१५ चैत्र २०८० बिहीबार
खेल

भारतको जित यात्रामा पूर्णविराम

बर्मिङ्घम – ओपनर जोनी बेयरस्टोको शतकप्रेरित इङल्यान्डले भारतको जित यात्रामा पूर्णविराम लगाउदै विश्वकप अघिल्लो चरण प्रवेश सम्भावना बलियो पारेको छ। इङल्यान्डले भारतलाई ३१ रनले हराएको हो।इङल्यान्डले प्रस्तुत गरेको ३ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३ सय ६ रन मात्र जोड्न सक्यो।भारतका रोहित शर्माले १ सय १ तथा कप्तान विराट कोहोलीले ६६ रनको योगदान गरे।

८–१ को स्थितीमा ब्याटिङका लागि आएका कोहोलीले अर्का ओपनर शर्मासँग १ सय ३८ रनको साझेदारी गरेका थिए।शर्माले १ सय ९ बलमा १५ चौका प्रहार गर्दा कोहोलीले ७६ बलमा ७ चौका प्रहार गरे।प्रतियोगितामा शर्माको यो तेस्रो शतक हो।

त्यस्तै हार्दिक पाण्डेयाले ४५ र महेन्द्रसिंह धोनीले अविजित ४२रनको योगदान गरे। इङल्यान्ढका लियाम प्युङकेटले ३ र क्रिस ओक्सले  २ विकेट लिए। यस जितपछि इङल्यान्ड १० अंकका साथ चौथो स्थानमा उक्लिएको छ।७ खेलमा ११ अंक जोडेको भारत दोस्रो स्थानमा यथावत छ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३७ रनको योगफल तयार पारेको थियो। भारतविरुद्ध बलियो स्कोर बनाउन इङ्ल्यान्डका ओपनर जोनी बेयरस्टोले शतक पूरा गर्दा अर्का ओपनर जसन रोयले ६६ र अलराउन्डर बेन स्टोक्सले ७९ रनको योगदान गरे। त्यस्तै जो रुटले ४४ रन जोडे।

पहिलो विकेटका लागि बेयरस्टो र रोयले १ सय ६० रनको साझेदारी गर्दै इङ्ल्यान्डलाई गतिलो सुरुआत दिलाएका थिए। चोटमुक्त हुँदै टोलीमा पुनरागमन गरेका रोयले स्पिनर कुलदीप यादवको बलमा वैकल्पिक फिल्डर रवीन्द्र जडेजाबाट क्याच हुनुअघि ५७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै बेयरस्टोले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। १ सय ९ बलमा १० चौका र १ छक्का प्रहार गरेका बेयरस्टो मोहम्मद सामीको बलमा ऋषभ पन्तबाट क्याच भएका थिए। बेयरस्टो पवेलियन फर्किएलगत्तै मोर्गान पनि सामीकै बलमा केदार जाधबबाट क्याच भए।

चौथो विकेटका लागि जो रुट र बेन स्टोक्सले ७० रनको साझेदारी गर्दै इङ्ल्यान्डको इनिङ थप अघि बढाएका थिए। ५४ बल खेलेका रुटले २ चौका र स्टोक्सले आक्रामक ब्याटिङ गर्दै ८ चौका र २ छक्का प्रहार गरे। भारतका मोहम्मद सामीले १० ओभरमा ६९ रन खर्चंदै ५ विकेट लिए। प्रतियोगितामा सामीले कुल १३ विकेट लिएका छन्। भुवनेश्वर कुमार चोटका कारण टोलीबाट बाहिरिएपछि स्थान बनाएका सामीले पहिलो खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिकसहित ४ विकेट लिएका थिए भने वेस्ट इन्डिजविरुद्ध पनि ४ विकेट लिएका थिए।

प्रकाशित: १६ असार २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App