७ वैशाख २०८१ शुक्रबार
खेल

भलिबल एकेडेमीको उपभोक्ता समितिमा आफन्तको रजाई

बाँके- विकास निर्माण काममा छिटो छरितो र गुणस्तीय काम होस भन्ने उद्देश्यले उपभोक्ता समितिको गठन गरिएको हुन्छ।

पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा उपभोक्ता समिति गठन गरेर काम गर्ने क्रम बढेको छ। तर खेलकुद नेतृत्व गर्ने जिम्मेवार पदाधिकारीले उपभोक्ता समितिलाई आफ्नो परिवारका सदस्य र आफु निकट ब्यक्तिलाई भर्ना गर्ने केन्द्र बनाएका छन्।

बाँकेमा खेलकुद निर्माणका लागि बनेका उपभोक्ता समिति आफन्तको रजाई गर्ने समिति बनेका छन्। जसको पुष्टी गर्छ बाँके खजुराको शुक्र भलिबल एकेडेमी। जहाँ राष्ट्रिय खेलकुद परिषदले डेढ करोड भन्दा बढी रकम खर्च गरिसकेको छ।

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो दाई धनिरामलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समिति बनाएर काम गरेका छन्। त्यस्तै ओलीले आफ्ना भाई मुम बहादुर ओलीलाई आफ्नो गाउँको विद्यालयमा रकम खर्च गर्दा उपभोक्ता समिति अध्यक्ष बनाएको तथ्य खुलेको छ। आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान शुक्र माविको खेल मैदानमा माटो पटानको उपभोक्ता समिति अध्यक्ष मुम बहादुर हुन्।

खेलकुद नेतृत्व गर्ने जिम्मेवार पदाधिकारीले उपभोक्ता समितिलाई आफनो परिवारका सदस्य र आफु निकट ब्यक्तिलाई भर्ना गर्ने केन्द्र बनाएका छन। बाँकेमा खेलकुद निर्माणका लागि बनेका उपभोक्ता समिति आफन्तको रजाई गर्ने समिति बनेको छ।

क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष ओलीले दाई र भाइ मार्फत निर्माण गरेको पूर्वाधारमा १ करोड ६३ लाख ७८ हजार ५ सय ७४ रुपैया खर्च भैसकेको छ।  अध्यक्ष ओलीले आफ्नो गाउँमा बनिरहेको एकेडेमी शुक्र भलिबल एकेडेमीमा पहिलो फ्रेजमा ७५ लाख ९० हजार ६ सय ६८ रुपैयाँ रकम बिनियोजन गरेका थिए। जुन रकम राखेपबाट भुक्तानी भैसकेको छ। दोस्रो फ्रेजमा ८७ लाख ६ हजार १ सय १४ रुपैयाँ ६७ पैसा खर्च भएको भन्दै भुक्तानी दिन उपभोक्ता समितिले क्षेत्रीय खेलकुद विकास समितिलाई बिल पेस गरेको छ।

स्थानीयलाई बेवास्ता गर्दै अध्यक्ष ओलीले आफ्नो दाईलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गरेको एक स्थानीयले गुनासो गरे। नाम नबताउने सर्तमा उनले भने, ‘उपभोक्ता समिति निर्माण कसरी भयो भन्ने धेरैलाई थाहा छैन। नियम संगत उपभोक्ता समिति गठन भएको छैन। भलिबल एकेडेमी बनिरहेको जमिन शुक्र माविको हो। स्थानीयसँग पूर्वाधार निर्माण बारे छलफल भएन। विद्यालयसँग सम्झौता नहुँदै एकेडेमी निर्माण कार्य सुरु भएको थियो। विद्यालयसँग पछि सम्झौता गरियो।’

आफ्नो चार वर्षे कार्यकालमा ओलीले सुरुआत गरेको नयाँ योजना हो शुक्र भलिबल एकेडेमी। जुन उनको गाउँ खजुरा गाउँपालिकाको रिमझिम चोकमा निर्माण भैरहेको छ।

संघीय संरचना अनुसार स्थानीय टोल, गाउँ, सहरमा उपभोक्ता समिति मार्फत विकास निर्माणको रकम खर्च गरिने क्रम बढ्दो छ। समितिले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नु पर्ने हुन्छ। तर पछिल्लो समय उपभोक्ता समितिलाई आफन्त र आफु निकट ब्यक्तिलाई भर्ना गर्ने केन्द्र बनेको छ।

क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली गाउँका अगुवा जनप्रतिनिधीको उपस्थितीमा उपभोक्ता समिति गठन गरेको बताउँछन्। उनले भने, ‘सक्रियताको आधारमा उपभोक्ता समिति गठन गरिएको हो। उपभोक्ता समितिका बसेका ब्यक्तिहरु खेलकुदसँग जानकार छन। उनीहरुको क्षमताका आधारमा जिम्मेवारी दिइएको हो। सक्रियताको आधारमा समिति गठन गर्दा कहि भान्जा परे होलान, कहि भाइ–दाई परे  होलान। यो ठुलो कुरा होइन। काम कस्तो भएको छ त्यो महत्वपूर्ण हो।’ गत वैशाखमा प्रदेश नम्बर ५ मा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो।

राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिले दुइ दर्जन पूर्वाधारका लागि बजेट खर्च गरेको छ। पूर्वाधारमा रकम खर्च गर्दा मनोमानी ढंगले खर्च गरिएको छ।

खेलकुद विकास समितिले निर्माण गरेको २४ योजना मध्ये अध्यक्ष ओलीले आफ्नो गृह जिल्ला बाँकेमा २३ वटा योजनामा रकम छुटयाए। बाँकेमा खर्च भएका २३ योजना मध्ये ओलीले आफ्नो गाउँवरपरमात्रै १३ योजनाका लागि रकम खर्च गरेको छन्।

क्षेत्रीय खेलकुद विकास समितिको लेखा शाखा अनुसार ओलीको कार्यकालमा क्षेत्रीय खेककुद विकास समिति प्रदेश नम्बर ५ ले ५ करोड २२ लाख, ७२ हजार ८ सय ९३ रुपैया रकम पुर्वाधारमा खर्च गरेको छ। त्यसमध्ये ओलीले आफ्नो गाउँपालिकामा झन्डै २ करोड रकम खर्च गरेका छन्। ओलीले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएका विभिन्न १३ खेलकुद योजनामा ओलीले १ करोड ८६ लाख ५३ हजार २ सय ९५ रकम खर्च गरेको क्षेत्रीय खेलकुद विकास समितिको लेखा शाखाले बताएको छ।

रकम छुटयाउँदा बोर्डमा छलफल नै नगरी अध्यक्षले रकम छुटयाउने गरेको क्षेत्रीय खेलकुद विकास समितिका एक पदाधिकारीले बताए। उनले भने,‘ अध्यक्षलाई उपभोक्ता समिति गठन र योजना छनोट गर्दा सबै क्षेत्रतिर समेटनु पर्ने सुझाव दिएको हो। तर उहाँले मान्नु भएन। आफ्नो क्षेत्रमा बढि योजना छनोट गर्दै रकम बिनियोजन गर्न दबाब दिनु भयो।’

खजुरा रिमझिम चौक स्थित निर्माणधिन शुक्र भलिबल एकेडेमी। तस्विर सौजन्यः गणेश राई

प्रकाशित: २८ जेष्ठ २०७६ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App