६ वैशाख २०८१ बिहीबार
खेल

पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी, अमेरिकामा अन्तर्राष्ट्रिय खेल खेल्दै

पोर्चुगल– युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा संघर्ष गरिरहेका एक नेपाली युवा अब्बल अन्तर्राष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन्। 

ती नेपाली युवा खेलाडीमा मात्र सिमित छैन, विदेशीका कराँतेगुरु पनि बन्न सफल भएका हुन्। उनले विदेशीलाई कराँते सिकाउँछन्। पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक्सेराका २६ वर्षीय हिक्मत घर्तीमगर पोर्चुगिजका कराँतेगुरुसमेत बन्न सफल भएका हुन्।
 
नेपालमा राम्रा खेलाडी उत्पादन गर्नका लागि महङ्गो रकम खर्चेर विदेशी प्रशिक्षक झिकाउने प्रचलन छ। तर घर्तीमगरजस्ता नेपाली खेलाडी पनि छन्। जो विदेशीका प्रशिक्षक बनेर नेपाल र नेपालीको गौरव बढाइरहेका छन्। सन् २०१५ मा पोर्चुगल आएका घर्तीमगरले कराँतेमा अदभूत कला, कौशल र क्षमता प्रदर्शन गरेकै कारण पोर्चुगलमा अब्बल खेलाडीका रूपमा स्थापित हुन सफल भएका हुन्। कुमेटी र कातामा अब्बल मानिने घर्तीमगरले आफ्नो तौल समूहअन्तर्गत पोर्चुगलमा अब्बल खेलाडीमध्येकै एक भएको दाबी गर्छन्।

घर्तीमगरले स्थानीय सरकारी विद्यालयसँगको समन्वयमा बालबालिकालाई कराँते खेलको प्रशिक्षण दिँदै आएका छन्। प्रशिक्षणसँगै उनी खेलाडीको रूपमा समेत विभिन्न प्रतियोगितामा भाग लिने गर्दछन्। राष्ट्रिय कराँते महासङ्घ पोर्चुगलले अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएको र विशेष तालिमप्राप्त गरेकोलगायत मापदण्डका आधारमा प्रशिक्षकको प्रमाणपत्र दिएपछि आफू कराँते प्रशिक्षक बन्न सफल भएको उनी बताउँछन्। 

सानो उमरमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका घर्तीमगरले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकसमेत जित्न सफल भएका छन्। ‘एउटा नेपाली भएको नाताले विदेशीभूमि पोर्चुगलमा कराँते प्रशिक्षक बन्न पाउँदा अत्यन्तै गौरवको महशुस हुन्छ’, घर्तीमगरले भने। ‘यो सफलता, खेलप्रतिको निरन्तरको लगाव, कडा मेहेनत र सङ्घर्षको प्रतिफल हो, यो उपलब्धी जीवनकै महत्वपूर्ण उपलब्धी हो’, घर्तीमगर अगाडि थप्छन्।

रुकुमबाट विसं २०६१ मा घर्तीमगरको परिवार काठमाडौँ आएको थियो। काठमाडौँ आएका घर्तीमगरलाई उनका मामा राजबहादुर बुढामगरले ललितपुरको एकान्तकुनास्थित रहेको महेन्द्र भृकुटी माविको कक्षा ६ मा भर्ना गराएका थिए। सो विद्यालयमा भर्ना भएसँगै घर्तीमगरको खेल जीवन शुरु भयो।

बाह्र वर्षको उमेरबाटै घर्तीमगरले मार्शलआर्ट सिक्न शुरु गरेको बताउँछन्। भर्खरै मार्शलआर्ट सिक्दै गरेका घर्तीमगरले १४ वर्षको उमेरमै उपत्यकाव्यापी जीत कुन–डो मार्शलआर्ट प्रतियोगिताका लागि छनोट भए। २००७  मा भएको उपत्यकाव्यापी जीत कुन–डो  मार्शलआर्ट प्रतियोगितामा ३५ केजी तौल समूहतर्फ आफूले प्रथम स्थान हासिल गर्न सफल भएको बताउँछन्। काठमाडौँ, भक्तपुर र ललितपुरसहित तीन जिल्लाका खेलाडीका बीचमा भएको पहिलो प्रतिस्पर्धामै आफू प्रथम हुँदा निकै खुशी लागेको उनी सुनाउँछन्। त्यसलगत्तै घर्तीमगरले सन् २००८ मा काठमाडौँमा भएको राष्ट्रिय विभूति भीमसेनसिहं थापा कपमा ४० केजी तौल समूहतर्फ प्रथम हुन सफल भएका थिए। २००८ मै काठमाडौँमा भएको इण्डो नेपाल जितकुण्ड मार्शलआर्ट च्यापियनसीपमा घर्तीमगरले कास्यपदक जित्न सफल भए। सन् २००९ मा भएको इन्टरडोजो जित कुन–डो मार्शलआर्ट प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भए। सन् २००९ मा भारतमा भएको जित कुन–डो मार्शलआर्ट सेमिनारमा घर्तीमगरले सहभागिता जनाएका थिए।

बाल्यकालमा शिक्षक बन्ने सपना थियो, घर्तीमगरको। शिक्षक बन्ने सपना बुनेका उनै घर्तीमगरलाई खेलप्रतिको मोह र लगावले बाल्यकालको कलिलो उमेरमै मार्शलआर्टको खेलाडी बनायो। बाल्यकालमा प्राप्त गरेको यही सफलताले नै आज आफूलाई अन्तरराष्ट्रिय कराँते खेलाडी बनाएको घर्तीमगरको भनाइ छ। घर्तीमगरले राष्ट्रिय मात्र होइन, बाल्यकालमै अन्तरराष्ट्रिय प्रतिस्पर्धामा समेत भाग लिएका थिए।
 
सन् २०१० मा काठमाडौँमा भएको इण्डो नेपाल जीत कुन–डो मार्शलआर्ट फ्रि कम्ब्याततर्फ उनले स्वर्ण पदक हात पारे। ‘सो प्रतिस्पर्धाको पहिलो चरणमा मलाई मुखमा गम्भीर चोट लाग्यो। नाक र मुखबाट रगत बग्यो। म भुइँमा ढले, त्यतिबेला अब कराँते खेल्न छोड्नुपर्छ जस्तो पनि लाग्यो’, घर्तीमगरले विगत सम्झँदै सुनाए। केही समयको विश्रामपछि दोस्रो चरणको खेलको लागि रिङमा प्रवेश गरेँ र प्रतिस्पर्धा जित्न सफल पनि भएँ। त्यसबखत तत्कालीन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव युवराज लामाले खुशी भएर रु पाँच हजार नगद दिएको अहिले पनि ताजै स्मरण रहेको घर्तीमगर बताउँछन्।

‘यस्ता प्रतिस्पर्धाको क्रममा धेरैपटक लडेको छु। चोट पनि खाएको छु। तर, मैले कहिले पनि हिम्मत हारिनँ, त्यस्तो लडाइँ र चोटले मलाई झन् बलियो बनायो। आत्मबल बढायो।  माथि उठ्ने हिम्मत जगायो’, यही आत्मबल र हिम्मतले नै मलाई अन्तरराष्ट्रिय कराँते खेलाडी बनाएको हो’, घर्तीमगरले भने।
 
जित कुन–डो बाट मार्शलआर्ट शुरु गरेका घर्तीमगरले आफ्नो खेलयात्रालाई कराँतेतर्फ मोडे। १६ वर्षकै उमेरमा घर्तीमगर ४६औँ केडब्लुएफ कराँते च्याम्पियनसीपमा भाग लिन थाइल्याण्ड गए। सन् २०१० मा राजधानी बैंककमा भएको उक्त प्रतिस्पर्धामा घर्तीमगरले नेपाललाई स्वर्ण दिलाउन सफल भए। 

सन् २०११ मा मेक्सिको गएका उनले दोस्रो स्थान हासिल गर्न सफल भए। नेपाली टोलीमा सहभागी भई मेक्सिको गएका घर्तीमगरले एक दर्जन बढी देशका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए। मेक्सिकोको यात्रा घर्तीमगरको मानसपटलमा अझै पनि ताजै छ। काठमाडौँदेखि दुबई र दुबईदेखि मेक्सिकोसम्मको २१ घण्टाको हवाईयात्रा जीवनकै अविस्मरणीय रहेको उनी बताउँछन्। 

‘हामी आठ जनाको नेपाली टोली थियौँ। म सानै थिए। हवाईयात्राका क्रममा म रोएको पनि छु’, विगत सम्झँदै घर्तीमगरले भने, ‘त्यबखत लामो यात्राका कारण म आत्तिएको थिए। तर मेक्सिको राजधानी मेक्सिकोसिटी पुगेर त्यहाँ भएको अन्तर्राष्ट्रिय ओकिनवा कराँते च्याम्पियनसीपमा नेपाललाई रजतपदक दिलाउन पाउँदा भने निकै खुशी भए।’ 

२०१२ मा फिलिपिन्सको मनिलामा भएको मनिला केडब्लुएफ अन्तरराष्ट्रिय प्रतियोगितामा घर्तीमगरले नेपाललाई स्वर्णपदक जिताउन सफल भए। विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्काे जित हात पार्दै घर्तीमगर अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा चिनिन सफल भए।
 
सानो उमरमै यत्रो प्रगति गरेको खेलाडी किन विदेशिनुभो त भन्ने जिज्ञासामा घर्तीगमरले अझै राम्रो अवसरका लागि विदेशिएको बताउँछन्। आफू विदेशिए पनि खेलमार्फत नेपाल र नेपालीको गौरव बढाउन निरन्तर लागिरहेको प्रतिक्रिया दिए। ‘विदेशिनु रहर होइन यो त धेरै नेपाली खेलाडीको बाध्यता हो”, घर्तीमगर भन्छन्। नेपालमा खेलकूद क्षेत्रमा सम्भावना रहे पनि खेल क्षेत्रको व्यवस्थापन र सही नेतृत्व नहुँदा नेपालको खेल क्षेत्रले गति लिन नसकेको घर्तीमगरको धारणा छ। अवसरको कमी र आर्थिक अभावका कारण नेपालका खेलाडी पछाडि पर्नुपरेको उनको गुनासो छ।

एशियाका विभिन्न मुलुक र मेक्सिको हुँदै घर्तीमगरको कराँते यात्रा युरोपतर्फ सोझियो। सन् २०१४ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय जर्मन वाडो कपमा ५५ केजी तौल समूहअन्तर्गत घर्तीमगरले कुमेटीतर्फ नेपाललाई रजत पदक दिलाउन सफल भए। यस्तै २०१४ मै इटालीमा भएको दोस्रो युरोकप तथा नोमेची कराँते प्रतियोगितामा कातातर्फ नेपाललाई रजत पदक दिलाउन सफल भए। यसपछि कराँतेसम्बन्धी सैद्धान्तिक ज्ञान पनि हासिल गर्नुपर्छ भन्ने लागेर घर्तीमगरले २०१४ मा इटालीबाटै कराँते नोमेचीमा डिप्लोमा कोर्ष गरे। २०१४ मै इटालीमै भएको दोस्रो केडब्लुएफ च्याम्पियनसीपमा उनले कातातर्फ प्रथम स्थान हासिल गर्न सफल भए। २०१४ मै बेल्जियमको गेण्ट शहरमा भएको प्रथम गेण्टसिटी अन्तर्राष्ट्रिय प्रतियोगितामा ६० केजी तौलतर्फको एकल प्रतिस्पर्धामा क्यूवाका खेलाडीलाई पराजित गर्दै  घर्तीमगरले नेपाललाई स्वर्णपदक दिलाउन सफल भए। 

सन् २०१४ मै फ्रान्समा भएको केडब्लुएफ अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा ६७ केजी कातातर्फ स्वर्ण पदक हात पारे भने  सोही प्रतियोगिताको ५५ देखि ६२ केजी तौल समूहमा कुमेटीतर्फ रजत पदक दिलाउन सफल भए। २०१४ मै जर्मनीको हेम्बर्गमा भएको एलबी कप इन्टरनेशनल २०१४ मा नेपाललाई कास्य पदक दिलाउन सफल भएका थिए।
 
घर्तीमगर भारत, मेक्सिको, थाइल्याण्ड, फिलीपिन्स, जर्मनी, इटाली, पोर्चुगललगायत दर्जन बढी देशहरुमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। हेम्बर्गमा भएको प्रतियोगितामा सहभागी भएसँगै ब्राजिलीयन गुरु लुइस लिमसँगै पोर्चुगल आएका घर्तीमगरले पोर्टो शहरमा बसेर नौ महिना उनै ब्राजिलियन गुरुसँग विशेष कराँते तालिम लिए। २०१६ मा पोर्टोमै भएको ओ पोर्टो इन्टरनेशनल कराँते २०१६ मा सहभागी भए पनि सफलता भने हात पार्न नसकेको उनले बताए। २०१८ मा राजधानी लिस्बनमा भएको अन्तरराष्ट्रिय खुला कराँते प्रतियोगितामा कास्यपदक हात पार्न सफल भएको घर्तीमगरले बताए। 

खेलमार्फत राष्ट्रलाई योगदान पुर्याएका खेलाडीलाई विदेशिनबाट रोक्नका लागि सरकारले विशेष खालको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। विदेशमा रहेका अब्बल नेपाली खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिताका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको धारणा छ। ‘स्वदेशमा रहे पनि विदेशमा रहे पनि खेलमार्फत विश्वमाझ नेपाल र नेपालीको गौरव बढाउने मेरो उद्देश्य हो’, घर्तीमगर बताउँछन्। भविष्यमा विश्वकै उत्कृष्ट खेलाडी बन्ने र अन्तर्राष्ट्रियस्तरको रेफ्री बन्ने आफ्नो लक्ष्य रहेको घर्तीमगरले बताए। 

अमेरिकामा हुने प्रतियोगितामा सहभागी हुने 

यसैबीच घर्तीमगरले अमेरिकामा हुने कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएका छन्। यही सेप्टेम्बर २२ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने अमेरिका कराँते कपमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने भएका हुन्। तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा ४० देशका कराँते खेलाडीले भाग लिनेछन्। 

घर्तीमगरले ६७ किलो तौल समूहमा कुमेटी र एकल कातातर्फ प्रतिस्पर्धा गर्नेछन्। घर्तीमगरले ‘अमेरिका कराँते कप’ जित्ने विश्वास पनि व्यक्त गरे। प्रतिस्पर्धामा सहभागिता जनाउनका लागि घर्तीमगर सेप्टेम्बर २१ मा न्यूयोर्क प्रस्थान गर्नेछन्।

भरत प्रधान/रासस

प्रकाशित: २६ भाद्र २०७६ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App