१६ चैत्र २०८० शुक्रबार
खेल

पारसको कीर्तिमानी अर्धशतक, कुवेत सात विकेटले पराजित

काठमाडाैं - आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई सात विकेटले हराएको छ। कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पुरा गरेको हो।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।

 नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए। ओपनर समेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले। ३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका १ छक्का प्रहार गरे।  योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए।

कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए।

बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए। करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे।

च्याम्पियन बनेर विश्व छनोटमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने बाध्यता थियो। अब नेपालले आइतबार सिंगापुरसँग खेल्ने छ। सिंगापुरलाई पनि हराए नेपाल विश्व छनोटमा पुग्नेछ।

प्रकाशित: ११ श्रावण २०७६ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App