काठमाडौं – दुई सेटमा पछि परे पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्ताविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा संघर्षपूर्ण जित निकालेको छ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बिहीबार भएको खेलमा नेपालले ३–२ सेटमा जित निकाल्दै दुई मैत्रीपूर्ण खेलमा क्लिन स्विप गरेको हो। दुवै मैत्रीपूर्ण खेलमा निकालेको जितसँगै नेपालले भदौ २ देखि ७ सम्म आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने संकेत देखाएको छ।
नियमित खेलाडी कप्तान इम रानामगर, धनबहादुर भट्ट र ईश्वर थापा मगरबिना मैदान उत्रिएको नेपालले सुरुआती सेट गुमाएको थियो। पहिलो सेटमा तालमेलको अभाव देखिएको नेपालले दोस्रो सेटमा पनि लयमा फर्किन असफल भएको थियो। नियमित तीन खेलाडीबिना मैदान उत्रिएको नेपालले पहिलो सेट २२–२५ ले गुमाउँदा दोस्रो सेटमा पनि राम्रो प्रदर्शन गर्न सकेन। १५–२५ ले दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेटमा भने सन्तुलित प्रदर्शन गर्न सफल भयो। २६–२४ को रोमाञ्चक जित निकाल्दै मनोबल बटुलेको नेपालले चौथो सेटमा पनि २६–२४ ले कम ब्याक ग¥यो। लगातार दुई सेट गुमाए पनि बाँकी सेटमा फर्किएको नेपालले अन्तिम तथा निर्णयक सेटमा १५–१२ को जित निकाल्दै दुई मैत्रीपूर्ण खेलमा क्लिन स्विप गर्न सफल भएको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीका स्पाइकर राजेन्द्र विष्टले उत्कृष्ट प्रदर्शन गरे। बिहीबार सर्वाधिक स्कोरको मद्दतमा नेपालले खेलमा पुनरागमन गर्न सफल भएको हो। पछि परेको अवस्थामा पनि पुनरागमन गरेको नेपालको खेललाई प्रशंसा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान एबिङले आउँदै गरेको प्रतियोगितामा नेपालले राम्रो गर्न सक्ने विश्वास व्यक्त गरे।
‘पछि परेको अवस्थामा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलमा फर्किन सफल भयो। हामीले हाम्रो स्वाभाविक खेल देखाउन सफल भयौं। सन्तुलित भएर खेल खेल्न सक्यौं भने प्रतियोगिताका लागि हाम्रो टोली तयार छ,’ प्रशिक्षक एबिङले भने, ‘मैत्रीपूर्ण खेलबाट नेपाली टोली पास भएको छ। सबै खेलाडी राम्रो र उत्कृष्ट खेल्न सक्छन्। आजको खेलमा म सन्तुष्ट छु। रिसिभ, ब्लक र सर्भिसमा आज सुधार देखियो। नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गरे।’
यतिको प्रदर्शनले आउँदै गरेको प्रतियोगिताका लागि पुग्छ त भन्ने प्रश्नमा प्रशिक्षक एबिङले स्वाभाविक खेल खेलेको खण्डमा सहभागिता उपलब्धिमूलक हुने बताए।
‘मैत्रीपूर्ण खेलले नेपालको स्तर देखाएको छ। उनीहरूले देखाएको प्रदर्शनका आधारमा हामी प्रतियोगिता खेल्न तयार छांै भन्ने संकेत दिन्छ,’ प्रशिक्षक एबिङले थपे,
‘केही सामान्य कमीकमजोरी रहेका छन्। एक साताको अभ्यासमा हामीले सुधार गर्नेछांै। अझै रिसिभ र ब्लकमा अभ्यासको कमी छ।’ चोटका कारण आराम गरेका इमले दर्शक दीर्घामा बसेर दोस्रो मैत्रीपूर्ण खेल हेरेका थिए। पहिलो मैत्रीपूर्ण खेलको चौथो सेटमा पिडांैलाको चोट भोग्दै कोर्ट बाहिरिएको नेपाली टोलीका कप्तान इमले पनि प्रशिक्षकले जस्तै दोस्रो मैत्रीपूर्ण खेलमा सुधार भएको प्रतिक्रिया दिए।
‘पछि परेको अवस्थामा पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्किन सफल भयो। आजको खेलमा ब्लकले काम ग¥यो। हिजोभन्दा ब्लकमा सुधार देखियो। सँगै नयाँ खेलाडीले पनि राम्रो खेले,’ कप्तान इमले थपे, ‘घरेलु कोर्टमा आयोजना हुने प्रतियोगितामा नेपालले फाइदा लिनै पर्छ। केही कमीकमजोरी छन्। एक साताको अभ्यासमा हामीले हाम्रो कमीकमजोरीलाई हटाउँदै प्रतियोगिताका लागि तयार हुनुपर्छ।’
बिहीबारको खेलमा नियमित कप्तान इमलाई टोलीबाट आराम लिँदा धनबहादुर भट्टले कप्तानको जिम्मेवारी सम्हालेका थिए। तर धन कुनै पनि सेटमा कोर्टमा फर्किएनन्। बुधबार भएको खेलमा धन पनि सामान्य घाइते भएका थिए। नेपालसहित सात देशले सहभागिता जनाउने प्रतियोगितामा साबिक विजेता तुर्कमिनिस्तान, माल्दिभ्स, उज्बेकिस्तान, किर्गिस्तान, अफगानिस्तान र बंगलादेशले सहभागिता जनाउँदै छन्।दुवै मैत्रीपूर्ण खेलमा निकालेको जितसँगै नेपालले भदौ २ देखि ७ सम्म आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने संकेत देखाएको छ।
प्रकाशित: ३१ श्रावण २०७६ ०२:५१ शुक्रबार