१६ चैत्र २०८० शुक्रबार
खेल

राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै सागरले जिते भारोत्तोलनमा रजत

पोखरा - १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा आत्मसात गर्दै पोखराबाट सुखद अन्त्य गरेको छ। २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भएको छ।

पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६ पदक जितेको हो। आइतबारको अन्तिम दिन खेलमा नेपालले १ रजत र १ कास्य थप्यो। प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता थियो। भुटानको पहिलो सहभागिता रहेको प्रतिस्पर्धामा माल्दिभ्सको भने सहभागिता जनाएन। प्रतियोगितामा भारतले सर्वाधिक ९ स्वर्ण जित्दा पाकिस्तानले ६ तथा नेपाल, बंगलादेश र श्रीलंकाले समान २–२ स्वर्ण जिते। भुटानले १ मात्र कास्यमा चित्त बुझायो। नेपालको तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका हुन्। महिलातर्फको नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो।

 भारोत्तोलनमा नेपाललाई पदक दिलाउने क्रममा आईतबार एक रजत र एक कास्य पदक जित्दै भारोत्तोलन खेलको विदाई गरिएको छ। आईतबार नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जितेका हुन्। सागरले रजत पदक जित्ने क्रममा राष्ट्रिय किर्तिमान समेत बनाएका छन्। उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन्। यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको किर्तिमानीलाई १३ औं सागको अन्तिम दिनको प्रतिस्पर्धामा किर्तिमानमा सुधार गरेको नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए।

पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते। उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार उठाए। नेपालका लागि रजत जितेका प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए। उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन्। आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते। उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन्। १३ औं संस्करणमा यो नै सर्वाधिक भार बहन हो।

यस्तै, श्रीलंकन खेलाडी डब्लु पी यु चरुकाले रजत जितेका हुन्। उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकार गुरुङले कुल २७५ तौल उठाए। उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन्। नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन्। पुकारको लागि स्न्याच विधामा राष्ट्रिय किर्तिमान हो। स्पर्धामा बंगलादेशका खेलाडी चौथो भए। २० स्वर्ण सहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश दश तौल समूहको प्रतिस्पर्धा भएको खेलमा नेपालले कुल १६ क्याटागोरीमा भाग लिएको थियो। सबै इभेन्टमा नेपालले पदक विहीन हुनुपरेन। यसरी साग भारोत्तोलनमा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जित्दै यात्राको सुखद अन्त्य गरेको छ।

प्रकाशित: २२ मंसिर २०७६ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App