४ वैशाख २०८१ मंगलबार
खेल

अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित

साउथह्याम्पटन– इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार बलर मोहम्मद सामीले ह्याट्रिक विकेट लिँदा  भारतले एसोसिएट राष्ट्र अफगानिस्तानमाथि संघर्षपूर्ण ११ रनको जित निकालेको छ।

अफगानिस्ताविरुद्ध ह्याट्रिक पूरा गरेका सामी एकदिवसीय विश्वकपमा सन् १९८७ पछि ह्याट्रिक गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्। सामीले अन्तिम ओभरमा इनिङ सम्हाल्दै गरेका मोहम्मद नावी, अफताब आलम र मुजिब उर रहमानलाई पवेलियनको बाटो देखाउँदा ह्याट्रिक पूरा भएको हो।  यसअघि १९८७ मा न्युजिल्यान्डविरुद्ध भारतीय बलर चेतन शर्माले ह्याट्रिक विकेट लिएका थिए।

भारतले यससँगै जारी प्रतियोगितामा लगातार चौथो जित निकालेको छ। एक खेलमा भने वर्षाका कारण न्युजिल्यान्डसँग अंक बाँडेको थियो।

२ सय २५ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित ५० ओभर सकिन १ बल बाँकी रहँदा सबै विकेट गुमाएर मात्र २ सय १३ रन जोड्न सफल भयो। जबाफी ब्याटिङ गरेको अफगानिस्तानले सुरुआत राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य लक्ष्य पनि पूरा गर्न सकेन। लगातार छैटौं पराजयसँगै अफगानिस्तानको अघिल्लो चरण यात्रा समाप्त भएको छ। पहिलो विकेट गुमाउँदा २० रन जोड्न सफल भएको अफगानिस्तानले दोस्रो विकेट नोक्सान हुँदा ६० रन बटुलेको  थियो। कप्तान गुलबादिन नाइबले २७ तथा रहमत शाहले ३६ रनको व्यक्तिगत स्कोर बनाउँदै इनिङलाई उकासे पनि त्यसपछिका ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन्। २९औं ओभरमा सन्तुलित खेल खेलिरहेका ब्याट्सम्यानद्वय रहमत शाह र हस्मतुल्ला शाहिदीलाई जसप्रीत बुमराहले पवेलियन फर्काउँदा अफगानस्तानको इनिङ कठिन अवस्थामा पुगेको थियो। त्यसपछि ब्याटिङमा आएक मोहम्मद नावीले अर्धशतक (५२) बनाए बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। उनलाई साथ दिने नाजिबुल्लाह जर्दानले २१ रनको योगदान गर्दै पवेलियन फर्किंदा रासिद खान १४ रनमा भारतीय विकेटकिपर महेन्द्रसिंह धोनीबाट स्टम्पिङ भए।

अफगानिस्तानलाई रोक्न भारतीय बलर मोहम्मद सामीले सर्वाधिक ४ विकेट हात पार्दा जसप्रीत बुमराह, हार्दिक पाण्डेय, युजभेन्द्र चाहलले समान दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रनको सामान्य योगफल तयार पारेको थियो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन जोड्दा केदार जाधबले ५२ रनको योगदान गरे।

७ रन जोड्दा ओपनर रोहितकुमार शर्मालाई गुमाएको भारतको इनिङ  दोस्रो विकेटका लागि अर्का ओपनर लोकेश राहुल र कोहलीले ५७ रनको साझेदारी गर्दै अघि बढाएका थिए। रोहितलाई पाँचांै ओभरको दोस्रो बलमा मुजिव उर रहमानले बोल्ड गरेका थिए। त्यस्तै ५३ बलमा २ चौकाको मद्दतमा ३० रन जोडेका राहुललाई भने मोहम्मद नावीले हज्मतुल्लाह जजाईबाट क्याच गराएका थिए।

कोहलीले नाबीको बलमा रहमत शाहबाट क्याच हुनुअघि ५ चौका प्रहार गर्दै ६७ रनको योगदान गरेका थिए। उनले तेस्रो विकेटका लागि विजय शंकरसँग ४८ रनको साझेदारी गरेका थिए। विजयले रहमत शाहबाट बोल्ड हुनुअघि ४१ बलमा २ चौकाका साथ २९ रन जोडे। त्यसपछि ब्याटिङका लागि आएका महेन्द्रसिंह धोनीले २८ रन जोडे। त्यस्तै जाधबले ६८ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

अफगानिस्तानका मोहम्मद नाबी र गुल्बदिन नायबले समान २ विकेट लिएका थिए भने रहमत शाह, रासिद खान, अफ्ताब आलम र मुजिव उर रहमानले समान १ विकेट लिएका थिए।

सामीले अन्तिम ओभरमा इनिङ सम्हाल्दै गरेका मोहम्मद नावी, अफताब आलम र मुजिब उर रहमानलाई पवेलियनको बाटो देखाउँदा ह्याट्रिक पूरा भएको हो।

प्रकाशित: ८ असार २०७६ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App