७ वैशाख २०८१ शुक्रबार
खेल

उपाधिको ह्याट्रिक लक्ष्यमा नेपाल

काठमाडौं– साफ यु–१८ च्याम्पियनसिप उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको आयोजक नेपाल शुक्रबार हलचोकस्थित एपिएफको खेलमैदानमा माल्दिभ्सलाई आतिथ्य गर्दै सो यात्राको सुखद सुरुआत गर्न चाहन्छ। ६ देशले सहभागिता जनाएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्न लागेको हो।

यसअघिका संस्करणमा माल्दिभ्सविरुद्ध सुखद नतिजा हात पारेको नेपाल सोही नतिजालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। पहिलो संस्करणमा नेपालले माल्दिभ्सविरुद्ध २–० को जित निकालेको थियो। यस्तै २०१५ मा भएको पहिलो संस्करणमा नेपालभन्दा भिन्न समूह रहेको माल्दिभ्सले समूहचरण पार गर्न असफल भएको थियो।

  शुक्रबारबाट नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा प्रशिक्षक चेतनारायण श्रेष्ठले घरेलु मैदानको फाइदा उठाउने बताए। प्री–म्याच कन्फरेन्समा प्रशिक्षक श्रेष्ठले टोलीको तयारी उत्कृष्ट रहेकाले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको जनाएका हुन्। 


‘यो संस्करणमा सबै देशका टोली बलिया छन्। सबैले राम्रो तयारी गरेका छन्। हामी विगतका च्याम्पियन भएकाले स्तरीय खेल देखाउँदै उपाधिमा ह्याट्रिक गर्ने हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘टोलीले घरेलु मैदानको भरपूर सदुपयोग गर्नेमा म विश्वस्त छु। एक साताको पोखरा अभ्यासले हामीलाई थप हौसला मिलेको छ।’


प्रशिक्षक श्रेष्ठले नेपालले प्रतियोगिताअघि ४५ दिन तयारी गरेको र टोली उत्कृष्ट बनेको बताएका छन्। ‘हाम्रो टोली सबै पक्षमा बलियो छ। विशेष गरी मिड पोजिसनमा हामी बलियो छौं। यससँगै अट्याकिङ पोजिसनलाई बढी फोकस गर्दै खेल आफ्नो पक्षमा पार्ने लक्ष्य राखेका छौं’, प्रशिक्षक श्रेष्ठले थपे, ‘टोलीमा ‘ए’ डिभिजन र केही यु–१६ च्याम्पियनसिप खेलेर अनुभव बटुलेका खेलाडी छन्।

कोरियाको एकेडेमीमा रहेर खेलिरहेका मनीष डाँगी पनि टोलीमा समावेश भएका छन्। यस कारण फरवार्ड पक्ष पनि बलियो छ।’ यस्तै नेपाली टोलीका कप्तान जया गुरुङले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिए।

‘हामीले बन्द प्रशिक्षणमा रहेर लामो अभ्यास गरेका छौं। टिम स्पिरिट राम्रो छ। सबै खेलाडीले एकआपसमा बुझेका छन्,’ कप्तान जयाले भने, ‘घरेलु ‘ए’ डिभिजन लिग खेलेका खेलाडीमा राम्रो अनुभव छ। उनीहरूले राम्रो अभ्यास गर्न पाएका छन्। घरेलु मैदानमा सबै खेलाडीको आत्मबल बढेको छ। हामीलाई घरेलु मैदान र समर्थकको साथ छ। हामी ह्याट्रिक गर्ने लक्ष्यमा छौं।’
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल असोज ५ गते भुटानसँग खेल्नेछ। समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सहज समूहमा रहेको नेपाललाई सेमिफाइनल पुग्न कठिन भने हुने छैन। तर त्यति सहज पनि छैन।

किनकि पछिल्लो समय सबै देशले उमेरसमूहलाई विशेष प्राथमिकता दिँदै टोली निर्माण गरिरहेका छन्। त्यसपछिका खेलमा भने नेपालले कठिन चुनौती पार गर्नुपर्ने हुन्छ। अर्को समूहमा रहेका भारत र बंगलादेश निकै अब्बल टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

यस्तै अन्य सहभागी टोलीले पनि नेपालमा आयोजना हुन लागेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको प्रतिक्रिया दिए। भारतले प्रतियोगिताका लागि भनेर नै लामो समयदेखि तयारी गरेको बतायो भने उपाधि लक्ष्यका साथ नेपाल आएको प्रतिक्रिया दियो। यस्तै अन्य टोलीले पनि स्वाभाविक खेल प्रस्तुत गर्दै सहभागिता फलदायी बनाउने प्रतिक्रिया दिए। 

प्रकाशित: ३ आश्विन २०७६ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App