७ वैशाख २०८१ शुक्रबार
खेल

घरेलु टोली सेमिफाइनलमा

गोलको दाउ हेर्दै घरेलु खेलाडी (हरियो ग्रे जर्सीमा)। तस्विरः महेश्वर

उदयपुर - प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी झापा ११ लाई १–० ले स्तब्ध पार्दै घरेलु टोली उदयपुर ११ छैैटौँ उदयपुर गोल्डकपमा इतिहास रच्न सफल भएको छ। वैकल्पिक खेलाडी दीपक गुप्ताको गोलबाट आयोजक टोली आइतबार इतिहासमा पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो।
यसअघिको पाँचौँ संस्करणसम्म आयोजक टोली पहिलो खेलमै सीमित हुने गरेको थियो। गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न खेलमा सुरुदेखि नै आयोजक टोली आक्रामक बनेको थियो। खेलको पहिलो मिनेटमै उदयपुरका फरवार्ड समिराज राउतले गोल गर्ने सुनौलोे मौका खेर फालेका थिए। उनले वान भर्सेस वानको स्थितिमा पनि विपक्षी गोलरक्षक किशोर गिरीलाई बिट गर्न सकेनन्। राउतले त्यसपछिका थप २ वान भर्सेस वानकोे स्थिति खेर फालेका थिए।

सातौँ मिनेटमा सुनील खड्काको पासमा उनी गोल गर्न चुके भने १४औँ मिनेटमा सुदीप श्रेष्ठको पासमा पनि उनले सहजै गोल गर्ने अवस्थामा बल बाहिर प्रहार गरे। त्यसपछि मौका खेर फालेको भन्दै आयोजकले ३६औँ मिनेटमा उनको स्थानमा दीपक गुप्तालाई मैदान प्रवेश गराएको थियो। गुप्ताले उनको परिवर्तनलाई सही साबित गर्दै एक मिनेटमै सुन्दर गोल गर्दै आयोजक टोलीलाई एक गोलको अग्रता दिलाए।

सोही गोलको सहयोगले आयोजक टोली मोेफसलको टोली झापालाई हराउँदै इतिहास रच्न सफल भयो। निर्णायक गोल गर्ने दीपक नै खेलको म्यान अफ द म्याच चुनिए। उनले नगद ७ हजार रुपियाँ प्राप्त गरे। अब उदयपुरले मंगलबार हुने संकटा क्लब काठमाडौँ र गोर्खा ब्वाइज क्लब रूपन्देहीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको सशक्त टोली मानिएको झापाले पहिलो हाफमा फितलो प्रदर्शन गरे पनि दोस्रो हाफमा सुधार गरेको थियो। स्थानीय खेलाडीले समेटिएको आयोजक टोलीविरुद्ध झापाले ‘ए’ डिभिजनको अनुभव बोकेका खेलाडीसहित २ अफ्रिकी मूलका खेलाडीलाई मैदान उतारेको थियो। दोस्रो हाफमा राम्रो प्रदर्शन गर्नुका साथै धेरै कर्नर प्रहारको मौका सिर्जना गरेको झापाले पाएका अवसरलाई सदुपयोग गर्नु नसक्दा हार ब्यहोेर्नुप¥यो।

झापाका प्रशिक्षक युगलकिशोर राईले मुख्य खेलाडी अनफिट हुनु, भाग्यले साथ नदिनु र प्रतियोगिताको लागि तयारी नपाउनु नै हारको कारण रहेको बताए। विजयी टोलीका प्रशिक्षक दीपक थापाले सुरुमा बलियोे टोेलीसँग डिफेन्सिभ खेलेर काउन्टर एट्याकमा गोल गर्ने रणनीति अपनाएको र खेलाडीले सोेचेभन्दा राम्रोे प्रदर्शन गरेकाले जित हात पारेको बताए। त्यसै गरी पहिलो पटक सेमिफाइनल पुगेको विजयी टोेलीलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले टोलीका प्रत्येक खेलाडीलाई जनही पाँच हजार दिने घोषणा गरे। प्रतियोगिताको विजेतालो पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन्।

प्रकाशित: २ असार २०७६ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App