coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई ऐतिहासिक सफलता

भुटानविरुद्धको फाइनल खेलमा बल नियन्त्रणमा लिने प्रयास गर्दै नेपाली खेलाडी (रातो जर्सी)। उक्त खेलमा नेपाल २–१ ले विजयी भयो। तस्बिर : दिपेश श्रेष्ठ/नागरिक

काठमाडौं – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ। सन् १९९९ मा आठौं सागमा ३१ स्वर्ण जितेको नेपालले त्यसपछि हात पारेको यो अहिलेसम्मकै सर्वाधिक उपलब्धि हो। २०२१ मा पाकिस्तानको इस्लामावादमा हुने १४औैं सागमा भेट्ने वाचासहित १३औं साग मंगलबार उल्लासका साथ समापन भएको छ।

पुरुष फुटबलमा स्वर्ण
नेपालले पुरुष फुटबल फाइनलमा भुटानमाथि २–१ को जितका साथ सागको १३औं संस्करणको सुखद अन्त्य गरेको छ। यसअघि नेपालले भारतमा सम्पन्न १२औं सागमा पनि पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेको थियो। भारतले १९८५ र १९८७, पाकिस्तानले १९८९ र १९९१ तथा २००४ र २००६ मा साग फुटबलमा स्वर्णपदक जितेका थिए।

गौरिकाका चार स्वर्ण
१३औं सागमा नेपाली पौडी खेलाडी गौरिका सिंहले एकै संस्करणमा चार स्वर्ण जितेर नयाँ कीर्तिमान रचिन्। नेपाललाई सागमा पौडीतर्फ उनले नै पहिलो स्वर्ण जिताइन्।

यसअघि तेक्वान्दोका दीपक बिष्टले सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएका थिए। ब्राजिलको रियोमा सन् २०१६ मा सम्पन्‍न ओलम्पिक खेलकुदमा विश्‍वभरकै सबभन्दा कम उमेरको खेलाडीका रूपमा चर्चा कमाएकी गौरिकाले जारी सागमा चार स्वर्णका साथै दुई रजत र तीन कांस्यपदक नेपाललाई दिलाएकी हुन्। उनले १ सय मिटर फ्रिस्टाइल, ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्यास्ट्रोकमा स्वर्ण जितेकी हुन्।

एथ्लेटिक्समा ऐतिहासिक सफलता
१३औं सागअन्तर्गत एथ्लेटिक्समा पनि नेपालले ऐतिहासिक सफलता हात पा¥यो। नेपालले एथ्लेटिक्समा सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान रच्यो।

महिला १० हजार मिटर दौडमा विजयी भएर सन्तोषी श्रेष्ठ सागमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् भने पुरुष ५ हजार मिटरमा गोपी चन्द पार्कीले पनि पहिलो स्वर्ण दिलाए। त्यस्तै म्याराथनतर्फ किरणसिंह बोगटीले १९९७ को सागपछि पहिलो पटक नेपाललाई स्वर्ण दिलाए।

बक्सिङमा २४ वर्षपछि पहिलो स्वर्ण
मिनु गुरुङ नेपाललाई स्वर्ण पदक दिलाउने पहिलो महिला बक्सर बनेको दिन नेपालले सागको बक्सिङ इतिहासमा २ दशकपछि स्वर्णको खडेरी तोडेको थियो।

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा मिनुले स्वर्ण जित्दा पुरुषतर्फ भूपेन श्रेष्ठले पनि सोही किसिमको सफलता दोहो-याएसँगै नेपाली बक्सिङले आठौं सागको स्मरणसमेत गराएको थियो। यसअघि १९९९ मा नेपालमै सम्पन्न आठौं सागमा दाजुभाइ प्रकाश र रामचन्द्र थापामगरले स्वर्ण जितेयता नेपालले साग बक्सिङमा स्वर्ण जित्न सकेको थिएन।

मिनुले महिला ५४ केजी तौलसमूहमा भारतकी शिक्षालाई युनानोमस डिसिजनको आधारमा हराएकी हुन्। भारतमा २०१६ मा सम्पन्न १२औं सागको सेमिफाइनलमा श्रीलंकाकी खेलाडीसँग ५१ केजी तौल समूहमा पराजित भएसँगै कांस्य पदकमा चित्त बुझाएकी मिनु यसपटक भने स्वर्ण चुम्न सफल भइन्। यस्तै ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्र थापामगरले भारतका मनीष कौशिकलाई अंकको आधारमा हराए।

तेक्वान्दोमा १२ स्वर्ण
यसपटक तेक्वान्दोेले नेपालाई सर्वाधिक १२ स्वर्ण दिलायो। यस्तै करातेमा नेपालका खेलाडीले १० स्वर्ण जिते।

महिला कुस्तीमा पहिलो स्वर्ण
संगिता धामी कुस्तीमा नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी बनिन्। उनले बंगलादेशकी सखिरा सरकारिनेलाई हराउँदै स्वर्ण चुमेकी थिइन्। यसपटक काठमाडौं, पोखरा र जनकपुरमा गरी २६ खेलको आयोजना गरिएको थियो। खेलाडीले ३ सय १६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २५ मंसिर २०७६ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App