१५ चैत्र २०८० बिहीबार
खेल

रोहितको प्रशंसनीय प्रदर्शन

लन्डन  – जारी विश्वकपमा भारतले अपराजित यात्रा कायम राख्दा उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। भारतले जारी विश्वकपमा ४ खेल पूरा गर्दा तीन जित र न्युजिल्यान्डविरुद्धको खेलमा वर्षाका कारण अंक बाँडेको थियो। तीनै खेलमा भारतले सहज जित निकाल्दा रोहित शर्माले कुल दुई शतक र एक अर्धशतक प्रहार गरेका छन्। यस क्रममा उनले तीन खेलबाट १५९.५० को औसतले ३ सय १९ रन जोडे। उनी जारी विश्वकपमा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा समेत छन्।

उनी दुई शतक र एक अर्धशतक बलियो टोलीविरुद्ध नै बनाउन सफल भए। भारतले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकाल्दा रोहितले १ सय २२ रनको अविजित इनिङ खेलेका थिए। दोस्रो खेलमा पनि बलियो टोली अस्ट्रेलियाविरुद्ध भारतले जित निकाल्दा रोहित शर्माले ५७ रनको अर्धशतकीय योगदान दिए। उनको उत्कृष्ट लयमा त्यतिमा मात्र सीमित रहेन। उनले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध पनि उत्कृष्ट ब्याटिङको निरन्तरता दिए।

त्यस क्रममा उनले ११३ बलमा १ सय ४० रनको यादगार इनिङ खेल्दै जारी विश्वकपमा दोस्रो शतक पूरा गरे। त्यसअघि न्युजिल्यान्डविरुद्धको तेस्रो खेल भने वर्षाका कारण हुन सकेन। भारतले पाँचौं खेलअन्तर्गत एसियाली प्रतिद्वन्द्वीसमेत रहेको अफगानिस्तानविरुद्ध शनिबार खेल्दै छ। उक्त खेलमा पनि भारतले रोहितबाट सोही किसिमको प्रदर्शन आशा राखेको छ। भारतको आशाअनुरूप रोहितमा क्षमता पनि छ।

एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक पूरा गर्दै रोहितले विश्व क्रिकेटलाई नै उनीबाट धेरै आशा गर्ने अवस्था सिर्जना गरिसकेका छन्। उनले करियरको पहिलो दोहोरो शतक (२०९ रन) सन् २०१३ मा बलियो टोली अस्ट्रेलियाविरुद्ध बनाएका थिए। सन् २०१४ मा पनि उनले श्रीलंकाविरुद्ध २ सय ६४ रन बनाउँदै दोस्रो दोहोरो शतक पूरा गरे। उनको उत्कृष्ट प्रदर्शन सन् २०१७ मा पनि दोहोरिँदा श्रीलंकाविरुद्ध पुनः दोहोरो शतक पूरा भएको थियो। सो खेलमा उनी २०८ रनमा अविजित रहेका थिए। उनी विश्व क्रिकेटमा तीन दोहोरो शतक पूरा गर्ने एक मात्र ब्याट्सम्यान हुन्। कुल २०९ एकदिवसीय क्रिकेटमा रोहितले २४ शतकबाट ८ हजार ३ सय २९ रन बनाउँदा हरेक टोलीविरुद्ध आफूलाई मुख्य बाधकका रूपमा प्रमाणित गरेका छन्। अफगानी बलर पनि उनलाई सस्तैमा आउट गर्दै आफ्नो टोलीलाई दबाबरहित रूपमा अगाडि बढाउने योजनामा हुनेछन्।

 

प्रकाशित: ७ असार २०७६ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App