१९ असार २०७७ शुक्रबार
खेल

चीनमा निमेशलाई तेस्रो स्वर्ण

दाैड पूरा गर्दै नेपाली धावक निमेश गुरुङ।

काठमाडौं – चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्।

सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीनवटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए। निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जिते। उनले चीन र भारतका खेलाडीलाई पछि पारेका थिए। दोस्रो भएका रेलवे पुलिस चीनका जेनुफेङ दाइले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए।

भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर कांस्य  पदक हात पारे। उनले गत आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा पनि स्वर्ण जितेका थिए। सो प्रतिस्पर्धामा उनले भारत र चीनका खेलाडीलाई पछि पारेका थिए। त्यसअघि उनले हाफ म्याराथनमा १ घण्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरूको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो। एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेशले सन् २०१७ मा अमेरिकाको लस एन्जल्समा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए।

संखुवासभामा जन्मिएका निमेश सिंगापुरका नाम चलेका धावकमा पर्छन्। बिनाप्रशिक्षकका धावक निमेशले सन् २०१३ देखि दौडिन थालेका हुन्। उनले सन् २०१४ मा ५ हजार मिटर दौडमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।

सिंगापुर हुने स्थानीय प्रतियोगितामा हरेक साता जस्तो पदक जित्ने निमेशले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्। यस वर्ष उनले विभिन्न खेलका खेलाडीलाई पछि पार्दै सिंगापुर पुलिसको पिएसए उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए।

प्रकाशित: २ भाद्र २०७६ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App