६ वैशाख २०८१ बिहीबार
खेल

कीर्तिमान बनाउने अवसर

लर्ड्स – इङ्ल्यान्डका जो रुट एकै विश्वकपमा सर्वाधिक रनको कीर्तिमान बनाउनबाट १ सय २५ रनले पछाडि छन्। भारतका सचिन तेन्दुलकरको ६ सय ७३ रनको सर्वाधिक योगफलनजिक पुगेर पनि भारतकै रोहित शर्मा चुके। भारत सेमिफाइनलबाटै बाहिरिएपछि रोहित २७ रनले चुकेका थिए। अब त्यो कीर्तिमानलाई पछि  पार्न रुटलाई अवसर छ।

जारी विश्वकपमा इङ्ल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भएकाले रुटसँग सचिनको त्यो रेकर्डलाई पछि पार्ने क्षमता छ। यद्यपि, उनी रेकर्डभन्दा पनि इङ्ल्यान्डलाई विश्वकप क्रिकेटको पहिलो उपाधि दिलाउने लक्ष्यमा हुनेछन्। यस विश्वकपमा लयमा रहेका रुटले अस्ट्रेलियाविरुद्धको गत सेमिफाइनलमा पनि निरन्तरता दिएका थिए।

सो खेलमा उनले ४९ रनको अविजित इनिङ खेल्दै १ सय ७ बलअगावै जित दिलाउन मद्दत गरेका थिए। सर्वाधिक रन बटुल्नेको सूचीमा चौथो स्थानमा रहेका रुटले घरेलु मैदानमा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दा दुई शतक र तीन अर्धशतक बनाइसकेका छन्। घरेलु टोलीले चौथो पटक विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउँदा रुटको प्रदर्शन भने तारिफयोग्य छ। यस क्रममा उनले १० खेलबाट ६८.६२ को औसतमा यस विश्वकपमा ५ सय ४९ रन बनाइसकेका छन्। आइतबार लडर््समा न्युजिल्यान्डविरुद्ध हुने उपाधि भिडन्तमा पनि इङ्ल्यान्डले सोही लय निरन्तरताको आशा गरेको छ। रुटसमक्ष पनि उत्कृष्ट ब्याटिङबाट इङ्ल्यान्डलाई पहिलो पटक विश्वकपको उपाधि दिलाउनुका साथै व्यक्तिगत कीर्तिमान बनाउने अवसरसमेत छ।

२८ वर्षे ब्याट्सम्यान रुटले सेमिफाइनलमा अस्ट्रेलियाको तीव्र गतिको बलिङलाई लगातार निरीह बनाएकाले न्युजिल्यान्डविरुद्धको फाइनलमा पनि सोही लयलाई निरन्तरता दिन सक्नेछन्। न्युजिल्यान्डका बलरका लागि समेत उनी चुनौतीपूर्ण ब्याट्सम्यान हुन्। त्यसैले पनि न्युजिल्यान्डका बलर पनि उनलाई सस्तैमा आउट गरी इङ्ल्यान्डलाई दबाबमा राख्न चाहन्छन्। यद्यपि, एकदिवसीय क्रिकेटमा सातौं नम्बरका ब्याट्सम्यानसमेत रहेका रुटलाई आउट गर्न त्यति सहज भने छैन। एकदिवसीय क्रिकेटमा १६ शतक र ३१ अर्धशतकसहित ५ हजार ५ सय ७० रन बनाइसकेका रुट देशलाई ऐतिहासिक सफलता दिलाउनका लागि निकै सजग भएर खेल्नेछन्। साथै टोलीलाई आवश्यकताअनुरूप बलिङ गरेका उनले एकदिवसीयमा २२ विकेटसमेत लिएका छन्। आइतबार न्युजिल्यान्डलाई ब्याटिङसँगै बलिङमा पनि रुटले चुनौती दिन सक्नेछन्।

 

प्रकाशित: २९ असार २०७६ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App