१६ चैत्र २०८० शुक्रबार
खेल

भारतको सेमिफाइनल लक्ष्य

बर्मिङ्घम – विश्वकप क्रिकेटअन्तर्गत मंगलबार हुने खेलमा भारत र बंगलादेश आमनेसामने हुँदै छन्। प्रतियोगितामा समान ७ खेल खेलेको भारत बाँकी २ खेलबाट  मात्र एक अंक जोडे पनि सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली बन्नेछ। भारतले अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ। शीर्ष स्थानमा रहेको अस्ट्रेलिया यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। १० टोली सहभागी प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनल प्रवेश गर्र्नेछन्।

भारतले ७ मध्ये ५ खेल जितेको छ भने १ खेलमा हार र १ खेलमा बराबरीको नतिजा ल्याएको छ। अफगानिस्तान, वेस्ट इन्डिज, अस्ट्रेलिया, पाकिस्तान र दक्षिण अफ्रिकालाई निराश पारेको भारतले वर्षाले खेल बाधक बन्दा न्युजिल्यान्डसँग अंक बाँडेको थियो। आइतबार भने आयोजक इङ्ल्यान्डले भारतको जितयात्रामा पूर्णविराम लगाइदिएको थियो।

जारी प्रतियोगितामा भारतका ओपनर रोहितकुमार शर्मासँगै कप्तान विराट कोहली स्वाभाविक लयमा छन्। रोहितले प्रतियोगितामा तीन शतक पूरा गरिसकेका छन् भने कोहलीले पछिल्लो ५ खेलमा लगातार अर्धशतक पूरा गरेका छन्। त्यसैले रोहित र कोहली मंगलबार बंगलादेशी बलरका लागि हाबी बन्न सक्छन्। ७ खेलमा ११ अंक जोडेको भारत दोस्रो स्थानमा छ भने समान खेलमा ७ अंकका साथ बंगलादेश छैटौं स्थानमा छ।

त्यस्तै तीव्र गतिका बलर मोहम्मद सामी र जसप्रित बुमराह बंगलदेशी ब्याट्सम्यानका लागि बाधक बन्न सक्छन्। बुमराहले निरन्तर किफायती बलिङ गरिरहेका छन्। त्यस्तै भुवनेश्वर कुमार घाइते भए पनि टोलीमा स्थान बनाएका सामीले प्रत्येक खेलमा आफ्नो क्षमता प्रमाणित गर्र्देै आएका छन्।

सामीले प्रतियोगितामा १३ विकेट लिइसकेका छन्। टोलीमा समावेश गरिएको पहिलो खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिकसहित ४ विकेट लिएका सामीले वेस्ट इन्डिजविरुद्ध पनि ४ तथा आइतबार इङ्ल्यान्डविरुद्ध ५ विकेट लिएका थिए। यता बंगलादेश पनि भारतमाथिको जितसँगै अन्तिम ४ को दौड खुला राख्न चाहन्छ। बंगलादेशले अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ।

बंगलादेशले सात खेलमा ३ खेल जितेको छ भने ३ खेलमा नतिजा गुमाएको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो।
बंगलादेशको शीर्ष ४ को दौड कायम राख्न अलराउन्डर साकिब अल हसन र विकेटकिपर मुस्फिकर रहिमको ब्याटिङले धेरै अर्थ राख्नेछ।

बंगलादेशको सम्भावना कायम राख्न साकिब र मुस्फिकरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। बंगलादेशको बलिङ मोर्चा भने तीव्र गतिका बलर मुस्ताफिजुर रहमान र मोहम्मद साफुडिनले सम्हाल्नेछन्। प्रतियोगितामा समान ७ खेल खेलेको भारत बाँकी २ खेलबाट  मात्र एक अंक जोडे पनि सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली बन्नेछ।

प्रकाशित: १७ असार २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App