१६ चैत्र २०८० शुक्रबार
खेल

अपराजित रहँदै उपाधि भिडन्तमा नेपाल

काठमाडौं – लिग खेल सकिँदा अपराजित यात्रा कायम राख्दै नेपालले बंगलादेशमा जारी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिका लागि माल्दिभ्दविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

एक खेलअगावै फाइनल यात्रा तय गरेको नेपालले बुधबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै उपाधिको दाबेदारीसमेत प्रस्तुत गरेको छ। शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि ३–० को जित दर्ता गर्दै उसको अपराजित यात्रामा समेत पूर्णविराम लगायो।

पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको लगातार तीन खेलमा अपराजित रहेको माल्दिभ्सले लिगमा नेपालसँग मात्र हार बेहोरेको हो। त्यसअघि अपराजित यात्रालाई निरन्तरता दिँदा माल्दिभ्सले पनि अन्तिम खेलअगावै नेपालसँगको उपाधि होड तय गरेको थियो। यद्यपि, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको नेपालसामु भने माल्दिभ्स निरीह बन्न बाध्य भयो।
नेपालले माल्दिभ्ससहित लिगका थप तीनै खेलमा सोझो सेटमार्पmत नतिजा आफ्नो बनाउँदै उत्कृष्ट प्रदर्शनको प्रमाण पेस गरेको छ। साथै बिहीबार हुने उपाधि भिडन्तमा माल्दिभ्सविरुद्ध हाबी हुने संकेतसमेत दिइसकेको छ। नेपालले लगातार दबाब बनाउँदा माल्दिभ्सले तीनै सेटमा १५ भन्दामाथिको स्कोर बनाउन सकेन।

नेपालका प्रशिक्षकले यस खेलमा ब्लकमा सुनीता खड्कालाई विश्राम दिँदा उषा विष्टलाई अवसर दिएका थिए। सुनीता बंगलादेशविरुद्धको खेलमा प्लेयर अफ दी म्याच भएकी थिइन्। नेपालले चौथो खेलमा पनि उत्कृष्ट खेल प्रदर्शनलाई निरन्तरता दिँदा माल्दिभ्सको टोली निरीह बन्न बाध्य भयो। उपाधि लक्ष्यसहित ढाका गएको नेपालले माल्दिभ्सविरुद्धको पहिलो सेट सहजै आफ्नो पक्षमा पारेको थियो।

सुरुआतीमा माल्दिभ्सले चुनौती दिँदै ५–५ को बराबरीमा बनाए पनि नेपालले उक्त सेट २५–१४ ले आफ्नो बनायो। दोस्रो सेटमा नेपाल २५–५ ले हाबी हुँदै २–० ले अगाडि रह्यो। दुई सेट जितेर आत्मविश्वासी बनेको नेपालले तेस्रो सेट २५–१३ ले आफ्नो बनाउँदै हालसम्म लिगभरि सोझो सेटकै सफलतालाई निरन्तरता दियो।

नेपालको जितमा सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भइन्। जितपछि सरस्वतीले माल्दिभ्सविरुद्धको खेल फाइनलसरह नै रहेको प्रतिक्रिया दिँदै उपाधिका लागि अभैm राम्रो गर्ने बताइन्। ‘आजको खेल पनि फाइनलजस्तै थियो। त्यसैले राम्रो प्रदर्शन गर्दा जित हात पा-यौं,’ सरस्वतीले भनिन्,‘बिहीबारको फाइनलमा पनि थप ऊर्जाका साथ खेल्नेछौं।’

बुधबार नै सम्पन्न लिगको अन्तिम खेलमा किर्गिस्तानविरुद्ध ३–२ को जित निकाल्दै आयोजक बंगलादेश लिगको तेस्रो स्थानमा रह्यो। शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा सम्पन्न खेलमा आयोजक बंगलादेशले उत्कृष्ट पुनरागमन गर्दा सुरुआती दुई सेटमा पछि परेको स्थितिबाट खेल आफ्नो बनाएको थियो। बंगलादेशले पहिलो सेट २५–९ र दोस्रो २५–१५ ले सहजै गुमाएको थियो।

तर, त्यसपछि तीन सेट क्रमशः २५–२१, २५–१७ र १५–११ ले आफ्नो बनाउँदै बंगलादेशले लिगमा दोस्रो जित निकाल्यो। बंगलादेशले तेस्रो स्थानका लागि बिहीबार किर्गिस्तानविरुद्ध नै चुनौती प्रस्तुत गर्नेछ। लिगमा अपराजित एक मात्र टोली नेपालले चार खेलबाट १२ अंक बनाउँदा समान खेलमा एक मात्र हार बेहोरेको माल्दिभ्स ९ अंकका साथ दोस्रो स्थान रह्यो।

समान ४ खेलबाट बंगलादेशले दुई जितसहित ६ अंक बनाउँदा किर्गिस्तानले तीन अंक बटुल्यो। यी दुई टोली लिगमा क्रमशः तेस्रो र चौथो स्थानमा रहे। लिगका सबै खेलमा पराजित अफगानिस्तानले भने अंक बटुल्न सकेन।
   
नेपालले माल्दिभ्ससहित लिगका थप तीनै खेलमा सोझो सेटमार्पmत नतिजा आफ्नो बनाउँदै उत्कृष्ट प्रदर्शनको प्रमाण पेस गरेको छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App