६ वैशाख २०८१ बिहीबार
खेल

गुरुङले जिते लिगलिगकोट-म्याराथुन

पहिलो भएका भीमबहादुर गुरुङ । तस्बिरः नागरिक

गोरखा– तीन घण्टा १७ मिनेट दुई सेकेन्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै बुधबार गोरखामा भएको म्याराथुन दौडमा भीमबहादुर गुरुङ विजयी भएका छन्। ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथुन दौड २०७६’ मा सहभागी एक सय १३ जनालाई पछि पार्दै गोरखाको आरुघाट गाउँपालिका थुमी घर भई हाल काठमाडौं बालाजु बस्दै आएका गुरुङ उपाधी उचाल्न सफल भए। उनले नगद एक लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन्।

नेपाली सेनाको जागिर छाडेर केही महिनादेखि विदेशमा रहेका गुरुङ १० दिन अघि नेपाल आएर म्याराथुनमा सहभागी बनेका हुन्। ‘राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ‘गोल्ड मेडल’ थुप्रै जितेको छु’ विजयी भएपछि गुरुङले भने ‘जागिर खाएर दौडलाई समय दिन नसकेपछि छाडेर विदेश गएँ।’ विदेशीको सहयोगमा तालिम लिईरहको र अन्नपूर्णमा हुने प्रतियोगिताको तयारीका लागि लागेको बताउँछन्। पहाडी भुगोलमा नयाँ ठाउँमा दौड्दा प्रतिस्पर्धा कडा हुन सक्ने भन्ने अनुमान गरेका उनलाई गोरखाको म्यनराथुन मार्ग भने ओरालो, उकालो हुँदै गर्न पाउँदा निकै रमणिय लागेको बताए।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेना रणसिंह दल गणको आयोजनामा भएको प्रतियोगितामा तीन घण्टा १७ मिनेट ४५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रुकुमका दुर्गाराज बुढा दोस्रो भए। उनले नगद एक लाख पुरस्कार पाएका छन्। ४३ सेकेन्डको अन्तरले उनी उपविजेता भए। रणबम दल गणका सविन तामाङले तीन घण्टा ३० मिनेट दुई सकेन्डमा दौड पुरा गर्दै तेस्रो भए। उनले नगद ७५ हजार पाएका छन्। चौथो र पाँचौ भएका सुरेन्द्र चापागाई, याङदेव राईलाई क्रमश ५० र ३५ हजार पुरस्कार प्रदान गरियो। १० जनाभित्र पर्न सफल अन्य पाँच जनालाई ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ।

बिहान सात बजेर ११ मिनेटमा पालुङटारको लिगलिगकोटमा सुरु भई सिरानचोकोट हुँदै गोरखा दरवारसम्म दौड भएको हो। नेपाली सेना, प्रहरी सशस्त्रमा कार्यरत, राष्ट्रिय धावकहरु र सर्वसाधारणले पनि प्रतियोगितामा भाग लिएका थिए। ‘इतिहासको प्रर्वद्धन गर्न एकिकृत ट्रेलको रुपमा विकास गर्न दौड आयोजना गरिएको हो’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गरिएको म्याराथुन दौडमा सहभागी धावकहरुबाट यहाँको प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा आयोजक स्थानीय तहहरुको छ। ‘दौडेर राजा हुने परम्पराको थालनी भएको लिगलिगकोटबाट दौड गर्दा इतिहासको जगेर्ना हुन्छ, यो विश्वकै नौलो र ऐतिहासिक थियो’ पालुङटार नगरपालिकाका प्रमुख दिपक कंडेलले भने। विसं १६१५ मा राजा द्रव्य शाहले दौड जितेर लिगलिगमा शासन गरेको इतिहास छ। गोरखा राज्यको सिमानालाई रक्षा गर्न भन्दै राजाले तत्कालिन समयमा सिरानचोककोट प्रयोग गरिएको थियो।

‘यो प्रतियोगिता अब वर्षेनी हुनेछ, भदौ २५ गते द्रव्य शाहले राज्यभिषेक गरेको दिन हो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘ऐतिहासिक र धार्मिक ठाउँको प्रचारप्रसारसँगै प्रर्वद्धन गर्न म्याराथुनको रुट पनि सोही अनुसार बनाएका हौँ।’ म्याराथुनले राष्ट्रिय स्तरका खेलाडीलाई अवसर प्रदान गर्नुका साथै गोरखाको पनि प्रचारप्रसारमा मद्धत पुग्ने उनले बताए। ‘दौडमा मात्रै सिमित छैन्, यसले पालुङटार, सिरानचोक हुँदै नेपाल एकिकरणको उद्गम थलो गोरखाको महत्व झल्काउनेछ’ नगरप्रमुख पन्तले भने। इतिहास बोकेको गोरखाको ठाउँहरुको महत्व कायम राख्न तीन वटै तहलाई जोड्ने गरी म्याराथुन गरिएको प्रमुखहरु बताउँछन्। विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, नेपाली सेनाका सहायक रथी सागर थापा र स्थानीय तहका प्रमुखहरुले पुरस्कार वितरण गरेका थिए। गोरखामा अहिलेसम्मकै धेरै पुरस्कार राशी भएको म्याराथुन हो। हरेक वर्ष विजया दशमीको अवसरमा पालुङटार नगरपालिका र स्थानीय संघसंस्थाको आयोजनामा लिगलिगे (राजा छान्ने) दौड हुँदै आएको छ।

प्रकाशित: २५ भाद्र २०७६ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App