coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अपूरा संरचनामा भव्य शुभारम्भ

पोखरा - हतारहतारमा बनाइएका पूर्वाधारबीच पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) को सोमबार भव्य शुभारम्भ गरिएको छ। पोखराको खेलकुद इतिहासमै पहिलो पटक आयोजना गरिएको सागलाई भव्य बनाउन यहाँ हतारबीच पूर्वाधार बनाइएको थियो। तर ती निर्माणाधीन पूर्वाधारलाई अधुरै राखेर प्रतियोगिता शुभारम्भ गरिएको छ।

पूर्वाधार बनाउने कामले पछिल्लो तीन महिना निकै नै गति लिए पनि त्यसअघिको लामो समय खेर फाल्दा संरचना पूरा हुन सकेका छैनन्। छोटो समयमा धेरै काम गर्नुपर्दा समय अभावले संरचना अपूरा हुँदाहुँदै पनि प्रतियोगिता आयोजना गर्न बाध्य भएको पदाधिकारीले बताएका छन्। सागको यो संस्करणमा विभिन्न आठवटा खेल पोखरामा हुँदै छन्।

पोखरामा आइतबारदेखि नै प्रतियोगिता सुरु भए पनि सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। शुभारम्भ अवसरमा सहभागी सातवटै मुलुकका खेलाडी र खेल पदाधिकारीले रंगशालाको फुटबल मैदानमा मार्चपास गरेका थिए। गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा स्थानीय व्यवस्थापन सहजीकरण समिति संयोजक नरदेवी पुनले प्रतियोगिताले पोखरामा खेल पर्यटनको विकास हुने बताइन्।

‘हामीले प्रतियोगिता अवधिका लागि मात्र नभई सधैंका लागि पोखरालाई खेल पर्यटनको सहरको रुपमा चिनाउन चाहेका हांै,’ पुनले भनिन्, ‘पोखराको वास्तविक सुन्दरता कस्तो रहेछ भन्ने सहभागी मुलुकका खेल पदाधिकारी र खेलाडीले प्रत्यक्ष अनुभव गर्न पाउने भएका छन्। यो प्रतियोगिताले पोखरालाई खेल पर्यटन सहरको रूपमा पनि विकास गराउन मद्दत गर्नेछ।’

सदस्यसचिव रमेश सिलवालले एकठाउँमा मात्र नभई तीनवटा सहरमा खेल हुँदा त्यसले नेपालका सबै सहरलाई खेलका लागि उपयुक्त गन्तव्यको रुपमा रहेको भन्ने परिचित गराउने बताए। तीन महिनाको अवधिमा रंगशालाका सुविधायुक्त पूर्वाधार बनाएको पनि सिलवालले दाबी गरे।

खेलकुद मन्त्री जगत विश्वकर्माले रातदिन खटेर पूर्वाधार बनाएको बताए। सबैको सहयोगले मात्र साग सफल पार्न सकेको भन्दै विश्वकर्माले नेपाली खेलाडीले पनि त्यहीअनुरूप तयारी गरेको बताए। उद्घाटनका अवसरमा प्रतियोगितामा सहभागी सातैवटा मुलुकका खेलाडीले नवनिर्मित फुटबल मैदानको ट्य्राकमा मार्चपास्ट गरेका थिए। प्रतियोगितास्थल पोखरा रंगशालाको मुख्य प्रवेशद्वारदेखि खेलमैदानसम्म सागका लागि सजाइएको छ। त्यस अवसरमा सातैवटा देशका झन्डै फहराइएको थियो। फुटबल मैदान रंगीन बनेको छ।

लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको पोखरा रंगशाला अहिले सजाएर चिटिक्क पारिएको छ। यति बेला खुलेको मौसमले पनि पोखराको खेलकुदलाई न्यानो बनाइदिएको छ। स्वदेशी तथा विदेशी खेलाडीलाई पोखराको प्राकृतिक सौन्दर्यले मोहित बनाइदिएको छ।

अपूरा पूर्वाधारलाई पर्दा लगाएर छोपिएको छ। दर्शक बस्नका लागि बनाइएका कतिपय सिट अझै फिट हुन बाँकी  छन्। भिआइपी प्यारापिटका कुर्सीमा पाहुना बस्न नमिलेपछि उद्घाटन सत्र चलिरहँदा मर्मतसम्भार गरिएको थियो।

प्रकाशित: १७ मंसिर २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App