१६ चैत्र २०८० शुक्रबार
खेल

उत्कृष्ट लयमा कप्तान

बर्मिघङ्म – जारी विश्वकपमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन उत्कृष्ट लयमा छन्। उनीसँगै ब्याटिङ र बलिङमा सन्तुलित प्रदर्शन गरेको न्युजिल्यान्ड जारी विश्वकपमा अपराजित दुई टोलीमध्ये एक हो। न्युजिल्यान्डलाई ६ खेलमध्ये ५ खेलमा जित दिलाउन विलियसम्नले कप्तानीसँगै ब्याटिङमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्। यस विश्वकपमा सर्वाधिक रन बटुल्ने सूचीमा चौथो नम्बरमा रहेका विलियम्सनले १ सय ८६ को औसतले ३ सय ७३ रन बनाएका छन्। यस क्रममा उनले दुई शतकका साथै एक अर्धशतकसमेत प्रहार गरे।

न्युजिल्यान्डले बुधबार एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उक्त खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डको सहज रूपमा विश्वकप सेमिफाइनल पुग्ने लक्ष्य हुनेछ। त्यसका लागि कप्तान विलियम्सनको ब्याटिङ लयले पनि निरन्तरता पाउनुपर्नेछ। साथै ब्याटिङसँगै विलियम्सनलाई बलिङ र फिल्डिङलाई चुस्त बनाउनुपर्ने चुनौती पनि हुनेछ। पछिल्ला ८ खेलको प्रदर्शन हेर्ने हो भने विलियम्सनले १२२.८ को औसतमा ४ सय ८८ रन बनाइसकेका छन्। यस विश्वकपमा न्युजिल्यान्डका सबैभन्दा सफल ब्याट्सम्यान साबित भइरहेका विलियम्सनले १ सय ४४ एकदिवसीय क्रिकेटमा ४८.२८ को औसतले ५ हजार ९ सय २७ रन पूरा गरिसकेका छन्।

सन् २०१० देखि न्युजिल्यान्डको टोलीबाट खेल्दै आएका विलियम्सनले एकदिवसीय करियरमा १३ शतक र ५० अर्धशतक बनाएका छन्। उनले एकदिवसीय करियरमा सबैभन्दा सफल इनिङ यसै विश्वकपमा खेल्दा वेस्ट इन्डिजविरुद्ध १ सय ४८ रन प्रहार गरेका थिए।

एकदिवसीय वरीयतामा १३औं स्थानमा रहेका विलियम्सनले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक पूरा गरेका थिए। उक्त खेलमा उनी १ सय ६ रनमा अविजित रहे। अफगानिस्तानविरुद्ध पनि आक्रामक ब्याटिङ गर्दै कप्तान विलियम्सनले ७९ रनको अविजित इनिङ दोहो¥याए। बंगलादेशसँगको खेलमा पनि ४० रनमा आउट भएका विलियम्सनले श्रीलंकाविरुद्ध भने खेल्नु नै परेन।

श्रीलंकामाथि न्युजिल्यान्डले १० विकेटको जित निकाल्दा कप्तान विलियम्सनको ब्याटिङ तेस्रो नम्बरमा थियो। भारतसँगको खेल वर्षाका कारण हुन नसक्दा विलियम्सनले यस दुई विश्वकपको दुई इनिङमा ब्याटिङ गरेका छैनन्। तर, पाकिस्तानको धारिलो बलिङलाई निरीह बनाउँदै विलियम्सनको यादगार इनिङको पर्खाइमा न्युजिल्यान्ड हुनेछ।

निरन्तर यादगार बलिङ

पाकिस्तानका मोहम्मद आमिर जारी विश्वकपमा सबैभन्दा सफल बलर साबित भइरहेका छन्। उनको तीव्र गतिको बलिङ प्रेरणाबाट पाकिस्तानले दुई जित पनि निकालिसकेको छ।

पाँच खेल मात्र खेलेका आमिर यस विश्वकपमा १५ विकेट लिँदै धेरै विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेका जोफ्रा आर्चरले सात खेलबाट १६ विकेट लिएका छन्। यस विश्वकपका कुनै पनि खेलमा आमिर विकेटविहीन हुनुपरेको छैन। पाँच इनिङमा कुल ४६ ओभर बलिङ गरेका आमिरको ४ मेडन फ्याँक्दा ४.७६ को किफायती रनरेट छ।

यस क्रममा उनले अस्ट्रेलियाविरुद्धको चौथो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएका थिए। यद्यपि, पाकिस्तानले भने जित निकाल्न सकेन। उनले भारतविरुद्ध उत्कृष्ट बलिङ गर्दै १० ओभरमा एक मेडनसहित ४७ रन खर्चिए। त्यस क्रममा उनले विराट कोहली, हार्दिक पाण्ड्या र महेन्द्रसिंह धोनीलाई आउट गर्दै तीन विकेट लिएका थिए।

पाकिस्तानले एक मात्र जित बलियो टोली इङ्ल्यान्डविरुद्ध निकाल्दा आमिरले दुई विकेट लिएका थिए। १० ओभर बलिङ गरेका आमिरले किफायती बलिङ गर्दा दुई मेडन राख्दै ३० रन  खर्चिए। त्यसअघि पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध पनि पाकिस्तानले खराब खेल्दा आमिरको प्रदर्शन लोभलाग्दो थियो। ६ ओभर मात्र बलिङ गरेका आमिरले २६ रन खर्चिंदै ३ विकेट लिए।

वेस्ट इन्डिजले तीन विकेट मात्र गुमाउँदा आमिरको प्रदर्शन पाकिस्तानी बलिङका लागि राहत बन्यो। दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि आमिरले २ विकेट लिँदै आफ्नो लयलाई निरन्तरता दिए। समग्र नतिजा नियाल्दा आमिरले निकै यादगार बलिङ गरिरहेका छन्। आमिरको उँचो स्तरको प्रदर्शन न्युजिल्यान्डविरुद्ध पनि दोहोरिए पाकिस्तानले विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्नेछन्।

त्यसका लागि उनले आफ्नो लयलाई जारी राख्नुपर्नेछ। आमिरसँग बलिङबाटै टोलीलाई जित दिलाउने क्षमता पनि छ। आमिरले ५४ एकदिवसीय खेलमा ७० विकेट लिइसकेका छन्। न्युजिल्यान्डविरुद्ध जित दिलाउन पनि तीव्र गतिका बलर आमिरको प्रदर्शन महत्वपूर्ण साबित हुन सक्छ।

त्यसैले आमिरको तीव्र गतिको बलिङमा न्युजिल्यान्डका ब्याट्सम्यान सजग भएर खेल्नेछन्। आमिर पनि पछिल्लो समय उत्कृष्ट ब्याटिङ गरिरहेको न्युजिल्यान्डका मार्टिन गुप्टिल र केन विलियम्सनजस्ता ब्याट्सम्यानलाई सस्तैमा आउट गर्दै खेलमा पकड जमाउने लक्ष्यमा हुनेछन्।

प्रकाशित: ११ असार २०७६ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App