७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालद्वारा शृंखला क्लिन स्विप

काठमाडाैँ -  विनोद भण्डारीको आक्रामक ब्याटिङप्रेरित नेपालले आइतबार मलेसियाविरुद्धको ट्वान्टी–२० शृंखला २–० ले क्लिन स्विप गरेको छ । आइतबार भएको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जित हात पार्दै पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा ह्वाइट वास गरेको हो । यसअघि नेपालले गत वर्ष युएईविरुद्धको ट्वान्टी–२० शृंंखला २–१ ले जितेको थियो । नेपालले शनिबार भएको पहिलो ट्वान्टी–२० खेलमा ७ विकेटको नतिजा ल्याएको थियो  ।

क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन मात्र जोड्न सक्यो । ओपनर भिरनदीप सिंह र साहिद अजिजले पहिला विकेटका लागि ७५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । अविनाश बोहोराले दशौं ओभरको चौथो बलमा भिरनदीपलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै यी दुईबीचको साझेदारी तोडेका थिए । भिरनदीपले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । मलेसियाले थप २ रन जोड्दा आर्का ओपनर अजिजलाई समेत गुमायो ।३७ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५० रन जोडेका अजिजलाई सोमपाल कामीले ललितनारायण राजवंशीबाट क्याच गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । लगातार २ विकेट लिएपछि नेपालले खेलमा हाबी हुने संकेत गरेको थियो ।

मलेसियालाई जितका लागि अन्तिम ४ ओभरमा ५८ रन आवश्यक थियो । कप्तान पारस खड्काको १७औं ओभरमा अमिनुद्दिन रामले ६ छक्का प्रहार गरेसँगै मलेसियाले खेलमा फर्किने संकेत गरेको थियो । तर राम सोही ओभरको अन्तिम बलमा सोमपालबाट क्याच भए । अन्तिम ओभरमा जितका लागि मलेसिया मात्र १४ रनले पछि थियो । अविनाशको पहिले बलमा मलेसियाले बाइका रूपमा एक रन जोड्यो । दोस्रो बलमा मुहाम्मद सहादतले २ रन जोडे।  तर त्यसपछिको लगातर ३ बलमा सहादतले रन जोड्न सक्दा नेपालको जित सुनिश्चित भएको थियो । अन्तिम बलमा उनले चौका प्रहार गरे पनि त्यो घरेलु टोलीलाई नतिजा आफ्नो पक्षमा पार्न पर्याप्त भएन ।

नेपालका सन्दीप लामिछाने  र सोमपालले समान २ विकेट लिए । त्यस्तै करण, अविनाश र पारसको नाममा १ विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रनको योगफल खडा गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले तयार पारेको यो सर्वाधिक योगफल हो । पहिलो विकेटका लागि कप्तान पारस र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै नेपालाको गतिलो सुरुआतको संकेत गरेका थिए ।

नेपालले पाँचाैँ ओभरको पाँचाैँ बलमा पवनलाई पहिलो विकेटका रूपमा गुमायो । १० रन जोडेका पवनलाई अजिजले रन आउट गरेका थिए । छैटांै ओभरमा लगातर २ विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो । दोस्रो बलमा ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले तेस्रो बलमा पारसलाई गुमाएको थियो । पारसले १९ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोड्दा ज्ञानेन्द्रले लगातार दोस्रो खेलमा दोहोरो अंक छुन सकेनन् । पहिलो खेलमा पनि ज्ञानेन्द्रले ७ रन मात्र जोडेका थिए । पारस र ज्ञानेन्द्र दुवैलाई सामले पवेलियनको बाटो देखाएका थिए ।

४२–३ को स्थितिमा शरद भेषावकर र रोहितकुमार पौडेलले चौथो विकेटका लागि ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । २३ बलमा १ चौकाको मद्दतमा १९ रन जोडेका रोहित चौथो विकेटका रूपमा पवेलियन फर्किएका थिए । त्यसपछि ब्याटिङका लागि आएका विनोदले पाँचांै विकेटका लागि शरद्सँग २९ तथा छैटौं विकेटका लागि करणसँग ३३ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डो¥याएका थिए । शरद्ले २८ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४० तथा आक्रामक ब्याटिङ गरेका विनोदले २५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा अविजित ५१ रनको योगदान गरे । मलेसियाका सामले ३ विकेट लिए । नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जित हात पार्दै पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा ह्वाइट वास गरेको हो ।

प्रकाशित: ३० असार २०७६ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App