१६ चैत्र २०८० शुक्रबार
खेल

भलिबललाई स्याटलाइट टेलिकमको साथ

काठमाडौं– साउन अन्तिम साता काठमाडौंमा आयोजना हुने एसियन भलिबल कन्फडरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँबराबरको प्रायोजन गर्ने भएको छ।

काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा आयोजक नेपाल भलिबल संघ र स्याटालाइट टेलिकमबीच सम्झौता भएको हो। सम्झौतामा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र स्याटलाइट टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले हस्ताक्षर गरे। शनिबार भएको सम्झौताअनुसार स्याटलाइट कम्पनीले भलिबल संघलाई २० लाख उपलब्ध गराउनेछ। सोही अवसरमा २० लाखको चेक हस्तान्तरण पनि भयो। यसअघि नेपाल भलिबल संघले नेपाल उद्योग वाणिज्य संघसँग ४० लाखको प्रायोजन गरेको थियो।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिताको पाँचौं संस्करणमा नेपालबाहेक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्केमेनिस्तान र उज्वेकिस्तानसहित सात टोलीले प्रतिस्पर्धा गर्नेछन्।

आगामी भदौ ८ सम्म हुने प्रतियोगिताका लागि हाल १८ सदस्यीय नेपाली भलिबल टोली प्रशिक्षणमा छ। नेपाली टोलीलाई नेदरल्यान्ड्सका हान एबिङले  प्रशिक्षण गराइरहेका छन्।

पाँचांै संस्करणको च्याम्पियनसिपको आयोजक नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले सरकारले साथ दिनुपर्नेमा निजी क्षेत्रबाट सहयोग मिल्नु खुसीको विषय भएको बताए।

‘भलिबल नेपालको राष्ट्रिय खेल भए पनि यसतर्फ सरकारले चासो देखाएको छैन। यद्यपि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न हामी ठूलो मन लिएर अगाडि बढेका छौं। निजी क्षेत्रको सहयोगले हामीलाई हौसला मिलिरहेको छ।’

यही महिनाको अन्तिम साता हुने प्रतियोगिता नेपालमा पहिलो पटक हुने अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता हो। प्रतियोगिता साउन ३२ देखि भदौ ८ सम्म आयोजना हुने यसअघि नै घोषणा भइसकेको छ। सेन्ट्रल जोनमा अहिले ९ टिम छन् तर नेपालमा हुने प्रतियोगितामा ७ टिमले मात्र भाग लिन लागेका हुन्। च्याम्पियनसिपका सबै खेल ललतिपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा हुने पक्का भएको छ।

प्रकाशित: ५ श्रावण २०७६ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App