१६ चैत्र २०८० शुक्रबार
खेल

पहिलो खेलबाटै नेपाल सेमिफाइनलमा

काठमाडौ  – सागर ढकालको उत्कृष्ट बलिङपे्ररित नेपाल चीनलाई हराउँदै सिंगापुरमा जारी एसिसी यु–१९ इस्र्टन रिजन २०१९ को सेमिफाइनल प्रवेश गरेको छ । मंगलबारबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा चीनले सिंगापुरलाई नतिजा सुम्पिएको थियो । चीनले लगातार दोस्रो हार व्यहोरेपछि नेपाल र सिंगापुरले समूह ‘ए’ बाट एक खेल अगावै  अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

समूहको अर्को टोली म्यानमारले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । शुक्रबार हुने नेपाल र सिंगापुरबीचको खेलको विजेताबाट समूह विजेताको टुङगो लाग्नेछ । बुधबार भएको समूह ‘ए’ को खेलमा नेपालले चीनमाथि १० विकेटको रबाफिलो जित हात पारेको हो ।

चीनले प्रस्तुत गरेको ५४ रनको विजयी लक्ष्य नेपालले मात्र ५ ओभरमा पूरा ग¥यो । नेपालका ओपनर पवन सर्राफले अविजित ४६ र ऋत गौतम अविजित १० रन जोडे । पवनले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दा ऋतले १० बलमा १ चौका प्रहार गरे । यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २३.३ ओभरमा ५३ रन अलआउट भएको थियो ।

पहिलो विकेटका लागि ओपनर ग्वाह्वाओ गाओ र लियाङ छेनले १८ रनको साझेदारी गर्दै चीनलाई गतिलो सुरुआतको संकेत गराए । छैटांै ओभरको पहिलो बलमा सागरले गाओलाई कप्तान रोहित कुमार पौडेलबाट क्याच गराएका थिए । अर्का ओपनर लियाङ छेनलाई सातांै ओभरको पाँचांै बलमा तीलक राज भण्डारीले हरिबहादुर चौहानबाट क्याच गराएपछि चीनको विकेट पतन सुरु भयो ।

गाओले २४ बलमा २ चौका र लियाङ छेनले ४३ बलमा २ चौका प्रहार गरे । त्यसपछि ब्याटिङका लागि आएका अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक छुन सकेनन् । नेपालका सागरले ९.१ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चेर ६ विकेट लिए । तिलकले ३ र कमलसिंह ऐरीले १ विकेट निकाले ।

नेपालले समूहको दोस्रो खेलमा शुक्रबार आयोजक सिंगापुरको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत बुधबारै भएको समूह ‘बी’ को खेलमा मलेसियाले भुटानमाथि २ सय ५० रनको जित हात पार्दा हङकङले  थाइल्यान्डलाई ५ विकेटले हरायो । प्रतियोगिताको दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

 

 

 

प्रकाशित: १९ असार २०७६ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App