coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

किर्गिस्तान र उज्बेकिस्तानबीच फाइनल प्रतिस्पर्धा

काठमाडौं – नेपालमा जारी एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि किर्गिस्तान र उज्बेकिस्तान भिड्ने भएका छन्। लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा भएको पहिलो सेमिफाइनलमा साबिक विजेता तुर्कमेनिस्तानलाई हराउँदै किर्गिस्तान फाइलन प्रवेश गरेको हो।

यस्तै दिनको दोस्रो सेमिफाइनलमा उज्बेकिस्तानले सार्क टोली माल्दिभ्सलाई हराउँदै किर्गिस्तानसँगको भेट पक्का गरेको हो। फाइनल प्रवेशका लागि किर्गिस्तानले  तुर्कमेनिस्तानमाथि पहिलो र दोस्रो सेटमा क्रमश २५–१७, २५–१८ को सहज जित निकालेको थियो। लगातारको सेटमा जित निकालेको किर्गिस्तानले तेस्रो सेट २५–२२ ले आफ्नो बनाउँदै साबिक विजेतामाथि सहज जित निकालेको हो।

अब किर्गिस्तानले फाइनलमा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा रहेको किर्गिस्तान आयोजक नेपाल र माल्दिभ्सलाई हराउँदै समूहविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो। प्रतियोगिताअन्तर्गत बिहीबारै सम्पन्न दोस्रो सेमिफाइनलमा उज्बेकिस्तानले माल्दिभ्सलाई  पनि ३–० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो। यससँगै उज्बेकिस्तानले जारी प्रतियोगितामा अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो। उज्बेकिस्तान सम्पन्न सबै खेलमा सोझो सेटमा जित निकाल्दै उपाधिनजिक पुगेको हो। समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको माल्दिभ्सविरुद्ध उज्बेकिस्तानले पहिलो सेट २५–२० ले आफ्नो बनाएको थियो। सुरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा दोस्रो सेट माल्दिभ्सले उज्बेकिस्तानलाई १९–२५ ले सुम्पिएको थियो। लगातार दुई सेटमा जित निकालेको उज्बेकिस्तानले तेस्रो सेट पनि २५–२१ ले आफ्नो बनाउँदै उपाधि भिडन्त पक्का गरेको हो।

यसअघि उज्बेकिस्तानले समूह ‘बी’ मा रहेका टोली तुर्कमेनिस्तान, बंगलादेश र अफगानिस्तानलाई सोझो सेटमा पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा विजयी भएको उज्बेकिस्तानले उपाधिका लागि किर्गिस्तानसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

सात देशले सहभागिता जनाएको प्रतियोगितामा सेमिफाइनलमा पराजित टोलीद्वय माल्दिभ्स र तुर्कमेनिस्तानले शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् भने पाँचांै स्थानका लागि नेपालले अफगानिस्तानसँग खेल्नेछ। प्रतियोगिताअघि सम्पन्न दुई मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै शृंखला आफ्नो बनाएको थियो।

प्रकाशित: ६ भाद्र २०७६ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App