३१ असार २०७७ बुधबार
खेल

दशकसम्म बन्दैनन् पूर्वाधार

निर्माण कार्य अन्तिम चरणमा पुगेको स्विमिङ कम्प्लेक्स। तस्विरः नागरिक

बाँके– नेपालगन्ज रंगशाला परिसरमा पौडी पोखरी ‘स्विमिङ कम्प्लेक्स’ बन्न लागेको १० वर्ष पुग्यो। एक दशकपछि पौडी पोखरीको निर्माण कार्य असारमा सक्ने तयारी भइरहेको छ। कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर योजना बनाएको १५ वर्ष पुग्यो। तर रंगशाला कहिले बन्छ भन्ने टुङ्गो छैन।

बाँकेमा बन्न लागेका यी दुई संरचना नेपालको खेलकुदमा महत्वपूर्ण योगदान दिन सक्ने पूर्वाधार हुन्।

तर यी पूर्वाधार बन्ने अवधिसम्म खेलकुदबाट एउटा पुस्ताले संन्यास लिइसकेको छ। जसको पुष्टि गर्छ कोहलपुुरमा बन्न लागेको क्रिकेट मैदानले। नेपालगन्जका क्रिकेटर महेश क्षत्रीले राष्ट्रिय टोलीबाट खेल्नुअघि कोहलपुरमा क्रिकेट मैदान बन्न सुरु भएको थियो। महेशले औपचारिक रूपमा संन्यास नलिए पनि उनी क्रिकेटबाट टाढा भइसकेका छन्। तर कोहलपुरको क्रिकेट मैदान भने अझै बनेको छैन। नेपाली खेलकुद  नेतृत्व गर्ने पदाधिकारीको कमजोरी नेपालमा यस्ता थुप्रै पूर्वाधार बन्न दशकौं लाग्ने गरेको छ। जसको अर्को उदाहरण हो मूलपानी क्रिकेट स्टेडियम।

बजेट अभाव, मुआब्जा विवाद, पूर्वाधार निर्माण गर्ने जमिन अभावजस्ता कारण देखाएर खेलकुद नेतृत्व जिम्मेवारीबाट पन्छिन खोज्छ। छुट्याएको बजेट पनि पारदर्शी ढंगले खर्च गरिँदैन। जसले बनेको पूर्वाधारको गुणस्तरलाई लिएर नेतृत्वले आरोप खेप्नुपर्छ।

दशक बित्दासमेत गतिलो पूर्वाधार बनाउँदैन खेलकुद नेतृत्वले। यसमा बाँके जिल्ला पौडी संघ अध्यक्ष गोर्वद्धनसिंह सम्झना खेलकुद व्यवस्थापन प्रणाली मुख्य दोषी ठान्छन्। उनले भने, ‘खेलकुदको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हेर्ने हो। बजेट व्यवस्थापन मन्त्रालयले गर्ने हो। राखेप र मन्त्रालयबीचको लडाइँले समस्या थपिन्छ। नेतृत्वबीच को ठूलो भन्ने लडाइँ छ। यसले खेलकुदको पूर्वाधार निर्माणमा असर गरेको छ।’

पौडी पोखरी निर्माणका लागि सात वर्षअघि सरकारले १ करोड ४० लाख बजेट छुट्याएको थियो। सुरुआतमा नेपालगन्ज रंगशालादेखि पश्चिमतर्फको भागमा कम्प्लेक्स बन्ने योजना थियो। तर मुआब्जा विवादले फुटबल रंगशालानजिक पूर्वको जमिनमा कम्प्लेक्स निर्माणको योजना सारिएको थियो। सरकारले छुट्याएको पहिलो रकमबाट निर्धारित समयभन्दा दुई महिना ढिला गरी गुलवरी कन्स्ट्रक्सनले त्यो काम पूरा गरेको थियो। अन्य कम्पनीले बाँकी निर्माणको ठेक्का पाए। तर त्यो अवधिमा दुई पटक कम्प्लेक्सका लागि छुट्याएको रकम फ्रिज भयो। १ करोड ४० लाख रकम पहिलो पटक २०७१ सालमा फ्रिज भयो। त्यसको एक वर्षपछि आएको २ करोड रकम पनि पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद तयारीमा खर्च गरिएको थियो। पछिल्लो पटक २०७४ असारसम्म भने सम्पूर्ण कार्य पूरा गर्ने गरी १४ करोड २८ लाखमा तीन कम्पनीले संयुक्त रूपमा जिम्मा पाए।

नेपालगन्जको निर्माणाधीन पौडी पोखरीमा आठाैं राष्ट्रिय खेलकुद गर्ने तयारी थियो। पोखरी समयमै नबन्दा प्रतियोगिता नेपालगन्जको एक निजी होटलमा गरियो। आठौं राष्ट्रिय खेलकुदका दौरान पौडी पोखरीकै विषयलाई लिएर राखेप र नेपाल पौडी संघबीच केही असमझदारी उत्पन्न भयो।  राखेपले निर्माण गरिरहेको पोखरी मापदण्डअनुसार नभएको भन्दै संघका केही पदाधिकारीले विरोध गरे।

पौडी संघ बाँके अध्यक्ष सिंह भन्छन्, ‘राखेपले पूर्वाधार बनाउने गर्छ। पूर्वाधार बनाउँदा खेल संघलाई थाहा हँुदैन। तपार्इं हेर्नुहोस् नेपालगन्जमा फुटबल मैदान बन्यो, प्यारापिट बन्यो। तर संघसँग समन्वय भएन।’

उनले भने, ‘पूर्वाधार बनाउँदा राखेपले सामान्य आधारभूत नियमलाई समेत ध्यान दिएको हुन्न। त्यो कुरा संघका प्राविधिक र पदाधिकारीलाई थाहा हुन्छ। फुटबल मैदानमा करोडांै खर्च गरियो। तर सुरक्षालाई ध्यानमा राखिएन। हामीले संघलाई पूर्वाधार बनाउन दिनुपर्छ भनेका छैनौं। पूर्वाधार बन्दा संघसँग समन्वय भए मापदण्डअनुसारको पूर्वाधार बन्न सक्छ।’

नेपालगन्ज स्विमिङ कम्प्लेक्सलाई नेपाल पौडी संघले प्रशिक्षण एकेडेमी र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने स्थलको रूपमा लिएको छ। तर निर्माण कार्यमा संलग्न एक इन्जिनियर पौडी पोखरीको गहिराइ ५ फिटसम्म मात्र भएकाले पौडीका सबै इभेन्ट गर्न नसकिने बताउँछन्।

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ का उपाध्यक्ष नरेन्द्र थापा बजेट अभावले मुख्य समस्या आइरहेको बताउँछन्। थापाले भने, ‘किस्ता–किस्तामा थोरै रकम आउँछ। मन्त्रालयले बजेट कनिका छरेजस्तै गरी छुट्याउँछ। यसरी काम गर्दा प्राविधिक कस्ट पनि बढ्न जान्छ। समय पनि धेरै लाग्छ।’

उनले थपे, ‘स्थानीय त जतिसक्दो छिटो पूर्वाधार बनोस् भन्ने चाहन्छन्। तर हामीले चाहेर मात्र हँुदैन। बजेट छुट्याउँदा मुख्य पूर्वाधारलाई छिटो सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिनुपर्छ।’

कोहलपुर नगर विकास समितिले मैदान बनाउनका लागि जग्गा छुट्याएको १५ वर्षपछि कोहलपुर क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्यो। रंगशाला निर्माणमा करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

सरकारले आर्थिक वर्ष २०७१–७२ मा ३० लाख,  बजेट छुट्याएको थियो।

आर्थिक वर्ष २०७२–७३ मा छुट्याएको ६० लाख बजेट फ्रिज भयो। २०७३–७४ मा सरकारले १० लाख डिपिआरमा खर्चे गर्ने गरी ५० लाख, २०७४–७५ मा १ करोड रुपैयाँ छुट्याएको थियो।

क्षेत्रीय उपाध्यक्ष नरेन्द्रकै कुरामा सहमति जनाउँदै सीमित बजेट छुट्याउँदा समस्या देखिएको बताउँछन् बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष दुर्गा थापा। ‘बजेट थोरै छुट्याएर ठूला पूर्वाधार बनाउन खोज्छौं। बजेट थोरै हुँदा के काम गर्ने भन्ने दुविधा हुन्छ। काम गर्नै धौ–धौ हुन्छ’, थापाले भने, ‘अहिलेको गतिमा सरकारले बजेट छुट्याइराखे कोहलपुरमा क्रिकेट रंगशाला बन्न अझै १० वर्ष लाग्न सक्छ।’

राखेपमार्फत निर्माण भैरहेको पूर्वाधारमा दक्ष प्राविधिक छनोट नहुँदा गुणस्तरीय पूर्वाधार बन्न नसकेको थापाको भनाइ थियो।  कोहलपुरमा बनेका तीनवटा क्रिकेट पिचले यसको पुष्टि गर्छ। पिच निर्माण गरिए पनि गुणस्तरीय बन्न नसकेको थापाले नागरिकलाई बताए। नाम नबताउने सर्तमा संघका एक पदाधिकारी भन्छन्, ‘पूर्वाधार बनाउँदा कमिसनको लोभले राखेपले संघसँग समन्वय गर्दैन। संघको प्रतिनिधिलाई राख्दा मापदण्डअनुसार बन्नुपर्ने कुरा आउँछ। गुणस्तरको कुरा आउँछ। यस्ता कुरा उठ्दा बनाउने जिम्मा पाएका पदाधिकारीलाई अप्ठ्यारो पर्छ।’

प्रकाशित: २२ जेष्ठ २०७६ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App