१६ चैत्र २०८० शुक्रबार
खेल

सयाैं स्वर्णकाे काेसेढुंगा पार

काठमाडौं – नेपालले दक्षिण एसियाली खेलकुद (साग) इतिहासमा स्वर्ण पदक संख्या एक सय पु-याएको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार भएको पुरुष ८७ केजी तौल समूहमा सक्षम कार्कीले पाकिस्तानका वाकर अलीलाई हराउँदै स्वर्ण जिते, जुन दक्षिण एसियाली राष्ट्रहरुको ओलम्पिकका रुपमा हेरिएको सागमा नेपालको सयौंं स्वर्ण पदक हो। नेपालका लागि पुष्करध्वज शाहीलेसन् १९८४ मा नेपालमा भएको पहिलो साफ (१०औं संस्करणबाट साग भन्न थालिएको) मा पहिलो स्वर्ण जितेका थिए। १३औं सागमा भने कार्कीले जितेको पदक नेपालका लागि २९ औं स्वर्ण हो।

नेपालले पहिलो साफ (दक्षिण एसियाली महासंघीय खेलकुद) मा चार स्वर्ण जितेर चौथो स्थान हासिल गरेको थियो। सन् १९८५ मा ढाकामा सम्पन्न दोस्रो साफमा नेपालले मात्र एक स्वर्ण जितेर पाँचौ स्थानमा चित्त बुझायो। १९८७ मा भारतको कोलकातामा भएको तेस्रो साफ र १९८९ मा पाकिस्तानको इस्लामाबादमा भएको चौथो साफमा पदक तालिकामा नेपाल कमजोर रह्यो। तेस्रो साफमा दुई स्वर्ण जितेको नेपाल चौथो साफमा मात्र एक स्वर्णमा सीमित बन्यो। १९९१ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न पाँचौं र १९९३ मा बंगलादेशको ढाकामा भएको छैटाैं साफमा पनि नेपालको कमजोर उपस्थिति रह्यो। नेपालले पाँचौंमा दुई र छैटाेंमा एक स्वर्णमा चित्त बुझायो। भारतको मद्रासमा १९९५ भएको सातांै साफमा चार स्वर्ण जितेको नेपालले काठमाडौंमा १९९९ मा भएको आठौं साफमा भने ३१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको थियो, जुन नेपालले साफ/साग इतिहासमा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन होे। आठौं साफको आफ्नो रेकर्ड नेपालले १३ औं सागमा तोड्ने सम्भावना प्रबल देखिएको छ।

आठौं संस्करणपछि भएका चारवटा शृंखलामा उल्लेख्य प्रदर्शन गर्न नसकेको नेपाल यसपटक नयाँ कीर्तिमान राख्ने बाटोमा अग्रसर छ।

नेपालले इस्लामाबादमा २००४ मा भएको नवाैं साफमा सात र कोलम्बोमा २००६ मा सम्पन्न दसाैं सागमा नौ स्वर्ण जितेको थियो। त्यस्तै २०१० मा ढाकामा भएको ११आ र भारतमा २०१६ मा सम्पन्न १२औं सागमा नेपालले क्रमशः नौ र तीन स्वर्ण जितेको थियोे।

२० वर्षपछि जन्मभूमिमा भएको १३औं सागमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। पहिलो दिन सोमबार १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन मंगलबार थप आठ स्वर्ण जित्यो। तेस्रो दिन बुधबार नेपालले थप ६ स्वर्ण जित्यो। नेपाल बुधबारसम्म २९ स्वर्ण, १५ रजत र २५ कांस्यसहित कुल ६९ पदकसहित दोस्रो स्थानमा छ। बुधबार शीर्ष स्थानमा उक्लिएको भारतले ३४ स्वर्ण, २३ रजत र १३ कांस्य गरी कुल ७० पदक हात पारेको छ। तेस्रो स्थानमा रहेको पाकिस्तानले नौ स्वर्ण, १८ रजत र १८ कांस्य गरी कुल ४५ पदक जितेको छ। श्रीलंका आठ स्वर्ण, २३ रजत र ३८ कांस्य गरी कुल ६९ पदक जितेर चौथो स्थानमा छ। पाँचाैं स्थानमा रहेको बंगलादेशले चार स्वर्ण, सात रजत र २६ कांस्य गरी कुल ३७ पदक जितेको छ। माल्दिभ्स छैटौं स्थानमा छ। उसले एक स्वर्ण र दुई कांस्य गरी कुल तीन पदक जितेको छ। स्वर्ण र रजत खाता खोल्न नसकेको भूटानले चार कांस्य पदकमात्र जितेको छ।

प्रकाशित: १९ मंसिर २०७६ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App