१६ चैत्र २०८० शुक्रबार
खेल

दुवै खेलमा बराबरी नतिजा

मनाङ मर्स्याङ्दीविरुद्ध बल अगाडि बढाउँदै एपिएफ (रातो) का खेलाडी । तस्बिरः नागरिक

काठमाडौं – राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियसिपअन्तर्गत बुधबार भएका दुई खेल १–१ गोलको बराबरीमा सकिएका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा  सम्पन्न हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) तथा विभागीय टोली एपिएफ र मनाङ मस्र्याङ्दी क्लबबीचका खेल १–१ को बराबरीमा सकिए।

दिनको पहिलो खेलमा एनआरटीले लिएको सुरुआती अग्रता उल्टाउँदै हिमालयनले बराबरी खेलेको हो। एनआरटीका लागि क्रितिशरत्न छन्छुले ५६औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा गोलरहित बराबरी खेलेका हिमालयन शेर्पाका लागि सुजनकुमार थापाले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल फर्काउँदा अंक खोस्न सफल भएको हो।

बराबरीसँगै समूह ‘ए’ को हिमालयनले ४ खेलबाट ६ अंक बनाउन सफल भयो। एनआरटीले भने ४ खेलबाट ५ अंक जोडेको छ। यस समूहबाट एक खेल कम खेलेको मच्छिन्द्रको ३ खेलबाट ६ अंक रहेको छ। यस्तै संकटाको ५ र च्यासल युथको १ अंक  छ ।

यस्तै प्रतियोगिताअन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा एपिएफ र मनाङले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। यससँगै समूह ‘बी’ बाट मनाङ क्वार्टरफाइनल प्रवेश गरेको छ। एपिएफका लागि निशान रावलले एक गोल गरे। मनाङका प्रशान्त लामाले एक गोल फर्काए। बराबरीसँगै समूह ‘बी’ मा एपिएफले ४ खेलबाट ५ अंक जोड्यो। एपिएफ उपविजेता बन्यो।

यस्तै ४ खेलबाट ५ अंक नै जोडेको मनाङ तेस्रो स्थानमा रहेर क्वार्टरफाइनल प्रवेश गरेको हो। यस समूहमा ४ खेलबाट १२ अंक जोडेको आर्मी शीर्ष स्थानमा रहेर क्वार्टरफाइनल पुगिसकेको छ। यस समूहमा फ्रेन्ड्स क्लब र थ्री स्टारको १/१ अंक  छ।  समूहको अन्तिम खेलमा फ्रेन्ड्सले थ्री स्टारको सामना गर्नेछ। दुई खेलको नतिजाले क्वार्टरफाइनल समीकरणमा कुनै असर गर्ने छैन। यस समूहबाट बिहीबार हुने मच्छिन्द्र र च्यासलबीचको खेलले समूहविजेताको टुंगो लाग्नेछ। यस समूहबाट ३ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: २६ असार २०७६ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App