८ वैशाख २०८१ शनिबार
खेल

उज्ज्वल तारा दौड हुने

काठमाडौं – कागेश्वरी मनोहरा वडा नं ९ उज्ज्वल नगर, काँडाघारीस्थित उज्ज्वल तारा स्कुलको आयोजनामा आगामी असोज ११ गते ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ हुने भएको छ। ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौडलाई कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाको रूपमा लिएर आयोजना गर्न लागेको आयोजकले बताएका छन् भने नगरपालिकाले पनि यसका लागि आवश्यक पर्ने सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ।

विद्यालयमा शनिबार आयोजित छलफल कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका पदाधिकारी, स्थानीय क्लबका पदाधिकारी तथा खेलाडीहरू, सुरक्षाकर्मी, विभिन्न विद्यालय र टोल सुधार समितिका पदाधिकारी, स्थानीय जागरण महिला अभियानका पदाधिकारी, अभिभावक र सञ्चारकर्मीको सहभागिता थियो।

विद्यार्थीदेखि ६० वर्ष उमेर नाघेका महिला र पुरुषसमेतको सहभागिता रहने सो दौड आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र दशैंको शुभकामना आदानप्रदान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको विद्यालयका संस्थापक सल्लाहकार एवम् कार्यक्रम संयोजक विष्णु कार्कीले बताए। विद्यालयले गत २०७४ असोजदेखि सो दौड आयोजना गर्दै आएको हो।

महिला र केटाकेटीका लागि ३ किलोमिटर, पुरुष तथा बहालवाला र सेवानिवृत्त सुरक्षाकर्मीका लागि ५ किलोमिटर दूरी दौडको साथै ६० वर्षको उमेरमाथिका महिला, पुरुषका लागि ३ किलोमिटर हिँड्ने व्यवस्था मिलाइएको र यसका लागि १५ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने धावकका लागि पदक, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको पनि संयोजक कार्कीले बताए। दौडका विविध पक्षबारे विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले जानकारी गराइन्।
 
 

प्रकाशित: ८ भाद्र २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App