काठमाडौं – शनिबार नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक र विभिन्न खेल संघका पदाधिकारीलगायतते स्वागत गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा काठमाडौं आएका सीलाई सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीले समेत स्वागत गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि राष्ट्रपति भण्डारीले सीलाई स्वागत गरेकी थिइन्। त्यसपछि उनी बस्ने होटेल सोल्टीमा जाने क्रममा नेपाली खेलकर्मीले त्रिपुरेश्वरमा स्वागत गरेका थिए। खेल पोसाकमै रहेका खेलाडीले स्वागत गर्दा राष्ट्रपति सीले हात हल्लाएर अभिवादन गरेका थिए।
प्रकाशित: २६ आश्विन २०७६ ०४:०९ आइतबार