१६ चैत्र २०८० शुक्रबार
खेल

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी

पेरिस (एएफपी)– कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ४ गोलप्रेरित पोर्चुगलले युरोपियन च्याम्पियनसिप २०२० को छनोटमा लिथवेनियामाथि सानदार जित हात पारेको छ।

समूह ‘बी’ अन्तर्गत मंगलबार भएको खेलमा पोर्चुगलले लिथवेनियालाई ५–१ ले हराएको हो। पोर्चुगलका कप्तान रोनाल्डोको यो राष्ट्रिय टोलीबाट १ सय ६०औं खेल हो र उनको टोलीले छनोट चरणमा खराब सुरुआतका बावजुद पनि पछिल्लो २ खेलमा लगातार दुई जितका साथ अघिल्लो चरण प्रवेशका लागि बलियो दाबेदारी प्रस्तुत गरेको हो।

पोर्चुगलको जारी छनोट चरणमा यो मात्र दोस्रो जित हो। यसअघि पोर्चुगलले शनिबार भएको सर्बियालाई ४–२ ले हराएको थियो भने मार्च २३ मा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको पोर्चुगल मार्च २६ मा सर्बियासँग १–१ को बराबरीमा रोकिएको थियो।

यस जितपछि ४ खेल समाप्तिमा २ जित र २ बराबरीको नतिजा ल्याएको पोर्चुगल ८ अंकका साथ समूह ‘बी’ को दोस्रो स्थानमा यथावत् छ। एक खेल बढी खेलेको युक्रेन १३ अंकका साथ शीर्ष स्थानमा छ।

‘हामी उत्कृष्ट टोली हाैं र उत्कृष्ट प्रदर्शन गर्दा सहज जित सम्भव भयो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘सर्बियाविरुद्धको खेलपछि हामी जितको लयमा छाैं र यसले हाम्रो छनोटको सम्भावना बलियो पारेको छ।’

खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीको सदुपयोग गर्दै  पोर्चुगललाई अग्रता दिलाएका थिए। तर २८औं मिनेटमा लिथवेनिया खेलमा फर्किएको थियो। लिथवेनियाका भेटाउटस आन्द्रिसकेभिसिएसले गोल गरेका थिए।

६१औं मिनेटमा रोनाल्डोले बललाई जाली चुमाउँदै पोर्चुगललाई  खेलमा अघि बढाएका थिए। त्यसको ४ मिनेटपछि नै रोनाल्डोले ह्याट्रिक पूरा गर्दै पोर्चुगलको अग्रता ३–१ मा पु-याएका थिए। ७६औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौथो गोल पूरा गरे भने खेलको अन्तिम मिनेटमा विलियम कानभालोले बललाई पोस्टको दिशा दिँदै पोर्चुगलको रबाफिलो जित पक्का गरेका थिए।

त्यस्तै  समूह ‘ए’ अन्तर्गत  मंगलबारै इङ्ल्यान्डले जितको लयलाई चौथो खेलसम्म निरन्तरता दिने क्रममा कोसोभोमाथि ५–३ को जित निकालेको छ। इङ्ल्यान्डको जितमा जाडोन सान्चोले २ तथा रहिम स्टर्लिङ र ह्यारी केनले समान एक गोल गरेका थिए भने कोसोभोका मर्घिम भोभाडाले एक आत्मघाती गोल गरेका थिए। कोसोकोका भालोन बरिसाले २ र भेडाड माउरिकीले एक गोल गरे पनि टोलीको हार भने टार्न सकेन। केनले पेनाल्टीको अवसर खेर फाल्दा इङ्ल्यान्डले जित अन्तर बढाउने अवसर गुमाएको थियो।

यस जितपछि समूह ‘ए’ मा ४ खेलमा १२ अंक जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको चेक गणतन्त्र ९ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै मंगलबारै भएका अन्य खेलमा विश्व विजेता फ्रान्सले एन्डोरालाई ३–० ले हरायो।

प्रकाशित: २६ भाद्र २०७६ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App