८ वैशाख २०८१ शनिबार
खेल

ब्याट्सम्यान हाबी हुने कोहलीकोे दाबी

मुम्बई– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेट समर्थकले आशा गरेअनुरूप नै इङ्ल्यान्ड र वेल्समा यसै महिना हुने विश्वकप क्रिकेटमा अत्यधिक रन बन्ने बताएका छन्।

विश्वकपका लागि प्रस्थान गर्नुअघि कप्तान कोहलीले इङ्ल्यान्डको पिच अवस्थाअनुरूप विश्वकपमा ब्याट्सम्यान हाबी हुने मंगलबार बताएका हुन्। ‘प्रतियोगिताहरूमा आइसिसीले बनाउने पिच निकै राम्रो हुन्छ,’ मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा कप्तान कोहलीले भने, ‘विशेषतः समरको समयमा त्यहाँ अझ ठूला स्कोर बन्न सक्छन्।’ कोहलीले भनेजस्तै इङ्ल्यान्ड र पाकिस्तानविरुद्धको खेलमा पनि विशाल स्कोर बनेका थिए।

इङ्ल्यान्डले पाकिस्तानविरुद्धको शृंखला ४–० ले जित्दा चारै खेलमा ३ सय ५० रनभन्दा माथिको योगफल बनेको थियो। सोही मैदानमा विश्वकपका खेलहरू पनि हुनेछन्। यद्यपि, कोहलीले विश्वकपमा दबाब बढी हुने भएकाले पनि कुल योगफल कम हुन सक्ने बताएका छन्। ‘द्विपक्षीय शृंखलाका तुलना विश्वकपमा खेल्नु फरक हुन्छ,’कप्तान कोहली भने,‘त्यसैले तपाइँहरूले धेरैजसो स्कोर २६०–२७० रनसम्म देख्नु हुनेछ। दबाबकै कारण यही स्कोर पनि टोलीहरूले रक्षा गर्न सक्छन्।’

कप्तान कोहलीले विश्वकपमा इङ्ल्यान्ड र अस्ट्रेलिया नै सबैभन्दा बलियो टोली रहेको दाबी गरेका छन्। दुई पटकको विजेता भारतले साउथह्याम्पटनमा आगामी जुन ५ को खेलमा यस पटकको विश्वकपको यात्रा सुरु गर्नेछ। भारतले जसप्रीत बुमराहको उत्कृष्ट बलिङमा इङ्ल्यान्ड र वेल्सको मैदानमा चुनौती प्रस्तुत गर्नेछ। भारतका कप्तान कोहलीले आगामी विश्वकपमा आफ्नो टोलीले राम्रो गर्ने बताएका छन्।

‘बलिङ र ब्याटिङ दुवैमा सन्तुलित टोलीसहित हामी विश्वकप खेल्दै छौं,’ कप्तान कोहलीले भने, ‘आइपिएलमा भएका ट्वान्टी–२० क्रिकेटका शृंखलामा पनि अहिले विश्वकपमा रहेका सबै खेलाडीको उत्कृष्ट लयलाई हामीले देखिसकेका छौं। हाम्रा सबै खेलाडीले हाम्रो प्रदर्शन गरेका छन्।’ यद्यपि, भारतका लागि विश्वकपमा स्पिनतर्फ समस्या देखिनेछ। उसका दुई स्पिनर कुलदीप यादव र युजवेन्द्र चाहलले गत आइपिएलमा प्रभावकारी प्रदर्शन गर्न सकेका थिएनन्।

चाहलले कोहलीकै टोली रोयल च्यालेन्जर बैङलोरबाट १८ विकेट लिँदा कोलकाता नाइट राइडर्सबाट खेलेका यादवले निकै संघर्ष गरेका थिए। कोहलीले भने विश्वकपमा यादवले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। ‘उनी सबै पक्ष सुधार गरेर विश्वकपमा आएका छन्,’ कोहलीले भने, ‘हामीलाई विश्वास छ उनले पनि विश्वकपमा आफ्नो प्रभाव छाड्नेछन्। यादव र चाहल दुवै हाम्रो बलिङको पिलर हुन्।’

१० टोली सहभागी हुने राउन्ड रोबिन फरम्याटको विश्वकपमा सन्तुलित प्रदर्शनबाट मात्र सेमिफाइनलमा स्थान बनाउन सकिने भारतका कप्तान कोहलीको विश्वास छ। ‘सुरुआतदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन हुनुपर्दछ,’ कप्तान कोहलीले भने,‘कसैलाई पनि गल्ती महसुस गर्ने अवसर हुनेछैन।’

कोहलीले कुनै पनि गल्ति महसुस गर्ने अवसर नहुने भएकाले नै विश्वकपको महत्त्व हुने बताएका छन्। उनले विश्वकपलाई इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाका खेलसँग तुलना गरे। यस पटकको विश्वकप आगामी मे ३० मा ओभलमा इङल्यान्ड र दक्षिण अफ्रिकाको खेलबाट सुरुआत हुनेछ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App