coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दुई सन्तानकी आमालाई दुई स्वर्ण

काठमाडौं - दुई सन्तानकी आमा आयषा शाक्यले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण जित्दा नेपालले कुल सात स्वर्ण हात पारेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न पुम्सेका १३ स्वर्ण प्रतिस्पर्धामध्ये नेपालले  सात स्वर्ण आफ्नो पोल्टामा पारेको हो। फाइटमा बाँकी १६ स्वर्णको प्रतिस्पर्धा भने नेपालले मंगलबारबाट सुरु गर्नेछ। पहिलो दिन नै नेपालले सात स्वर्ण जित्दा आयषाले दुई स्वर्ण दिलाएकी थिइन्।

आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाइन्। उनी सन् २००६ को दशौं सागमा रजत र ढाकामा सन् २०१० मा एघारौं सागकी स्वर्ण विजेतासमेत हुन्। भारतमा गत १२औं संस्करणमा पनि आयषाले रजत जितेकी थिइन्। तीनै पटक उनले फाइटतर्पm पदक जितेकी हुन्।

यस पटक भने फरक भूमिकाबाट आयषा अविस्मरणीय सफलता प्राप्त गर्न सफल भइन्। सन् २००६ को एसियाडमा कांस्य विजेतासमेत रहेकी आयषा दुई सन्तानकी आमा बनेपछि खेलाडी जीवनबाट टाढिने सँघारमा थिइन्। यद्यपि, केही वर्षको विश्रामपछि उनी सागका लागि पुनः तेक्वान्दोमै फर्किइन्। र फरक विधाबाट पनि आफूलाई प्रमाणित गर्न सफल भइन्। आइतबारको व्यक्तिगत पुम्सेको प्रतिस्पर्धामा आयषा केही भाग्यमानी पनि साबित भइन्।

उक्त विधामा उनले सबैभन्दा अगाडि आफ्नो कला प्रस्तुत गरेका थिइन्। तर, सोचेअनुरूप प्रदर्शन हुन नसकेपछि आफ्नो प्रतिस्पर्धा सकिएलगतै आयषा कुनामा बसेर एकछिन भावुक भइरहेकी थिइन्। तर, अन्य प्रतिस्पर्धीले पनि केही गल्ती गर्दा उनलाई फाइदा मिल्यो र स्वर्ण सुरक्षित बन्यो। यसबारे उनी स्वयम् पनि आफू भागयमानी  भएको स्विकार्छिन्।

साथै आयषाले आफूले सोचेभन्दा पनि राम्रो नतिजा आएको प्रतिक्रिया दिइन्। ‘एउटा खेलाडी भएपछि स्वर्ण जित्ने आशा हुनु स्वाभाविक हो। तर, दुई स्वर्ण नै जित्छु भन्ने कल्पना गरेका थिइनँ,’ आयशाले भनिन्,‘आज प्रतिस्पर्धा गर्दा सुरुमै केही गल्ती भयो। त्यससँगै म निकै दुखी भएँ। मेरो सपना तुहियो भन्ने महसुस भएको थियो। तर प्रतिस्पर्धीले पनि गल्ती गर्दा मलाई फाइदा मिल्यो।’

पुम्सेमा महिला खेलाडीको दबादबा
पुम्सेमा नेपालले कुल सात स्वर्ण जित्दा पुरुष खेलाडीमा व्यक्तिगततर्पm कमल श्रेष्ठ र आयशाकै जोडी सञ्जीवकुमारले मात्र सफलता हात पारे। बाँकी स्वर्णमा  नेपाली महिला खेलाडीको वर्चस्व रह्यो। आयषाले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र  महिला टिमको दुई फरक उमेर समूहमा नेपालले स्वर्ण जितेको थियो।

श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो। नेपालले महिला टिम पुम्सेतर्पm १७–२९ वर्षउमेर समूह (निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह (नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राई) मा स्वर्ण जित्न सफल भएको हो।  नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाइन्। व्यक्तिगत विधातर्पm आयषाले  ८.९४० स्कोर गर्दा भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन्। यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली (७.७५५०)  र बंगलादेशकी मौसुमीले (७.३६०) ले कांस्य पदक जिते।

२९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीवकुमार ओझाको जोडी (८.१६)ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६) लाई पछि पारेको थियो। यस विधामा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते।

त्यसै गरी नेपालका लागि महिला पुम्सेतर्पm पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए। सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन्। सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन्। यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जिते।

२३ देखि २९ वर्ष उमेरसमूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन्। यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जिते।
सोही उमेरसमूहमा नेपालका कमलले स्वर्ण जित्दा ८.२७० अंक ल्याए। भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए।  १७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए।

कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए। पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्मा(८.११०)ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०)लाई पराजित गरे। यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ्स (८.०३०) ले कांस्य पदक प्राप्त गरे। १७ देखि २३ वर्ष उमेरसमूहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते।
२३ वर्षदेखि २९ वर्ष उमेरसमूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए। यस विधामा श्रीलंकाले रजत प्राप्त गर्दा नेपालका जितबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते।

प्रकाशित: १७ मंसिर २०७६ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App