७ वैशाख २०८१ शुक्रबार
खेल

मन्डेकाजीलाई करातेमा दुई स्वर्ण

काठमाडौं – मन्डेकाजी श्रेष्ठ जारी १३औंै दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेको दिन नेपालले सोमबार करातेमा ७ स्वर्ण हात पारेको छ। करातेतर्फ पहिलो दिन भएका नौ स्पर्धामा नेपालले ७ तथा पाकिस्तानले दुर्ईमा स्वर्ण पदक हात पारेका हुन्। एकल र टिम स्पर्धामा गरी दुई स्वर्ण हात पारेका मन्डेकाजीले पुरुष एकल कातामा पाकिस्तानका निमातुल्लाहलाई २५.५६–२४.६८ ले हराउँदैे स्वर्ण पदक जितेका हुन्।

बंगलादेशका मोहम्मद हसन खान र श्रीलंकाका साउथन सारा बालुराले कांस्य पदक जिते। महिला एकल कातामा पाकिस्तानकी साइदाले नेपालकी चञ्चला दनुवारलाई २५.६–२४.६८ ले हराउँदै स्वर्ण जितिन्। सो स्पर्धामा श्रीलंकाकी हसिनी हेटिराची र बंगलादेशका हुमइरा अख्तर खानले कांस्य जिते। महिला टिम कातामा पाकिस्तानलाई २४.८८–२३.३ ले हराउँदै नेपालले स्वर्ण जित्यो। सोही स्पर्धामा श्रीलंका र बंगलादेशले कांस्य जिते। नेपाली टोलीमा निर्मला तामाङ, सरु कार्की र संगीता मगर थिए। रजत पदक विजेता पाकिस्तानी टोलीमा नर्गिस, साइदा र गुल समावेश थिए।

एकल कातामा स्वर्ण पदक जितेका मन्डेकाजीसहित प्रवीण र महसुस सम्मिलित नेपाली टोलीले अदिकारी मुदासिंगे, थलामाडिले गेडारा र वारानु कालाउसारिया सम्मिलित श्रीलंकाली टोलीलाई २५.५४–२५.२८ ले हराउँदै स्वर्ण जितेको हो। सो स्पर्धामा बंगलादेश र पाकिस्तानले कांस्य जिते।

कुमुतेको महिला  ४५  किलो तौलसमूहमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छन्। कुसमले फाइनलमा बंगलादेशकी मन्जुरा बोर्नालाई ३–२ ले पराजित गरिन्। सो स्पर्धामा श्रीलंकाका श्रनाथ अचाइगे इशाका मुवाथान्थी र पाकिस्तानका अन्वेरा इक्राले कांस्य पदक जिते।

यसै गरी, महिला ५० केजीमा नेपालकै अनु अधिकारीले स्वर्ण  जितिन्। उनले फाइनलमा श्रीलंकाकी डोन पाउवा बडाल्गे दिनुसा कुमारीलाई ८–० ले पराजित गरिन्। सो स्पर्धामा बंगलादेशकी गुल सविरा र पाकिस्तानकी फकिदा अख्तरले कांस्य पदक जिते।

पुरुष ५० किलो तौलसमूहमा मोहम्मद मुस्तफा कमललाई १–० ले हराउँदै नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जिते। पाकिस्तानका खान मुराद र श्रीलंकाका वार्नासुरा कुलिसरायोले कांस्य पदक जिते। पुरुष ८४ किलो तौलसमूहमा पाकिस्तानका अवाइस मोहम्मदले नेपालका दिवस श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते। दुवैको स्कोर दुई रहँदा अन्तिम समयमा दिवस टेक्निकल्ली डिस्क्वालिफाइड भएका थिए।

बंगलादेशका मोहम्मद रामजान र श्रीलंकाका अरिचिंगे कन्दुले कांस्य पदक जिते। यस्तै पुरुष ८४ किलो माथिको समुहमा नेपालका विप्लव श्रेष्ठले पाकिस्तानका मोहम्मद बाजलाई १–० ले हराउँदै स्वर्ण पदक जिते। सो स्पर्धामा श्रीलंकाका मागोर्ना मलरलांगे र बंगलादेशका मोहम्मद अतिकुर रहमानले कांस्य पदक जिते।

प्रकाशित: १७ मंसिर २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App