१६ चैत्र २०८० शुक्रबार
खेल

‘पूर्वाधार तयार नभए साग हुँदैन’

निर्माणाधीन पोखरा रंगशालाको फुटबल मैदान। तस्बिरः धन/नागरिक

पोखरा - राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कात्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले शुक्रबार निर्माणाधीन प्यारापिटसहितको फुटबल मैदान निरीक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कात्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए।

‘कात्तिक १५ गतेसम्मको मिति दिन्छु। त्यो दिनसम्म काम सम्पन्न गर्नुहोस्। यो राष्ट्रिय गौरवको योजना हो, त्यसैले ढिला गर्नु हँुदैन।’ सदस्य–सचिव सिलवालले भने, ‘पेमेन्टले रोकिँदैन। कहाँ अड्कियो त्यो भन्नोस्।’ उनले ट्य्राक एन्ड फिल्डको कामपछि तत्कालै मैदानमा दुबो रोप्न सुझाव दिए। ‘प्राकृतिक मैदान बनाउनुपर्छ। हरियाली ठाउँमा कृत्रिम मैदान बनाउने होइन।’ उनले भने,‘कृत्रिममा जानु हुँदैन। प्राकृतिक नै बनाउनुपर्छ। यो मेरो व्यक्तिगत विचार हो। सम्झौतामा कसरी भएको छ त्यो हेर्नुपर्छ।’ उनले तोकिएकै समयसीमाभित्र पूर्वाधार तयार नभएको अवस्थामा साग नहुने दाबी गरे। ‘पूर्वाधार निर्माण समयमा सक्ने गरी प्रतिबद्धता भएन भने साग हँुदैन,’ सदस्य–सचिवको भनाइ थियो। उनले राष्ट्रिय गौरवको आयोजनामा गरिने ढिलाइ बदनाम कमाउन नहुने भन्दै निर्माण कम्पनी पप्पु कन्ट्रक्सनजस्तो हुने कि नहुने भन्ने योजना फाइनलले देखाउने प्रस्ट पारे। उनले भने, ‘समयमै काम सकिएन भने मैले सकिनँ भनेर राजीनामा दिन तयार छु। अर्कोलाई ल्याएर जिम्मेवारी सुम्पिनोस् भन्छु।’ सदस्य–सचिव सिलवालले पोखरामै अर्को वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधारका लागि काम सुरु गरिने स्पष्ट पारे।

‘कात्तिक १५ गतेसम्मको मिति दिन्छु। त्यो दिनसम्म काम सम्पन्नगर्नुहोस्। यो राष्ट्रिय गौरवको योजना हो, त्यसैले ढिला गर्नु हुँदैन।’

प्यारापिटसहित ट्य्राक एन्ड फिल्ड बनाउन आवश्यक डिजाइन फाइनल नहँुदा काममा ढिलाइ हँुदै गएको छ। ‘पहिला डिजाइन फाइनल गर्नोस्,’ सदस्यसचिव सिलवालले भने, ‘डिजाइन फाइनल नहँुदा काम समयमै सकिन्छ भन्ने विश्वास स्थानीयले गरेका छैनन्।’ फाइनल डिजाइनको लागि साउन १ गते निर्माण कम्पनी, कन्सल्टेन्ट तथा राखेपका पदाधिकारी र इन्जिनियरको संयुक्त बैठकले टुंग्याउने निर्णयसमेत गरिएको छ। पोखरा रंगशाला निर्माणका लागि भारतीय कम्पनी ग्रेट स्पोटर््स एन्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) सँग सम्झौता गरिएको हो। कम्पनीका प्रोजेक्ट प्रबन्धक हरिबाबु न्यौपानेका अनुसार केही अप्ठ्यारालाई समाधान गरिदिए समयमै काम सकिन्छ। ‘निर्णय गर्ने पाटोबाट हुने ढिलाइले काम गर्न अप्ठ्यारो छ।  छिटो निर्णय भइदिए हामीलाई सहज हुने थियो।’ प्रोजेक्ट प्रबन्धक न्यौपानेले भने, ‘निर्णय हुन्छ भन्ने आशावादी छौं। काम गर्न आएका हौं, सकेर जाऊँ भन्ने हो।’

न्यौपानेले रंगशालाको ट्य्राकका लागि आवश्यक सामान जर्मनबाट नेपालको लागि कन्टेनरमा लोड हुने अवस्थामा रहेको जानकारी दिए। ‘कन्टेनरमा लोड हुँदै छ। लोड भएपछि ४५ दिनभित्रमा फिल्डमा आइपुग्छ,’ उनले भने। सिन्थेटिक ट्य्राक जर्मनबाट र प्यारापिटको सामान भने फ्रान्सबाट आउनेछ। ‘हामीले स्टिल फाउन्डेसन गरिदिनोस् भन्ने हो,’ उनले भने, ‘आइसोलेटेट फाउन्डेसन बनाउने परिषद्को योजना हो।’ राष्ट्रिय खेलकुद परिषद्ले भने फुटबल रंगशालाका लागि आवश्यक बजेटमध्ये ५३ करोडसमेत विनियोजन गरेको हो। नयाँ आर्थिक वर्षका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। आह्वान गरिएको टेन्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्य्राक बनाउन कम्पनीको अनुभवपत्रसमेत माग गरिएको थियो। मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्डअनुसार १ सय ५ मिटर लम्बाइ र ६८ मिटरको चौडाइको हुनुपर्ने उल्लेख छ। फुटबल मैदानको लागि एक अर्ब २८ करोड रुपैयाँको लागत अनुमान गरिएको छ। ठेक्का डिजाइन एन्ड बिल्डअनुसार गरिएको हो।

 

प्रकाशित: २९ असार २०७६ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App