८ वैशाख २०८१ शनिबार
खेल

नेपालको सान्त्वना जित

काठमाडौं – नेपालले श्रीलंकामा जारी यु–१९ एसिया कपमा सान्त्वना जित हात पारेको छ। मंगलबार भएको समूहको अन्तिम खेलमा नेपालले युएईमाथि १ सय ६० रनको रबाफिलो जित हात पारेको छ।

नेपालले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा १ सय २५ रन मात्र जोड्न सक्यो। लगातार २ हारसँगै दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। नेपाल र युएई दुवै टोली क्रमशः श्रीलंका र बंगलादेशसँग निराश भएका थिए।

युएईका अरविन्दले सर्वाधिक २८ र अलिसान सराफुले २१ रन जोडे। अन्य कुनेै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका सागर ढकालले ३ तथा पवन सर्राफ, रासिद खान र सूर्य तामाङले समान २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको सम्मानजनक योगफल तयार पारेको थियो। यद्यपि नेपालले गतिलो सुरुआत भने गर्न सकेन। पहिलो ओभरको पहिलो बलमा ओपनर रित गौतमलाई गुमाएको नेपालले ८ रन जोड्दा अर्का ओपनर पवन सर्राफलाई गुमाएको थियो।

८–० को स्थितिमा ब्याटिङका लागि आएका कप्तान रोहितकुमार पौडेलले आसिफ शेखसँग तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्दै अघि बढाएका थिए। आसिफले ५३ बलमा ८ चौकाको मद्दतमा ४५ रन जोडे।

रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए। रोहितले ८४ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६७ रन जोडे भने सन्दीपले ५३ बलमा ६ चौकाको मद्दतमा ४८ रनको योगदान गरे। रोहित पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका भीम सार्कीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भीमले मात्र १ रन मात्र जोडे।

रासिद खान र कमलसिंह ऐरीले आठांै विकेटका लागि ७० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए। ४४ बल खेलेका रासिदले ५ चौका र १ छक्काको मद्दतमा ४४ रन  नै जोड्दा आक्रामक ब्याटिङ गरेका कमलले २६ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४१ रन जोडे। कुशल मल्लले २२ बलमा १ चौका र २ छक्काको मद्दतमा २२ रनको योगदान गरेका थिए। नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

प्रकाशित: २५ भाद्र २०७६ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App