२३ असार २०७७ मंगलबार
खेल

एन्ड्रिस्क्युकी प्रेरणा विलियम्स

न्युयोर्क – बियन्सा एन्ड्रिस्क्युलाई यस्तो हुन्छ भन्ने थाहा थियो, किनभने उनी सेरेना विलियम्सका बारेमा राम्रोसँग जानकार थिइन्। एन्ड्रिस्क्यु सेरेनालाई हेर्थिन् र उनको जस्तै सफलता चुमेको सपना देख्ने गर्थिन्। एन्ड्रिस्क्युलाई विलियम्स चुप बस्दिनन् र उनलाई हराउन कठिन छ भन्ने पनि थाहा थियो। एन्ड्रिस्क्युलाई शनिबार कोर्टमा उत्रँदा यस्तो प्रदर्शन र ठूला सटको आवश्यकता थियो। जुन विलियम्सले आजसम्म हात पारेको सफलतामा गर्दै आएकी थिइन्।

क्यानाडाकी १९ वर्षे एन्ड्रिस्क्युले शनिबार युएस ओपनको विलियम्म्सलाई ६–३, ७–५ ले निराश पार्दै पहिलो ग्रान्ड स्लाम जित्दा त्यसको ठीक विपरीत विलियम्स भने २४औं ग्रान्ड स्लाम उपाधिको कीर्तिमान बराबरी गर्नबाट पुनः एक पटक निराश भएकी थिइन्।

‘म यो दाबी गर्न सक्छु। सेरेना विलियम्सलाई प्रेरणाको रूपमा हेर्ने म मात्र एक खेलाडी होइन। उनी मजस्ता थुप्रै युवा खेलाडीको मार्गदर्शक हुन्। उनी वास्तवमै च्याम्पियन हुन् र दयालु पनि। उनी लकर रूपमा आइन् र मलाई केही सुझाव दिइन् जुन मेरा लागि निकै फलदायी बन्नेछ,’ एन्ड्रिस्क्युले ३७ वर्षीया विलियम्सको बारेमा भनिन्, ‘मैले विलियम्सजस्तै बन्न व्यग्र प्रतीक्षा गरेकी छु । कसलाई थाहा छ ? सम्भवतः, म उनीभन्दा अझै राम्रो खेलाडी बन्न सक्छु।’

सन् १९६८ बाट सुरु भएको युएस ओपन इतिहासमा एन्ड्रिस्क्यु डेब्यु प्रतियोगितामै विजेता बन्ने पहिलो महिला खेलाडी हुन्। उनी गत वर्ष भने युएस ओपनको छनोटमा पहिलो चरणबाटै निराश भएकी थिइन्। त्यस्तै उनी मोनिका सेलेसपछि चौथो ग्रान्ड स्लाम सहभागितामै उपाधि चुम्ने पहिलो खेलाडी हुन्। ग्रान्ड स्लामको एकलमा उपाधि जित्ने उनी पहिलो क्यानेडियन खेलाडीसमेत बनिन्।

विलियम्स भने युएस ओपनको फाइनलमा निराश भएको यो लगातार दोस्रो पटक हो। गत वर्ष विलियम्स जापानकी नाओमी ओसाकासँग पराजित भएकी थिइन्। यस क्रममा विलियम्स चियर अम्पायरसँग विवादमा समेत उत्रिएकी थिइन्। विलियम्सले २३ ग्रान्ड स्लाम जितेकी छन्। मार्गरेट कोर्टको नाममा सर्वाधिक २४औं ग्रान्ड स्लामको कीर्तिमान छ।

‘म कीर्तिमान मात्र पछ्याइरहेकी छैन। म ग्रान्ड स्लाम मात्र जित्न चाहन्छु। हारपछिको स्थिति निराश हुन्छ भन्ने सबैलाई थाहा छ,’ विलियम्सले भनिन्, ‘मैले आज स्वाभाविक लयको प्रदर्शन गर्न सकिनँ। अहिले मैले भन्न सक्ने यही हो।’ यस पटक सेरेनाको सातौं पटक युएस ओपन जित्ने लक्ष्य पूरा सकेन।

‘सेरेनालाई खेलअघि नै च्याम्पियनको रूपमा हेरिएको थियो र त्यो च्याम्पियनको छाप पनि हो। जुन उनले आफ्नो खेल जीवनमा कयाैं पटक गरेकी छिन्,’ एन्ड्रिस्क्युले भनिन् ,‘तर म आफ्नो स्वाभाविक लयमै रहें। त्यो नै जितको प्रमुख कारण बन्यो।’

विश्व नम्बर आठ विलियम्सले सन् २०१७ मा आमा बनेपछि ग्रान्ड स्लाम जित्नै सकेकी छैनन्। त्यसैले उनी रेकर्डनजिक पुगेर पनि लामो समयदेखि भेट्टाउन असफल रहँदै आएकी छन्। सेरेनाले घरेलु मैदानमा हुने युएस ओपनको उपाधि सन् २०१४ पछि उचाल्न सकेकी छैनन्।  

सन् १९६८ बाट सुरु भएको युएस ओपन इतिहासमा एन्ड्रिस्क्यु डेब्यु प्रतियोगितामै विजेता बन्ने पहिलो महिला खेलाडी हुन्।

प्रकाशित: २४ भाद्र २०७६ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App