काठमाडौं – ओमानमा हुने पाँच राष्ट्रको ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले सहभागिता जनाउने पक्का भएको छ । ओमानले आयोजना गर्ने शृंखलामा आयोजकसहित नेपाल, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्यान्ड्स र आयरल्यान्डले सहभागिता जनाउने पक्का भएको नेपाली क्रिकेट टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
आइसिसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट अगाडि आयोजना हुन लागेको प्रतियोगिता असोज १८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । ग्लोबल छनोटका लागि भनेर ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने तय भएको थियो ।
नेपाली टोली विश्वकप छनोटअन्तर्गत ग्लोबल क्वालिफायर पुग्न असफल भएपछि उक्त शृंखलामा सहभागिता जनाउने या नजनाउने अन्योल थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाललाई खेल्न अनुमती दिएपछि नेपालको सहभागिता पक्का भएको हो । प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रूपमा पनि हेरिएको छ ।
शृखंलाअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । ओमान क्रिकेट संघले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले दोस्रो खेल नेदरल्यान्ड्सँग असोज २० गते र तेस्रो खेल आयरल्यान्डसँग असोज २२ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालविरुद्ध
देश मिति
हङकङ २०७६ असोज १९
नेदरल्यान्ड्स २०७६ असोज २०
आयरल्यान्ड २०७६ असोज २२
ओमान २०७६ असोज २३
नेपाली टोली विश्वकप छनोटअन्तर्गत ग्लोबल क्वालिफायर पुग्न असफल भएपछि ओमानमा हुने ट्वान्टी–२० क्रिकेट शृंखलामा सहभागिता जनाउने या नजनाउने अन्योल थियो । तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले उक्त शृंखला खेल्न अनुमती दिएपछि नेपालको सहभागिता पक्का भयो ।
प्रकाशित: २५ श्रावण २०७६ ०२:२७ शनिबार