१५ चैत्र २०८० बिहीबार
खेल

पुरुष ह्यान्डबल खेलाडी घाइते, भलिबलको थोत्रो म्याट बिछ्याएर प्रशिक्षण

पोखरा - पुरुष ह्यान्डबल टोली यति बेला खासै प्रशिक्षणमा छैन। प्रशिक्षणमा केवल ६ खेलाडी मात्रै छन्। बाँकी १० खेलाडी घाइते छन्। घाइते खेलाडी प्रशिक्षणमा अनुपस्थित हँुदा बाँकी ६ खेलाडीले प्रशिक्षण गर्दै आएका छन्।

प्रशिक्षण पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलभित्र हुँदै आएको छ। झन्डै एक महिनादेखि प्रशिक्षण गर्दै आएको टोलीको एक साताअघि मात्रै पूर्ण रूपमा छनोट गरी बन्द प्रशिक्षणमा राखिएको हो। बन्द प्रशिक्षणका खेलाडी घाइते भएर समस्या थपिएको छ। कभर्ड हलमा म्याट छैन। सिमेन्टमा प्रशिक्षण हँुदा खेलाडीहरू घाइते भए।

कभर्ड हलमा पार्केटिङ, सिट र साउन्ड सिस्टमको व्यवस्थापन गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्ले बनाउँदै ५ करोड रुपैयाँ छुट्ट्याएको थियो। रकम निकासा नहुँदा पार्केटिङ अथवा म्याट राख्ने योजना पूरा हुन सकेको छैन।

घाइते खेलाडी अहिले आराममा छन्। खेलाडी घाइते हुँदा नजिकिँदै गएको सागको मितिले पनि आयोजक राष्ट्र नेपाललाई थप तनाव सृजना गरिदिएको छ। ‘१० जना खेलाडी घाइते छन्,’ ह्यान्डबल प्रशिक्षक जीवन बस्नेतले भने, ‘६ खेलाडी मात्रै प्रशिक्षणमा छन्।’ म्याटकै अभावले पनि खेलाडी बढी घाइते भएको ठम्याइ छ। ह्यान्डबल पावर गेमअन्तर्गत पर्छ। पावर गेमकै कारण कन्ट्याक्टमा खेल्नुपर्ने हँुदा त्यसको असर खेलाडीलाई परेको छ। सिमेन्टमा पछारिँदा बढी जोखिम हुन्छ।

खेलाडी घाइते हँुदा सागमा असर पर्ने नेपाल ह्यान्डबल संघले उल्लेख गरेको छ। ‘ह्यान्डबल कन्ट्याक्ट गेम हो। त्यसले पनि खेलाडी घाइते भएका हुन्,’ नेपाल ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ सुनाउँछन्,‘म्याट नै नभएर घाइते भएका हुन् भन्न सकिँदैन।’ उनले म्याट नहुँदा घाइते भएको कारण मान्न सकिए पनि म्याट हँुदैमा घाइते हुन्नन् भन्न नसकिने जिकिर गरे।

अध्यक्ष गुरुङले कभर्ड हलका लागि आवश्यक म्याटको राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर आह्वान गरेको सुनेको बताए। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आउन केवल डेढ महिनाभन्दा पनि कम समयको अवस्थामा आह्वानले समयमै उपलब्ध हुने सम्भावना कमजोर देखिएको छ। यद्यपि सागअघि नै म्याट बिछ्याएर खेल्ने लक्ष्य ह्यान्डबल टोलीको छ।

म्याट बिछ्याउँदै खेलाडी
ह्यान्डबलका खेलाडी लगातार घाइते बन्न थालेपछि सिमेन्टेड फ्लोरमा भलिबलले राखेको थोत्रो म्याट प्रयोग गरिएको छ। म्याट सोमबार बिहानदेखि खेलाडीहरूले बिछ्याउन सुरु गरेका थिए। हलभित्र आफैं सरसफाइ गर्दै म्याट बिछ्याई प्रशिक्षणको तयारी गरिरहेको खेलाडी विशाल बस्नेतले बताए। उनी आफैं घाइते भएर कम्मरमा बेल्ट बाँधेर म्याट बिछ्याउन तल्लीन थिए।

कभर्ड हलमा पार्केटिङ, सिट र साउन्ड सिस्टमको व्यवस्थापन गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्ले बनाउँदै ५ करोड रुपैयाँ छुट्ट्याएको थियो। तर छुट्ट्याइएको रकम भने निकासा भइसकेको छैन। रकम निकासा नहुँदा पार्केटिङ अथवा म्याट राख्ने योजना पूरा हुन सकेको छैन। त्यसै गरी सिट र साउन्ड सिस्टम व्यवस्थापन गर्न नसकिँदा राष्ट्रियतामै आँच आउने हो कि भन्ने चिन्ता छ। सागलाई राष्ट्रिय प्रतिष्ठाको विषयसँग जोडिरहँदा पूर्वाधार व्यवस्थित बनाउन प्रभावकारी ध्यान पुग्न नसकेको भान प्रस्ट भएको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App