिमालयन शेर्पासँग गोलरहित बराबरी खेल्दै लिगको सुरुआत गरेको थियो।

पहिलो जित निकाल्न सफल थ्री स्टारका प्रशिक्षक मेघराज केसीले टोलीको प्रदर्शनमा आपूm सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘जित निकाल्दै तालिकामा तीन अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका थियौं, रणनीतिक हिसाबमा सफल भयौं,’ थ्री स्टारका प्रशिक्षक केसीले भने, ‘निरन्तर प्रयास गरे पनि अनुभवी पुलिसले हाम्रो प्रयास असफल पारेको थियो तर अन्तिममा नतिजा आयो। खुसी छौँ।’

यस्तै पुलिसका प्रशिक्षक अनन्त थापाले खेलअवधिमा पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिनुपरेको सुनाए। ‘अवसर निक्लिए पनि हामीले सदुपयोग गर्न सकेनौं। फिनिसिङ गर्ने खेलाडी स्ट्राइकरको समस्या देखियो,’ पुलिसका प्रशिक्षक थापाले भने, ‘फिनिसिङमा हामी चुक्यौं। हाम्रो स्ट्राइकमा समस्या छ। अन्य टिममा अफ्रिकन स्ट्राइकर राम्रा छन्। उनीहरूले भन्दा हामीले बढी अवसर पाएका थियौं। फिनिसिङमा नै समस्या देखियो।’

सोमबारको खेलसँगै लिगमा दोस्रो चरणका खेल सकिएका छन्। बुधबारबाट तेस्रो चरणका खेल हुनेछन्। इन्जुरी समयमा आर्मीका गोलकिपर विकेश कुथुको कमजोरीको फाइदा उठाउँदै मनाङले लगातार दोस्रो जित निकालेको हो।

प्रकाशित: ८ पुस २०७६ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App