८ वैशाख २०८१ शनिबार
खेल

भारतको अपराजित रहने चाहना

म्यानचेस्टर– भारतीय टोली लगातार जितको खोजीमा बिहीबार क्यारेवियन बादशाह वेस्ट इन्डिजविरुद्ध मैदानमा उत्रँदै छ। अन्य टोलीले भन्दा एक खेल कम खेलेको भारत आफ्नो छैटाैं खेलमा पनि जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ।

पाँचमध्ये चारमा जित र एक खेलमा वर्षाका कारण अंक बाँडेको भारत दबाबरहित भएर क्यारेवियन टोलीविरुद्ध मैदान उत्रिनेछ। ६ मध्ये ४ खेलमा नतिजा सुम्पिएको वेस्ट इन्डिज भारतविरुद्ध जित निकाल्दै जारी प्रतियोगितामा दोस्रो जितको प्यासमा हुनेछ। अफगानिस्तानमाथि संघर्षपूर्ण जित निकालेको भारत बिहीबार वेस्ट इन्डिजसँग भने निकै संयमित हुँदै खेल्नेछ।

ओपनर शिखर धवन हातको चोटका कारण प्रतियोगिता गुमाउँदै बाहिरिएपछि भारतलाई ओपनिङमा अनुभवी ब्याट्सम्यानको कमी खड्किएको छ। सोही कारण अफगानिस्तानसँगको खेलमा भारतले मध्यम स्कोर दिए पनि नाटकीय जित निकाल्न सफल भएको थियो। अफगानिस्तानविरुद्ध मध्यक्रमका ब्याट्सम्यानले धरमराएको इनिङलाई उकास्ने प्रयास गरे पनि निकै कठिन भएको थियो। त्यसैले भारत यस विषयमा बिहीबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दा निकै सजग भएर मैदान उत्रिनेछ। तर सोही खेलमा १९८७ पछि भारतका लागि ह्याट्रिक पूरा गरेका मोहम्मद सामी, जसप्रीत बुमराह, युजवेन्द्र चाहलजस्ता बलरको सामना गर्नु वेस्ट इन्डिज टोलीलाई कठिन हुनेछ। यो भारतीय टोलीको सबल पक्ष हो।  बलिङका अलावा भारतीय टोलीमा कप्तान विराट कोहली, रोहित शर्मा, महेन्द्रसिंह धोनी, हार्दिक पाण्डेयजस्ता ब्याट्सम्यान टोलीका मुख्य हतियार हुनेछन्। कठिन अवस्थामा इनिङ सम्हाल्दै टोलीलाई सुखद नतिजा निकाल्न यी खेलाडीले विगतका खेलमा आफ्नो परिपक्व क्षमता देखाउँदै आएका छन्। तर तीव्र गतिका बलरले भरिएको क्यारेवियन टोलीको चुनौती गर्न सामना गर्न भारतलाई त्यति सहज पनि छैन।

एकदिवसीय विश्वकप इतिहासमा ८ पटक भेट हुँदा वेस्ट इन्डिजले ३ पटक जित निकालेको छ भने पाँच पटक भारतले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ। त्यसैले वेस्ट इन्डिजलाई भारत कुनै नौलो टोली होइन। क्रिस गेल, कार्लोस ब्राथवेट, डारेन ब्राभो, सिमरन हेटमायर, जसन होल्डरजस्ता ब्याट्सम्यान क्रिजमा टिकेर खेल्दा भारतलाई रोक्न कठिन हुनेछ। क्रिस गेललाई इन्डियन प्रिमियर लिगको अनुभवले गर्दा बिहीबार भारतविरुद्ध ब्याटिङ सहज हुनेछ। न्युजिल्यान्डविरुद्धको खेलमा शतकीय इनिङ खेलेका ब्राथवेटले संयमित हुँदै भारतविरुद्ध जिम्मेवार ब्याटिङ गरेको खण्डमा जित निकाल्न असम्भव छैन। वेस्ट इन्डिजले जिम्मेवार ब्याटिङ गरे भारतको अपराजित यात्रामा टुङ्गो लाग्नेछ।

अघिल्ला खेलमा ब्याटिङभन्दा पनि बलिङ हाबी देखिँदा भारतको जित सम्भव भएको छ। त्यस कारण बलिङसँगसँगै वेस्ट इन्डिजले जिम्मेवार ब्याटिङ गर्दा जित सम्भव हुनेछ।

भारतले जारी प्रतियोगितामा ४ जित निकाल्दा तालिकामा ९ अंक जोडेको छ भने ६ खेल खेलेको वेस्ट इन्डिजको ३ अंक छ। सेमिफाइनल प्रवेशका लागि गणितीय सम्भावना मात्र जीवित राखेको वेस्ट इन्डिज जितको खोजीमा मैदान उत्रिनेछ।

प्रकाशित: १२ असार २०७६ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App