७ वैशाख २०८१ शुक्रबार
खेल

रुट उत्कृट लयमा

लन्डन – जारी विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता आत्मसात् गरिरहँदा जो रुटको प्रदर्शन सफलताको आधारस्तम्भमध्ये एक हो। इङ्ल्यान्ड जारी विश्वकपमा पाँच खेलमध्ये ४ जित र एक हार बेहोरेको छ। घरेलु टोलीले उत्कृष्ट ब्याटिङका बावजुद पाकिस्तानविरुद्धको खेल भने गुमाएको थियो। यद्यपि, अन्य खेलाडीसँगै रुटको प्रदर्शन भने तारिफयोग्य छ। उनले जारी विश्वकपमा दुई शतक र दुई अर्धशतकसमेत प्रहार गरिसकेका छन्। जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चौथो नम्बरमा रहेका रुटले ३ सय ६७ रन  जोडिसकेका छन्।

२८ वर्षे ब्याट्सम्यान रुटले इङ्ल्यान्डको टोलीलाई ब्याटिङसँगै बलिङमा पनि साथ दिएका छन्। उनले वेस्ट इन्डिजविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन गर्ने क्रममा शतक पूरा गर्दा दुई विकेटसमेत लिएका थिए। रुटले उक्त खेलमा १ सय रन प्रहार गरेका थिए। त्यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकामाथि फराकिलो जित निकाल्दा रुटले ५१ रन बनाए।

इङ्ल्यान्डले पाकिस्तानविरुद्धको गुमाए पनि उत्कृष्ट ब्याटिङ गरेको थियो। ३ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले पूरै ओभर खेल्दै ३ सय ३४ रन बनायो। त्यस क्रममा रुटले १ सय ७ रनको यादगार शतकीय इनिङ खेले। बंगलादेशसँगको खेलमा भने खासै चल्न नसकेका रुट २१ रनमै पवेलियन फर्किएका थिए। पछिल्लो समय रुट उत्कृष्ट लयमा छन्। गत अफगानिस्तानसँगको खेलमा पनि उत्कृष्ट ब्याटिङ गरेका रुटले ८८ रनको योगदान दिएका थिए।

एकदिवसीय क्रिकेटमा सातौं नम्बरका ब्याट्सम्यान रुटले पछिल्ला १० खेलमा ६१.१२ को औसतले ४ सय ८९ रन बनाइसकेका छन्। उनले एकदिवसीय क्रिकेटमा १६ शतक र ३१ अर्धशतकसहित ५ हजार ५ सय ७० रन बनाइसकेका छन्। टोलीलाई आवश्यकताअनुरूप बलिङ गरेका उनले एकदिवसीयमा २२ विकेटसमेत लिएका छन्। उनै रुट शुक्रबार श्रीलंकाविरुद्ध उत्रँदै छन्। सो खेलमा इङ्ल्यान्डको जितका लागि रुटबाट टोलीले लय निरन्तरताको आशा राख्नेछ।

प्रकाशित: ६ असार २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App