८ वैशाख २०८१ शनिबार
खेल

बजेट अभावले तयारीमा समस्या

पोखरा रंगशालाभित्रको फुटबल मैदानलाई प्राकृतिक बनाउन मैदानमा बिछ्याइएको गिटी निकाल्दै कामदार। फाइल तस्बिर

पोखरा - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलका पूर्वाधार अझै तयार भइसकेका छैनन्। पूर्वाधार छन्, व्यवस्थित छैनन्। व्यवस्थित बनाउन बजेट छैन। फास्ट ट्य्राकबाट काम गरे पनि टुंग्याउन समय अभाव हुने सम्भावना छ। बजेट कहिले आउँछ टुंगो छैन। बजेटले नै पूर्वाधार निर्माण अड्किएको छ।

रंगशालाभित्रको पूर्वाधारदेखि बाहिर बनाउनुपर्ने पूर्वाधारका लागि बजेट नआउँदा काम गर्न नसकिएको स्वयं सम्बन्धित खेलका पदाधिकारी बताउँछन्। बजेटकै अभावमा पूर्वाधार तयार हुनेमा शंका उत्पन्न हुन थालिसकेको छ। त्यसको प्रत्यक्ष असर आसन्न साग खेलकुदलाई पर्नेछ।

क्रिकेटको पहिलो प्राथमिकता विकेट हो। विकेटपछि मात्र ३० यार्ड हुँदै बाउन्ड्री हो। बाउन्ड्री सम्याउनुभन्दा विकेट बनाउन जरुरी छ। विकेट बनाउने पैसा छैन, बजेट आएको छैन।’

पोखरामा महिला फुटबलसँगै ह्यान्डबल, आर्चरी, भारोत्तोलन, भलिबल, प्याराग्लाइडिङ र ट्रायथोलन आयोजना गरिनेछ। महिला क्रिकेटको पनि चर्चा छ। ती खेलका पूर्वाधार  तयार हुन सकेका छैनन्। ह्यान्डबल र भलिबल पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलभित्र खेलाइने तय गरिएको छ। हलमा पार्केटिङ वा फ्लोरिङ गरिएको छैन। साउन्ड सिस्टम व्यवस्थित छैन। हलमाथिको फल्स सिलिङ हावाले उडाएको छ। त्यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
ह्यान्डबल मैदानका लागि ५० लाख रुपैयाँ छुट्याएको छ। ह्यान्डबल संघले फ्लोरिङ गर्ने योजना बनाए पनि बजेट आइसकेको छैन। ह्यान्डबलका लागि रंगशालाभित्र बनिरहेको ब्याडमिन्टन कभर्डहलमा पनि फ्लोरिङ गर्नुपर्ने खाँचो छ। ब्याडमिन्टनको हल सागमा सहभागी हुने देशका खेलाडीलाई प्रशिक्षणका लागि उपलब्ध गराउने योजनासहित फ्लोरिङ गर्नुपर्ने देखिन्छ। भलिबल प्रशिक्षणका लागि पनि समस्या छ।

त्यसै गरी, भारोत्तोलन खेल पोखराको सभागृह हलमा आयोजना गर्ने गृहकार्य गर्दै पूर्वाधारका लागि नेपाल भारोत्तोलन संघले जिल्ला संघलाई सुम्पिएको छ। जिल्ला संघले सभागृह हलको अध्ययन गर्दै स्टेजमाथि प्लेटफर्म बनाउनुपर्ने खाँचो औंल्याएको छ। सिट बनाउनुपर्नेछ। रंगरोगनदेखि कोठाको सरसफाइ तथा शौचालय व्यवस्थित गर्नुपर्नेछ। ‘बजेट आएको छैन, बजेट नआउँदा समस्या बढेको छ,’ कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले भने, ‘थोरै बजेटमा काम सक्ने गरी काम गर्नुपर्ने खाँचो छ।’

बडगामीले सभागृह हललाई खेलस्थल बनाउन करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेका छन्। यद्यपि, लागतका लागि प्राविधिक टोलीले अध्ययन गरिरहेको छ। हललाई आगामी दिनमा पनि भारोत्तोलनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजन गर्न मिल्ने गरी बनाउने योजना छ। ‘सभागृह हलसँगै रानीपौवाको एसआरकेसी क्याटरिङको हलसमेत छनोट गरिएको छ,’ बडगामीले भने, ‘त्यहाँ स्टेज बनाएर प्लेटफर्म राख्न सकिन्छ। कोठाहरू व्यवस्थित गर्नुपर्ने हुन्छ।’
आर्चरीको पीडा पनि उस्तै छ। आर्चरीको मैदान निर्माणका लागि ९० लाख रुपैयाँ बजेट मागिएको छ। यद्यपि, बजेट आएको छैन। बजेट नआउँदा मैदान लेभलिङबाहेक अरू केही काम गरिएके छैन।

‘ग्राउन्ड लेभलिङ गरिसकिएको छ, तर हरियो बनाउन पाइएन भने यसको अर्थ छैन,’ बडगामीले भने, ‘त्यसैले बजेट आइदिएको भए मैदान ग्रिनेरी बनाउन हुन्थ्यो।’ उनले बजेट आएको भए दुई महिनाभित्र काम सक्ने बताए।

महिला क्रिकेटको चर्चा पनि छ। क्रिकेटका लागि मैदानमा माटो हालेर बाउन्ड्री फराकिलो बनाउने काम गरिएको छ। डोजरको पैसा कसले तिर्ने भन्ने यकिन छैन। कास्की जिल्ला क्रिकेट संघले क्रिकेटका लागि विकेट बनाउनुपर्नेमा जोड दिँदै आएको छ। विकेट बनाउने ध्याउन्नप्रति कसैको ध्यान गएको छैन।
‘क्रिकेटको पहिलो प्राथमिकता विकेट हो। विकेटपछि मात्र ३० यार्ड हुँदै बाउन्ड्री हो,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘बाउन्ड्री सम्याउनुभन्दा विकेट बनाउन जरुरी छ। विकेट बनाउने पैसा छैन, बजेट आएको छैन।’

यस पटकको सागमा पहिलोपटक आयोजना हुने प्याराग्लाइडिङका लागि व्यवस्थित उडान र अवतरणस्थल छैन। उडानस्थलको टुंगो लगाउन सम्भावित अध्ययनका लागि टोली खटिएको थियो। टोलीले सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा जोड दिँदै आएको छ। एक्युरेसी र क्रसकन्ट्री दुई विधाको छुट्टै स्पट (स्थल) हुनुपर्ने प्रावधान छ। तर, पोखरामा त्यस्तो स्थल नै छैन।

२० वर्षे इतिहास बोकेको प्याराग्लाइडिङ व्यावसायिकता बढ्दै गए पनि अन्तर्राष्ट्रियस्तरको उडान र अवतरणस्थल निर्माण गर्न प्याराग्लाइडिङको संस्था र महानगरपालिका चुकेका छन्। चपाईको चौतारामा सार्वजनिक जग्गा उडानस्थल बनाउने अध्ययन गरिएको थियो, तर त्यहाँको विद्युत्को हाइटेन्सन लाइन हटाउनुपर्ने हुन्छ।

‘हाइटेन्सन लाइन हटाउन नसकिने कुरा आएपछि सराङकोटकै उडानस्थललाई व्यवस्थित गर्नेतर्फ ध्यान दिएका छौं,’ प्याराग्लाइडिङ  खेलका प्रशिक्षक योगेश भट्टराईले भने, ‘उडानस्थल व्यवस्थित गर्न ५० लाख रुपैयाँ खर्च हुन्छ।’ उनले सराङकोट वा कास्कीकोटको तोरपानीको उडानस्थललाई व्यवस्थित बनाई चेन्जिङ रुम तथा शौचालय निर्माण गर्नुपर्ने बताए।

त्यसै गरी ट्रायथोलनका लागि पनि लोकेसन छनोट भएको छैन। यस खेलमा पौडीसँगै साइक्लिङ र दौडका लागि छुट्टै ट्य्राक चाहिन्छ। साग खेलकुदलाई मध्यनजर गर्दै पूर्वाधार तयारीका लागि आइतबार राष्ट्रिय खेलकुद परिषद्मा बैठक बस्ने भएको छ। बैठकका लागि राष्ट्रिय खेलकुद परिषद्का बोर्डसदस्य राजेश गुरुङसहित पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा प्राविधिक उपस्थित रहनेछन्।

‘आइतबारको बैठकपछि बजेट निकासा हुने विश्वास छ,’ बोर्ड सदस्य गुरुङले भने, ‘बजेट परिषद्मार्फत मन्त्रालयसँग मागेका छौं।’ उनले बजेट आएको अवस्थामा फास्ट ट्य्राकबाटै काम धमाधम गरिने भन्दै बजेटले नै पूर्वाधार निर्माणको काम नरोकिने स्पष्ट पारे।

प्रकाशित: ३० श्रावण २०७६ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App