१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाललाई २ स्वर्ण, ३ रजत र १ कांस्य

पोखरा - अन्तिम दिन मिक्स ट्रायथलनमा नेपालले रजत पदक जित्दै पोखरामा आयोजित ट्रायथलन प्रतियोगिता टुंग्याएको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम दिन मिक्स ट्रायथलनमा नेपाली टोलीले निर्धारित दूरी १ घण्टा ३८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै रजतमा चित्त बुझायो। यससँगै नेपाली टोलीले ट्रायथलनबाट २ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो। मिक्स्डतर्फको प्रतिस्पर्धा भारतले १ घण्टा ३५ मिनेट २० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेको थियो। श्रीलंका भने १ घण्टा ४१ मिनेट २१ सेकेन्डको समय लगाउँदै कांस्य पदकमा खुम्चियो।

तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमाटाले नेपाललाई स्वर्ण दिलाएका थिए।
दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा लक्ष्मण मल्ल र सोही विधाको महिलातर्फ हुमी बुढामगरले नेपालका लागि रजत पदक जितेकी थिइन्।  सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र वसन्त थारूको टिमले मिक्स्ड टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो। त्यस्तै पुरुषतर्फको स्प्रिन्ट विधाको ट्रायथलनमा वसन्त थारूले नेपालको लागि कांस्य पदक जितेका हुन्। नेपालको मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कांस्य गरी कुल ५ पदक हात पारेको छ। त्यसै गरी श्रीलंकाले १ स्वर्ण र ३ कांस्य गरी कुल ४ पदकमा चित्त बुझाएको छ। सागअन्तर्गतको ट्रायथलनमा कुल ५ स्वर्णसहित १५ पदकका लागि तीन देशको सहभागिता रहेको थियो।

ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार दिने घोषणा गरेका छन्। श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई २५ हजार दिने घोषणा गरेका हुन्। त्यसै गरी गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले समेत पदकविजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन्। उनले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कांस्यका लागि १० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

महिला  ह्यान्डबलमा विजयी सुरुआत
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा नेपाली महिला ह्यान्डबल टोलीले विजयी सुरुआत गरेको छ। १३औं सागअन्तर्गत बुधबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई २९–१९ गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत ग-यो।

नेपालको तर्फबाट उमा राईले सर्वाधिक ८ गोल गरिन्। उमाले सबै गोल पेनाल्टीमा गरेकी हुन्। कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। नेपालकी निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान गरे। कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे। वन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए।

उता, श्रीलंकाको तर्फबाट भने रुवानिडीले सर्वाधिक ७ गोल गरिन्। त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए। हर्षिका उदय र दिलुक्सी एमले समान २ गोल गरे। उमासिका र चानिकाले समान १ गोल गरेका थिए।  नेपालको तर्फबाट निशा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन्। त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाइन्। श्रीलंकाको तर्फबाट भने जयसिंघे अराच्चिगेले गोलको खाता खोलेकी थिइन्। लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरेकी थिइन्।

घरेलु मैदानको फाइदा उठाउँदै नेपालले श्रीलंकन टोलीलाई खेलअवधिभर पूरै दबाबमा राख्न सफल रह्यो। तुलनात्मक रूपमा नेपाली खेलाडीभन्दा श्रीलंकन खेलाडीलाई उचाइमा साथ दिए पनि नेपाली खेलाडीहरूको तीव्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए। टोलीले बनाएको रणनीतिक योजनाअनुसार खेलाडीले खेल्दै जित निकालेको उनको भनाइ थियो।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए। उनले नेपाली महिला ह्यान्डबल टोलीको खुलेरै प्रशंसा गरे। नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो।

प्रकाशित: १९ मंसिर २०७६ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App