coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोली असफल हुँदा पनि सफल

म्यानचेस्टर– यस विश्वकपमा आक्रामक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिज खराब प्रदर्शनका कारण आलोचित भइरहँदा सोही टोलीका सदस्य सेल्डन कोट्रेलले भने चर्चा कमाइ रहेका छन्।

वेस्ट इन्डिजको बलिङ र ब्याटिङ दुवै फिक्का साबित हुँदा यस पटक विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ। यद्यपि, कोट्रेलले आफ्नो बलिङका प्रदर्शनबाट छाप छोड्न सफल भएका भएका छन्। साथै विकेट लिने बित्तिकै उनले गर्ने सलुटको सेलिब्रेसनले पनि उनीप्रति सबैको ध्यान खिचेको छ।

गत न्युजिल्यान्डविरुद्धको खेलमा उनले निकै यादगार प्रदर्शन गरेका थिए। उक्त खेलमा उनले पहिलो ओभरमै न्युजिल्यान्डका ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुनरोजस्ता महत्त्वपूर्ण ब्याट्सम्यानलाई खात नखोली पवेलियनको बाटो देखाइदिएका थिए। साथै उनले कप्तान केन विलियम्सन र टम लाथमलाई आउट गर्दै चार विकेट निकालेका थिए। सोही खेलमा न्युजिल्यान्डको थप विकेट पतन हुँदा पनि उनले उत्कृष्ट रनआउट गरे।

सो क्रममा बलिङ गरेपछि आफूतिर आएको बलबाट उनले कोलिन डी ग्रान्डहोमलाई आउट गरेका थिए। उनले ६ खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्ध समान दुई विकेट लिँदा पाकिस्तानसँगको खेलमा एक विकेट निकालेका थिए। यस विश्वकपमा कोट्रेलले ९ विकेट लिँदा वेस्ट इन्डिजका लागि सर्वाधिक विकेट लिने बलर भएका छन्।

पछिल्ला ९ खेलमा उनले १० विकेट लिँदा ५.७५ को रनरेटमा बलिङ गरेका छन्। सन् २०१५ मा मात्र एकदिवसीय क्रिकेटमा डेब्यु गरेका कोट्रेलले कुल १९ इनिङ मात्र खेलेका छन्। यसबीच कम अवसर पाए पनि उनले २६ विकेट निकालेका छन्। बिहीबार वेस्ट इन्डिजले भारतसँग खेल्दै छ। उक्त खेलमा पनि कोट्रेल भारतीय ब्याट्सम्यानका लागि चुनौती बन्न सक्नेछन्। भारतीय टोली पनि उनीविरुद्ध सजग भएर खेल्नेछ।    

प्रकाशित: १२ असार २०७६ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App