७ वैशाख २०८१ शुक्रबार
खेल

करातेबाट धेरै आशा

मङ्सिर - आयोजनाका दृष्टिले मात्र होइन, पदक र देशको प्रतिष्ठासँग जोडिँदै छ, नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)। दक्षिण एसियाकै सबैभन्दा ठूलो महाकुम्भ खेलमेला सञ्चालन हुन केही दिन मात्र बाँकी छ। दिनगन्ती सुरु भइसकेको छ। भौतिक संरचनाको निर्माण सम्पन्न गरी भव्य बनाउन आयोजक नेपालले आन्तरिक तयारी तीव्र बनाएको छ। आयोजनासँगै सागमा समावेश २८ खेलका खेलाडी बन्द प्रशिक्षण रहेर तयारीलाई तिखार्दै छन्। राष्ट्रिय खेलाडी तयारी समितिले पनि तयारीबारे अन्तिम धारणा सार्वजनिक गरिसकेको छ।

सन् १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग) अयाोजना गर्दा कराते पहिलो पटक समावेश भयो। नेपालमा दोस्रो पटक साग आयोजना गर्दै आयोजकका नाताले समावेश गरेको कराते तहल्का नै मच्चायो। यसै कारण साग इतिहासमा ८औं संस्करण सबैभन्दा सफल रूपमा पनि लिइन्छ। उक्त संस्करणमा नेपालले सर्वाधिक ३१ स्वर्ण जित्दा करातेको पोल्टामा १४ ओटा स्वर्ण पदक थिए। नेपालले त्यो बेला करातेमा कुल १६ स्पर्धामा १४ स्वर्ण तथा १ रजत र १ कांस्य पदक जितेको थियो। मार्सल आट्र्समध्ये करातेको पावर हाउसका रूपमा चिनिएको नेपालको त्यसपछिको सहभागिता भने बिस्तारै खस्कँदै गयो।

२००४ मा पाकिस्तानको इस्लामाबाद, २००६ मा श्रीलंकाको कोलम्बो, २०१० मा बंगलादेशको ढाकामा पनि आयोजना भए। तर पहिलो सहभागिता जस्तो सफल हुन सकेन। नवौंमा एक स्वर्ण, दुई रजत र ३ कांस्य जित्यो। १०औं मा दुई स्वर्ण, तीन रजत र ४ कांस्य पदक हात लाग्यो। सागमा समावेशपछि कुनै पनि संस्करणमा खाली हात हुन नपरेको करातेले बंगलादेशमा २०१० मा सम्पन्न ११औं सागमा तीन स्वर्ण, दुई रजत र दुई कांस्य जितेर स्वदेश फर्किएको थियो। १२औं सागमा भारतले आयोजना गर्दा करातेलाई समावेश नै गरेन।

१३औं साग नेपालले आयोजना गर्ने जिम्मा लिएपछि कराते उत्साहित भयो। नौ वर्षपछि समावेश भएको करातेका खेलाडी आठौं सागको साखलाई फर्काउने मिहिनेत गरिरहेका छन्। ढाकामा सम्पन्न ११औं सागपछि यस पटक कराते समावेश भएको हो।  भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं संस्करणमा कराते खेल समावेश नहुँदा नेपाल पदक तालिकाका निकै तल परेको थियो।

सागमा फेरि कराते खेल समावेश भएपछि देशभरका खेलाडी उत्साहित भएको नेपाली कराते टोलीका मुख्य प्रशिक्षक मदन उप्रेतीले बताए। ‘करातेमा विभिन्न उतारचढाव आए। धेरै कमजोरी भएको थियो। अहिले सबै पक्ष मिलेर अगाडि बढेको अवस्था छ। युवा खेलाडीको आमगन र केही गरौं भन्ने भावना सबैमा छ। आठौं सागमा जस्तै यस पटक करातेले राम्रो गर्नेमा हामी विश्वस्त छौं’, कम्तीमा पनि ८ स्वर्ण दाबी गर्ने प्रमुख प्रशिक्षक उप्रेतीले भने, ‘खेलाडीले दैनिक बिहान र बेलुका दुई पटक तयारी गरिरहेका छन्। 

बंगलादेशमा भएको पाँचांै दक्षिण एसियाली कराते च्याम्पियनसिपमा प्राप्त सफलताले खेलाडीमा उत्साह थपिएको छ। बंगलादेश, पाकिस्तान र श्रीलंकाले पनि राम्रो तयारी गरेका छन्। करातेमा नेपालले कमजोर आँक्ने अहिले भुटान र माल्दिभ्स मात्र हो। तर पनि हाम्रो मुख्य हतियार भनेको आत्मबल नै हो। नेपाल कराते महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा प्रशिक्षणमा रहेका खेलाडीलाई काठमाडौं गौशालास्थित शिवम होटलमा बन्द प्रशिक्षण गरिरहेको छ।

प्रशिक्षकले जस्तै बन्द प्रशिक्षणमा रहेका खेलाडीले पनि सागमा सबैको लक्ष्य स्वर्ण रहेको बताए। ८४ केजीमुनि तौलसमूहमा नेपालको प्रतिनिधित्व गर्ने दिवस श्रेष्ठले नेपालमा आयोजना हुन लागेका अवसरमा प्रमाणित गरेर छाड्ने प्रतिबद्धता जनाए।

‘यस पटकको तयारी धेरै राम्रो छ। बन्द प्रशिक्षणमा हामीले धेरै मिहिनेत गरेका छौं। आफ्नो तौलमा सबैले स्वर्ण जित्ने लक्ष्य राखेका छौं,’ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ८४ केजीमुनि स्वर्ण जितेका दिवस श्रेष्ठले भने, ‘बंगलादेशको च्याम्पियनसिप र मलेसियाको प्रशिक्षणले हाम्रो आत्मबल बढेको छ। बसोबास गर्ने होटलमा अभ्यास गर्ने ठाउँ भएकाले पनि समय बचेको छ। अभ्यास राम्रो भएको छ।’

दिवसले जस्तै आठौं राष्ट्रिय खेलकुदमा महिला एकल कातातर्फ स्वर्ण जितेकी चञ्चला दनुवारले पनि आँगनैमा हुन लागेको सागमा स्वर्ण जितेर छाड्ने अठोट जनाइन्। ‘एक साताको मलेसिया प्रशिक्षण र अघिल्लो महिना बंगलादेशमा भएको प्रतियोगिताले हौसल मिलेको छ,’ सागमा पनि एकल कातामा सहभागिता जनाउने दनुवारले भनिन्, ‘स्वर्ण जित्ने लक्ष्यका साथ मिहिनेत गरेकी छु। तयारी राम्रो गरेका छौं। बिहान र बेलुका गरी दिनमा दुई पटक अभ्यास गर्छौं। नेपाललाई स्वर्ण पदक दिलाउनेमा आशावादी छु।’

बन्द प्रशिक्षणमा १७ पुरुष र १४ महिला गरी कुल  ३१ खेलाडीले १९ स्वर्ण पदकका प्रतिस्पर्धा गर्ने प्रमुख प्रशिक्षक उप्रेतीले जानकारी दिए। पुरुषतर्फ फाइटमा ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजीमुनि र ८४ केजीमाथि, व्यक्तिगत काता, टिम काता र टिम कुमुते स्पर्धा समावेश गरिएको छ। यसै गरी महिलामा फाइटतर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजीमुनि र ६८ केजीमाथि, व्यक्तिगत काता, टिम काता र टिम कुमुते स्पर्धा समावेश छ। करातेको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई अहिले प्रमुख प्रशिक्षक मदनकुमार उपे्रती, सहायक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, दीपक श्रेष्ठ,  कुशल श्रेष्ठ, राजेश श्रेष्ठ, राधिका देउला, वीरकृष्ण शाही, गंगाराम महर्जन, गोपाल महर्जन,  र तारा गुरुङले प्रशिक्षण दिइरहेका छन्।

नेपाली कराते नौ वर्षपछि फेरि दक्षिण एसियाको खेलकुम्भमा फर्र्किंदा पदक जित्न तयार छ त ? नेपालले घरेलु भूमिको पुरानो गौरवमय इतिहास निरन्तरता दिन सक्ला ? सबैको चासो छ। जापानमा २०२० मा हुने ग्रीष्मकालीन ओलम्पिकमा कराते पहिलो पटक समावेश गरिएको छ। ओलम्पिकमा समावेश भएपछि करातेका धेरै पुरातन नियम परिमार्जन गर्दै प्रविधिमैत्री बनाइएको छ।  यसले अझै निरन्तरता पाइरहेको छ।

विश्व कराते महासंघ (डब्लुकेएफ)ले जनवरीको पहिलो साता पनि नियममा अझै परिमार्जन गर्ने योजना सार्वजनिक गरिसकेको छ। त्यसअनुसार नेपाली खेलाडीलाई पनि परिमार्जित नियमसँग अभ्यस्त गराउँदै तिखार्न सके अन्तर्राष्ट्रिय स्तरमा सुखद नतिजा सम्भव हुन्छ। ‘यस पटकको तयारी धेरै राम्रो छ। बन्द प्रशिक्षणमा हामीले धेरै मिहिनेत गरेका छौं। आफ्नो तौलमा सबैले स्वर्ण जित्ने लक्ष्य राखेका छौं।’

प्रकाशित: ७ मंसिर २०७६ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App