१६ चैत्र २०८० शुक्रबार
खेल

भारत सेमिफाइनलमा

काठमाडौं– नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बुधबार भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। 

हलचोकस्थित एपिएफ क्लबको मैदानमा बुधबार भारतले श्रीलंकालाई हराउँदै समूह ‘बी’ विजेताका रूपमा सेमिफाइनल पुग्दा प्रतियोगिताको अन्तिम चारको समीकरण पूरा भएको हो। सेमिफाइनलमा स्थान बनाएको भारत ४ अंक जोड्न सफल भयो । यसअघि पहिलो खेलमा भारत बंगलादेशसँग बराबरीमा रोकिएको थियो।

पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको भारत दोस्रो हाफमा तीन गोल गर्न सफल भयो। निकै रोमाञ्चक बनेको खेलमा भारतको जितका लागि गुरकिरात सिंहले दुई गोल गरे भने अमन क्षत्रीले एक गोल गरे।

पहिलो हाफमा दबाब दिँदै खेलेको भारतले ६१औं मिनेटमा मात्र गोलको खाता खोल्न सफल भएको थियो। गुरकिरात सिंहले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। अग्रता बनाइसकेको भारतले ८९औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो।

गुरकिरातले नै व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता फराकिलो पारेका थिए। पछि परेसँगै खेलमा फर्किन संघर्ष गरिरहेको श्रीलंका अगाडि बढेको मौकामा भारतले इन्जुरी समयमा गोल थप्न सफल भयो। भारतका लागि अमन क्षत्रीले टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।

भारतसँग पराजित भएको श्रीलंकाले यसअघि समूहचरणको पहिलो खेलमा बंगलादेशसँग पनि ३–० को पराजय भोगेको थियो । लगातारको हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। 

समूह ‘बी’ बाट बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। बंगलादेशले पनि २ खेलमा ४ अंक जोड्यो।

भारत र बंगलादेशबीच समान अंक, समान गोल र समान कार्ड भएपछि समूहविजेताको टुंगो गोलाप्रथाबाट गरिएको थियो। जसमा भारत भाग्यमानी ठहरियो।


यसअघि भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। अब भारतले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग खेल्नेछ। यस्तै बंगलादेशले समूह ‘ए’ को विजेता भुटानसँग खेल्नेछ। प्रतियोगिताका सेमिफाइनल खेल शुक्रबार हुनेछन्। 

 

प्रकाशित: ९ आश्विन २०७६ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App